काठमाडौं । एनसेलले प्रदेशस्तरमा सञ्चालन भइरहेका सामाजिक उत्तरदायित्वका कार्यक्रमअन्तर्गत गत हप्ता कपिलवस्तुको वाणगंगा नगरपालिका ४, ठाकुरापुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शिविरमा तीन सयभन्दा बढी स्थानीयहरूले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाको लाभ लिएका थिए । नेपाल हृदयरोग निवारण प्रतिष्ठानसँगको सहकार्यमा आयोजित शिविरमा मुटु रोगसम्बन्धी विशेषज्ञ डाक्टरहरूबाट मुटु रोगलगायत अन्य विभिन्न रोगका विशेषज्ञसँग परामर्श, इसिजी, मधुमेह तथा रक्तचापको जाँच सेवा पाएका थिए भने औषधि पनि निःशुल्क उपलब्ध गराइएको थियो ।
कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत कपिलवस्तुमा सञ्चालन गरेको यो दोस्रो निःशुल्क स्वास्थ्य शिविर हो । यसअघि कपिलवस्तुको मायादेवी गाउँपालिका ३, फुलिका स्वास्थ्य चौकीममा पनि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । साथै कम्पनीले कपिलवस्तुका अन्य तीन विकट क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन एण्ड सिएसआर हेड विशाखालक्ष्मी खड्काले भन्नुभयो, ‘एनसेल एक जिम्मेवार कर्पाेरेट नागरिक हो र हामीले समुदायका मानिसका लागि फाइदा हुने काम गर्न सधैँ प्रतिबद्घ छौँ । यसैअनुरूप हामीहरूले सातै प्रदेशमा विभिन्न स्थानीय समुदायका मानिसहरूलाई ध्यानमा राख्दै विभिन्न सामाजिक विकासका कार्यहरू गर्दै आएका छौँ । हाम्रा परियोजनाहरूले समुदायको विकासका लागि योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौँ ।’ कम्पनीले गत वर्ष १८औँ वार्षिकोत्सवका अवसरमा ‘एटीन फर एटीन’ अर्थात् १८ वटा सामाजिक पहलका लागि आवेदन खुला गरेको थियो र यसै पहलअन्तर्गत सातै प्रदेशमा विकास कार्यहरू कार्यान्वयन भइरहेका छन् । यस ‘एटीन फर एटीन’ कार्यक्रमअन्तर्गत परियोजना सञ्चालन गर्न प्रतिपरियोजना १० लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ । कम्पनी स्थापनापछि शिक्षा, वातावरण र स्वास्थ्यलगायतका विभिन्न क्षेत्रका सामाजिक परियोजनामा दुई अर्बभन्दा बढी योगदान गरिसकेको कम्पनीले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता