काठमाडौं । सहकारी ठगीसम्बन्धी विशेष संसदीय छानविन समितिले गरेको सिफारिशलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा समर्थकले आफू अनुकूल अथ्र्याएर अपव्याख्या गर्न थालेका छन् । संसदीय समितिले सहकारीको रकम अपचलनमा संलग्न रहेको ठहर गर्दै रास्वपा सभापति रवि लामिछाने सहितलाई कारबाही सिफारिश गरेको भए पनि उनीहरू भने सफाइ पाएको भन्दै भ्रम फैलाइरहेका छन् ।
तीन महिना बढी समय लगाएर गरिएको छानविनपछि समितिले निकालेको निष्कर्षलाई अपव्याख्या गर्नेमा रास्वपा सभापति लामिछानदेखि पार्टीका अधिकांश नेता र समर्थकहरू छन् । उनीहरूले समितिले गरेको कारबाही सिफारिशलाई सफाइको संज्ञा दिँदै भ्रम फैलाउने प्रयास गरिरहेका छन् । यस्तो भ्रम फैलाउनेमा समितिमै रहेर काम गर्नुभएका रास्वपा सांसद शिशिर खनाल पनि हुनुहुन्छ । सहकारीको रकम अपचलनमा लामिछानेको कुनै भूमिका नदेखिएकाले निर्दोष रहेको उहाँको दाबी छ । सहकारीबाट पैसा ल्याउन लामिछानेको भूमिका नदेखिए पनि गोर्खा मिडियामा आएको रकम खर्च गर्नमा भने उहाँको मुख्य भूमिका रहेको समितिले ठहर गरेको थियो । सहकारीबाट मिडियामा आएको ६५ करोड रुपैयाँमध्ये अधिकांश रकम खर्च गर्दा उहाँको भूमिका रहेको भन्दै कारबाही गर्न सरकारलाई सिफारिश गरेको छ ।
प्रतिवेदन औपचारिक रूपमा सार्वजनिक नगरिए पनि ‘सुझाव तथा सिफारिश’का बुँदाहरू सार्वजनिक भएका छन् । सार्वजनिक भएका बुँदामा सहकारी प्रधिकरण गठन गर्नदेखि विभिन्न सहकारीको बचत रकम हिनामिना र ठगी गर्नेमाथि कानुनी कारबाही गर्ने सम्मका विभिन्न सिफारिश गरिएको छ । ‘कुनै पनि कम्पनीको आफ्नै उद्देश्य र मर्म हुन्छ । कम्पनीका सञ्चालक वा सेयरहोल्डरहरू त्यस्तो संस्थामा मुख्य जिम्मेवार हुन्छन् । सेयर सदस्य, सञ्चालक सदस्य र प्रबन्ध निर्देशकको भूमिका एवं जिम्मेवारीमा रहेका पात्रहरूले कम्पनीमा प्राप्त हुने रकमप्रति जिम्मेवारी र दायित्वबोध नगर्न मिल्दैन,’ समितिले गरेको सिफारिशमा भनिएको छ, ‘खातावाल हस्ताक्षरकर्ताहरू जसले खाता सञ्चालन अर्थात् वित्त परिचालनमा सहभागी हुन्छन्, त्यसबापत दायित्व ग्रहण गर्नुपर्दछ । सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तबरबाट गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने÷गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिश गर्ने ।’
समितिले स्पष्ट शब्दमा यस्तो सिफारिश गरेको भए पनि समितिमै रहेर आफ्नै सभापति लामिछानेलाई कारबाही गर्ने सिफारिश सहितको प्रतिवेदनमा हस्ताक्षर गर्नुभएका खनालले भने अपव्याख्या गरिरहनु भएको छ । यसैगरी, स्वयं सभापति लामिछानेले पनि आफू निर्दोष सावित भएको जिकिर गरिरहनु भएको छ । प्रतिवेदनले आफूलाई सहकारी ठगीको मुख्य आरोपबाट सफाइ दिएको उहाँले दोहो¥याउनु भएको छ । उहाँले उल्टै समितिको मुख्य निचोडलाई छायाँमा पारेर भ्रमपूर्ण प्रचार भइरहेको दाबीसमेत गर्नुभएको छ । रास्वपा सभापतिसहित अधिकांश नेताहरूले समितिले कारबाही सिफारिश गरेको कुरालाई सफाइ भनेर व्याख्या गरेपछि समर्थकहरू अर्थ बंग्याउने र गलत अर्थ लगाउने होडमा लागेका छन् ।
तर, समितिको प्रतिवेदनले लामिछानेलाई किर्ते र ठगी मुद्दासमेत चलाउन मार्ग प्रशस्त गरेको छ । रास्वपाका नेतासहित समर्थकले रविले सफाइ पाएको दाबी गरिहँदा कानुनविद्हरू भने समितिको प्रतिवेदनलाई कानूनसरह मानेर कार्यान्वयनमा लैजानुपर्ने बताउँछन् ।
संसदीय छानविन विशेष समितिका सभापति सूर्य थापा समितिको प्रतिवेदनमा कुनै समस्या नभएको तर नेताहरूले आफ्नो अनुकूल व्याख्या गरेको बताउनुहुन्छ । ‘समितिको प्रतिवेदन सुस्पष्ट छ । सहकारीको पैसा निजी कम्पनीमा लैजानु नै गैरकानुनी भनेपछि सबै कुरा स्पष्ट हुन्छ’, थापाको भनाइ छ । संसदीय समितिको सिफारिश कार्यान्वयन गर्ने दायित्व सरकारको हो । सरकारलाई सभामुखले प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिइसकेको अवस्था छ । यस्तोमा सरकारले केही दिनमै ठोस कदम चाल्ने एक प्रभावशाली मन्त्रीले जानकारी दिनुभयो । ‘सरकारले संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्छ । त्यसका लागि केही दिन कुर्नुहोला । कारबाही होकि क्लिन चिट हो त्यसपछि थाहा हुन्छ’, एक मन्त्रीले हिमालय टाइम्ससँग भन्नुभयो ।
रविले सहकारीबाट एक रुपैयाँ पनि ननिकालेको पुष्टि भइसक्यो : खनाल
रास्वपा सांसद शिशिर खनालले सरकारले सबै संयन्त्रको प्रयोग गर्दा पनि सहकारीको रकम अपचलनमा सभापति रवि लामिछानेको कुनै भूमिका नदेखिएको दाबी गर्नुभएको छ । छानविन समितिका सदस्यसमेत रहनुभएका खनालले मंगलबार राष्ट्रिय भेलालाई सम्बोधन गर्दै लामिछानेले सहकारीबाट एक रुपैयाँ पनि नल्याएको जिकिर गर्नुभयो । सहकारी ठग भन्ने आरोपलाई कसैले पनि पुष्टि गर्ने आधार नपाएको उहाँले बताउनुभयो । ‘प्रयोग गर्न मिल्ने संयन्त्र प्रयोग गरेर सूचनाहरू संकलन गरिए । व्यापक संयन्त्र परिचालन गर्दा पनि रवि लामिछानेले सहकारीबाट प्रत्यक्ष एक रुपैयाँ पनि नलगेको, ऋण पनि नलिएको, कतै हस्ताक्षर पनि नगरेको स्पष्ट भएपछि समितिले सहकारीको रकम अपचलनमा कुनै भूमिका छैन भनेर प्रतिवेदन बुझाएको छ,’ उहाँले भन्नुभयो ।
रवि लामिछानेले क्लिन चिट पाउनुभएको छ : वाग्ले
रास्वपा उपसभापति स्वर्णिम वाग्लेले पार्टी सभापति रवि लामिछानेले सहकारी ठगीको आरोपमा क्लिन चिट पाएको दाबी गर्नुभएको छ । समितिले प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उपसभापति वाग्लेले अप्रिय आरोप लगाएर रास्वपालाई क्षति गर्ने प्रयास पूर्ण रूपमा खारेज भएको बताउनुभयो । ‘सहकारीको रकम व्यक्तिगत खातामा, कम्पनीमा ल्याउन रवि लामिछानेको भूमिका छन् भनेर ठगजस्तो अप्रिय आरोप लगाएर राजनीतिक क्षेप्यास्त्र नै छेडेर रास्वपालाई क्षति गर्न सकिन्छ कि भन्ने मक्सदले संसदीय समितिको माग गरिएको थियो । त्यो पूर्ण रूपमा खारेज भएको छ,’ उहाँले भन्नुभयो, ‘रकम आइसकेपछि गोर्खा मिडियामा एउटा अधिकारीको हिसाबले जिम्मेवारी कति बहन गर्ने, दायित्व कति हुन्छ भन्ने कुराको कानुनी निक्र्योल गर्दै सामान्य अनुसन्धानलगायत काम, कारबाही गर्न सरकारलाई सिफारिश गरेको छ । रवि लामिछानेजीले मूल आरोपबाट क्लिन चिट पाउनुभएको छ ।’
प्रतिवेदनले म माथिको मूल आरोप खारेज गर्यो : लामिछाने
रास्वपा सभापति रवि लामिछानेले संसदीय छानविन समितिको प्रतिवेदनले आफूलाई सहकारी ठगीको मुख्य आरोपबाट सफाइ दिएको दोहोर्याउनु भएको छ । रास्वपाको मंगलबारबाट सुरु भएको राष्ट्रिय भेलामा बोल्दै लामिछानेले प्रतिवेदनले स्पष्ट रूपमा भनेको कुरा स्वीकार्न केही मानिसहरूलाई गाह्रो भइरहेको समेत टिप्पणी गर्नुभयो । समितिको मुख्य निचोडलाई छायाँमा पारेर भ्रमपूर्ण प्रचार भइरहेको उहाँले दाबी गर्नुभयो । ‘ममाथि धेरै आरोप लागे । समितिले आफ्नो रिपोर्ट बुझायो । त्यसमा मूल आरोपका विषयमा स्पष्टसँग भनिएको छ । तर, मानिसहरूलाई चित्त बुझेन,’ उहाँले भन्नुभयो, ‘मलाई डेढ वर्षदेखि ठगको आरोप लगाइरहेका थिए । सहकारी ठगीको आरोपमा प्रतिवेदनले स्पष्ट भन्यो कि त्यो किसिमको क्रियाकलापमा रवि लामिछानेको संलग्नता छैन । तर, भ्रमको खेती गर्नेहरूलाई त्यो स्पष्टतासँग भनेको कुरासँग सरोकार छैन ।’ आफूमाथि जति नै आरोप लगाए पनि ढल्ने छुट नभएको उहाँले बताउनुभयो । ‘मलाई जित र हारको परवाह छैन । जितको उत्साह र हार्ने डरले लडिरहेको छैन । एकपछि अर्को आक्रमण र प्रहार खेपिरहेको छु,’ उहाँले भन्नुभयो, ‘छाती छियाछिया भएको छ । तर, ढल्ने छुट छैन । लड्ने छुट छैन ।’ उहाँले आफूहरूलाई निरन्तर प्रहार भइरहेकाले त्यसको सामनाका लागि तयार रहन नेता–कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘छोटो समयमा राजनीतिक पार्टीको जीवनमा हुनुपर्ने÷नहुनुपर्ने सबै घटनाक्रमको चाङमाथि हामी उभिएर बसेका छौँ । यो यात्रामा हामीले अनैकौँ भोग्नुपर्यो । हामीलाई कुनै समस्याहरूले छाडेको छैन । तर, ती समस्याहरूमा हाम्रो भूमिका छैन । हाम्रो आगमन नै अरूका लागि समस्या भयो त हामी के गरौँ ?’ उहाँले भन्नुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा