हेटौंडा । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले पारिश्रमिक तथा सेवा सुविधावापत् प्राप्त रकम खर्चेर एकल महिलालाई पक्की घर बनाइदिनु भएको छ ।
मनहरी-५ बसन्तपुरमा लामो समयदेखि आवास विहिन अवस्थामा रहेकी सोनी राईलाई पक्की घर बनाएर मंगलबार अध्यक्ष कालाखेतीले हस्तान्तरण गर्नुभएको हो ।
अध्यक्ष कालाखेतीले पारिश्रमिक तथा सेवा सुविधावापत् प्राप्त गर्ने रकम कोष बनाएर जम्मा गर्दै आउनुभएको छ । सोही कोषबाट २ लाख १५ हजार रुपैयाँ खर्चेर राईलाई घर बनाइदिएको उहाँले बताउनुभयो ।
सोनीको परिवारमा उहाँबाहेक कोही छैनन् । ८ वर्ष अगाडि श्रीमान् नरबहादुरको काठ काट्न जाँदा लडेर मृत्यु भएपश्चात् उहाँ लामो समयदेखि बसन्तुरमा सानो छाप्रो बनाएर बस्दै आउनु भएकाे थियाे । ‘ज्याला मजदुरी गरेर जसोतसो जीवन धान्दै आएकी थिएँ । सानो काठको घर बनाएर त्यहीँ बस्दै आएकी थिए । पानी चुहिनुको साथै हावाहुरीले समस्या पार्थ्याे । केही समयदेखि आफन्त र गाउँघरमा बास बस्दै आएकी थिएँ । तपाईँहरु सबैको सहयोगले घर बन्यो, धेरै धेरै धन्यवाद,’ सोनीले भन्नुभयाे ।
स्थानीय शान्ता अधिकारी र अन्य गाउँलेहरुले सोनीको अवस्थाबारे गाउँपालिका अध्यक्ष कालाखेतीलाई जानकारी गराएका थिए । 'सोनी दिदिको अवस्था देखेर हामी निकै चिन्तित थियौँ । लेखपढ गर्न पनि जान्नुहुन्न । ज्यालादारीबाट खानाको व्यवस्था गर्नुभएको छ । अध्यक्षज्यूले हाम्रो अनुरोध सुनेर उहाँलाई पक्की घर बनाइदिनुभयो ।’ स्थानीय शान्ता अधिकारीले भन्नुभयो ।
अध्यक्ष कालाखेतीले आफुले निर्वाचनका बेला जनताकोबीचमा गरेको प्रतिवद्धता अनुसार आफुले पाउने सेवा सुविधा वापतको खर्च जनताको सेवामा समर्पित गर्दै आएको बताउनुभयो । यसअघि पनि उहाँले विभिन्न समयमा अप्ठ्यारामा परेकाहरुलाई व्यक्तिगत रुपमा पनि सहयोग गर्दै आउनुभएकाे थियाे । उहाँले आगामी दिनमा पनि समस्यामा परेका जनताको सेवामा सो कोषको रकम खर्च गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts