
चलायमान संसारमा हामी सबै नै निरन्तर कुनै न कुनै कार्य गरिरहेका हुन्छौ । कतिपय व्यक्तिगत, कतिपय सामाजिक त कतिपय राष्ट्रिय कार्य पनि हुनसक्छन् । विशेषगरी व्यक्तिगत र सामाजिक रूपमा सामाजसँग जोडिएर गर्ने कार्य र व्यवहार कस्तो हुनुपर्छ भन्ने विषयमा पौरस्त्य वाङ्मयमा विशद विवेचना गरिएको पाइन्छ । स्थान, परिवेश अवस्थाअनुसार कस्ता कार्य रोक्नु हुँदैन, कस्ता कार्य प्रदर्शन गर्नु हुँदैन भन्ने विषयमा पनि गहन चिन्तन पाइन्छ । आजको सन्दर्भमा पनि यी उत्तिकै उपयोगी छन् ।
मानव जीवनलाई सभ्य, भव्य र उत्कृष्ट तुल्याउन के कस्ता कार्य गर्ने र कस्ता कार्य नगर्ने भन्ने बारेमा धर्मशास्त्र, नीति शास्त्र, पुराण, महाभारत, चरकसंहिता, सुश्रुत संहिता लगायतका थुप्रै ग्रन्थमा व्याख्या विवेचना गरिएको छ । सामाजिक कार्य गर्दै गर्दा होस् वा अन्य समयमा पनि दुई हातले शिरलाई सुम्सुम्याउनु हुँदैन भनिएको छ : ‘न संहताभ्यां पाणिभ्यां कण्डूयेदात्मनः शिरः ।’ (मनुस्मृति, ४।८२) यो सभ्य र स्वस्थ्य व्यक्तिलाई अनुपयुक्त कार्य हो भन्ने मुनसस्मृतिको ठम्याइ पाइन्छ । यसैगरी दाँतको प्रयोग चपाउन लगायत अन्य कार्यमा पनि हुने गर्दछ । कतिपय कुरा दाँतले गर्नु उपयुक्त मानिन्छ त कतियप अनुपयुक्त रहन्छन् । जस्तै नङ् काट्ने सन्दर्भमा दाँतले टोकेर काट्नु गलत हो भन्ने शास्त्रको निर्देशन पाइन्छ : ‘न छिन्द्यान्नखलोमानि दन्तैर्नोत्पाटयेन्नखान् ।’ (मनुस्मृति, ४।६९) यसैगरी रौँ वा केश पनि दाँतले नकाट्नु भनी बताइएको छ ।
आगोलाई लत्याउने कार्य कदापि गर्नुहुँदैन । अग्नि हाम्रा देवता हुन् । यसैले शास्त्रमा यस्तो निर्देश भएको हो । लामो समयसम्म मलमूत्रलाई रोकेर राख्नु हुँदैन । यसका साथै अपानवायु, डकार, वमन, हाछिउ, हाइ, भोक, प्यास, आँशु, निद्रा, वीर्य र परिश्रमबाट उत्पन्न हुने श्वासको वेगलाई रोक्नु हुँदैन ।
सामान्यत एक्लै भए पनि सामाजका अधि भए पनि दुवै अवस्थामा नै यी कार्य अशुभ रहने मनुले बताएका छन् । यसैगरी स्कन्दपुरणमा पनि यस्तो कार्य कहिल्यै नगर्नू भनी निर्देश गरिएको छ । यसै गरी विनाकारण माटाका डल्ला पनि फुटाउनु हुँदैन भनिएको छ । कतै माटोको डल्लो देखिनेबित्तैकै फुटाउने कतिपयको बनी हुनसक्छ तर यस्तो कार्य गर्नु हुँदैन भनिएको छ : ‘तृणच्छेदं न कुर्वीत न च लोष्टाभिमर्दनम् ।।’ (विष्णुधर्मोत्तरपुराण, २।८९।२२) यसैगरी विनाकारण घाँसलाई पनि नचुड्नु भनिएको छ । माटाका डल्लामा धमिरा वा कुनै जीवको आश्रय स्थल रहन सक्छ यसैले अकारण भत्त्काउनु हुँदैन भनिएको हो । यसै गरी अकारणमा घाँस चुड्नु पनि हुँदैन भनिएको छ ।
यसरी निन्दित कार्य गर्नु आफैँलाई हानि तुल्याउनु हो । यसैले यस्ता कार्य नगर्नू भनिएको हो । ‘लोष्ठमर्दी तृणच्छेदी नखखादी च यो नरः । स विनाशं व्रजत्याशु सूचकोद्रशुचिरेव च ।।’ (मनुस्मृति, ४।७१) अर्थात् यस्ता कार्यले विनाश निम्त्याउँछन् । उन्नतिको कामना गर्ने व्यक्तिले यस्ता कार्य गर्नुहुँदैन भनिएको छ । अकारणमा सजीव वा निर्जीव जो सुकैलाई पनि चलाउनु हुँदैन । यही कुरालाई अग्निपुराणमा यसरी बताइएको छ : ‘लोष्टमर्दी तृणच्छेदी नखखादी विनश्यति ।।’ (अग्निपुराण) अर्थात् रौं दाँतले काट्ने, घाँस बुटा निमोठ्ने, नङ टोक्ने आदि कार्यले हामी स्वयंलाई विनाशको बाटोतर्फ धकेल्ने गर्दछ ।
यसै गरी नङ बजाउने कार्य पनि नगर्नू भनिएको छ : ‘न नखान् वादयेत्’ (चरकसंहिता, ८।१९) यसैगरी शुभ होस् भन्ने इच्छा राख्नेले नङले नङ पनि काट्नु हुँदैन भनिएको छ : ‘करजैः करजच्छेदं विवर्जयेच्छुभाय तु ।’ (स्कन्दपुराण, ब्रहृम.धर्मा. ६।७०) यसरी व्यक्तिगत आचरणका विषयमा थुप्रै विवेचना गरिएको छ । बस्ने आसन हाम्रो आधारस्थल हो । यसैले यस्तो कुरालाई कहिल्यै लत्याउनु हुँदैन भनी गौतमस्मृतिमा बताइएको छ : ‘न पादासनमाकर्षेत् । (गौतमस्मृति,९) यसैगरी कूर्मपुराणमा पनि खुट्टाले तानेर आसनमा बस्नु हुँदैन भनिएको छ : ‘नाकर्षेच्च पदासनम्’ (कूर्मपुराण, उ.१६।६१) ।
यो कार्य व्यक्ति र समाज दुवैका निम्ति उपयोगी रहन्छ । आश्रयस्थलको सदा आदर गर्नुपर्दछ भन्ने सन्देश पनि हो यो । यसका साथै खुट्टाले खुट्टा धुने कार्य पनि गर्नु हुँदैन भनिएको छ : ‘न पादप्रक्षालनं कुर्यात् पादेनैव कदाचन ।।’ (कूर्मपुराण, उ.१६।६८) यसैगरी काँसको भाँडामा गोडा नधुनु र कुला पनि नगर्नू भनिएको छ : ‘नाग्नौ प्रतापयेत् पादौ न कांस्ये धावयेत् बुधः ।।’ (पद्मपुराण, स्वर्ग.५५।६९) कासलाई पवित्र धातु मानिन्छ । यसका साथै स्वास्थ्यका निम्ति पनि प्रतिकूल रहने भएकाले यस्तो शास्त्र निर्देश भएको हुनुपर्दछ ।
वायु, अग्नि, जल, सूर्य, चन्द्रमा, ब्रारूमण आदि पूज्य व्यक्तिका सामने पनि थुक्नुहुँदैन । यसैगरी जहाँ जन समूह एकत्र भएको छ, भोजन गर्न उपस्थित भएको बेलामा, जप, होम, अध्ययन र माङ्गलिक कार्यका समयमा मुख वा नाकबाट कफ पनि फ्याक्नु हुँदैन भनिएको छ ।
दाँत किट्ने बानी पनि अशुभ हो । यसैले दाँत किट्नु पनि हुँदैन भनी बताइएको छ : ‘न दन्तान् विघट्टयेत्’ (चरकसंहिता, सू.८।१९) शिर, हात, खुट्टा कपाउने बनी पनि अशुभ मानिएको छ । यस्तो आचरण पनि गर्नुहुँदैन : ‘न पाणिपादचपलो न नेत्रचपलो भवेत् । न चाङ्गचपलो विप्र इति शिष्टस्य गोचरः ।।’ (वसिष्ठस्मृति, ६।३८) एउटा खुट्टामाथि अर्को खुट्टा राखेर बसी स्नान, दान, जप, होम, भोजन, देवतार्चन गर्नु हुँदैन भनिएको छ :
‘स्नानं दानं जपं होमं भोजनं देवतार्चनम् ।
प्रौढपादो न कुर्वीत स्वाध्यायं पितृतर्पणम् ।।’ (अत्रिसंहिता, ३।२३)
खुट्टामाथि खुट्टा खप्टिने कार्यलाई प्रौढपाद भनिन्छ । यस्ता कार्यले सभ्य समाज र स्वस्थ व्यक्तित्वमा पनि असर गर्ने भएर हुनसक्छ । ‘अग्निर्देवता...’ भन्ने त वैदिक मन्त्र नै छ । आगो वा अग्निलाई देवता मानिएको छ । यसैले आगोलाई लत्याउने कार्य कदापि गर्नु हँुदैन भनी निर्देश गरिएको हो । अग्नि हाम्रा देवता हुन् यसैले पनि शास्त्रमा यस्तो निर्देश भएको हो । लामो समयसम्म मलमूत्रलाई रोकेर राख्नु हुँदैन भन्ने शास्त्रको निर्देश पाइन्छ । यसका साथै अपानवायु, डकार, वमन, हाछिउ, हाइ, भोक, प्यास, आँशु, निद्रा, वीर्य र परिश्रमबाट उत्पन्न हुने श्वासको वेगलाई रोक्नु हुँदैन :
‘न वेगान् धारयेद्धीमानञ्जातान् मूत्रपुरीषयोः । न रेतसो न वातस्य न च्छाद्र्याः क्षवथोर्न च । नोद्गारस्य न जृम्भाया न वेगान् क्षुत्पिपासयोः । न वाष्पस्य न निद्राया निः श्वासस्य श्रमेण च । एतान् धारयतो जातान् वेगान् रोगा भवन्ति ये ।।’ (चरकसंहिता, सूत्र, ७।३-५) किनकि यस्ता कुरा रोक्नाले अनेक प्रकारका रोगको उत्पत्ति हुन्छ यसैले यस्ता कार्यमा सजग रहनुपर्दछ । रोकेर राख्नु हुँदैन र समयमा नै कार्य सम्पादन गर्नुपर्दछ भनी आयुर्वेदको चरक संहितामा बताइएको छ ।
यसैगरी सभ्य समाजको कामना राखी सामाजिक मर्यादाका साथै सभ्यताको प्रदर्शनका निम्ति पनि विशेष कार्य निर्देश गरेको पाइन्छ । भोजन, देवपूजा, माङ्गलिक कार्यमा, जप होमादिका कार्यमा र सज्जन पुरुषको अगाडि थुक्न र हाछिउ गर्नु हुँदैन भनिएको छ : ‘श्लेष्मशिङ्घाणिकोत्सर्गो नान्नकाले प्रशस्यते । बलिमङ्गलजप्यादौ न होमे न महाजने ।।’ (विष्णुपुराण, ३।११।२९) यसैगरी वायु, अग्नि, जल, सूर्य, चन्द्रमा, ब्रारूमण आदि पूज्य व्यक्तिका सामने पनि थुक्नुहुँदैन । यसै गरी जहाँ जन समूह एकत्र भएको छ, भोजन गर्न उपस्थित भएको बेलामा, जप, होम, अध्ययन र माङ्गलिक कार्यका समयमा मुख वा नाकबाट कफ पनि फ्याक्नु हुँदैन भनिएको छ ।
सभ्य समाजमा सुसंस्कृत रहनुपर्दछ भन्ने मान्यतामा नै यी निर्देश आधारित रहेका पाइन्छन् । मुखलाई नछोपी सभामा जोडले हाँसोको फोहोरा पनि छोड्नु हुँदैन । यसैगरी हाछ्युँ, हाइ, डकार आदि पनि नगर्नू भनिएको छ ‘नासंवृतमुखो जृम्भेच्छ्वासकासौ विसर्जयेत् ।।’ (विष्णुपुराण, ३।१२।९) जसबाट अरुमा नकारात्मक असर नपारोस् र सभ्य स्वरूपको प्रदर्शन गर्न सकियोस् भन्ने उद्देश्य नै केन्द्रमा रहेका छन् । गुरु, देवता र अग्निका सामू खुट्टा फैलाएर पनि नबस्नू भनिएको छ :
‘पादौ प्रसापयेन्नैव गुरुदेवाग्निसम्मुखौ ।’ (स्कन्दपुराण, मा.कौ । ४१।१२७) यसरी व्यक्ति सभ्य रहे समाज र त्यो देश नै सभ्य हुन्छ । यसैले सभ्य समाजको परिकल्पनामा अझ भनौ सबैको हितका निम्ति नै शास्त्रीय नीति निर्देश रहेका छन् ।
जीवनपद्धतिलाई सभ्य, भव्य र सुसंस्कृत तुल्याउन एउटा व्यक्तिले सामाजमा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा र त्यसमा पनि प्रदर्शन गर्ने व्यक्तित्व व्यवहारका बारेमा पौरस्त्य शास्त्रमा विशेष चिन्तन गरिएको छ । सत्कार्यले नै सबैको भलो हुन्छ । यसैले हामीले हरेक कार्य र अवस्थामा सजग, सचेत रहेर सभ्य सामाजिक दायित्वको निर्वाह गर्नुपर्दछ । हाम्रा ऋषि महर्षिका अनुभवसिद्ध वचन हामी सबैको कल्याणका निम्ति बताएका हुन् । जसको पालना हाम्रो कर्तव्य र दायित्व पनि हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच