काठमाडौं । दैनिक उपभोग्य वस्तु र रासायनिक मललगायतको कारोबार गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड ६२औँ वर्षमा प्रवेश गरेको छ । बिहीबार काठमाडौंमा आयोजित वार्षिकोत्सव समारोह उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदरप्रसाद भण्डारीले साल्ट ट्रेडिङले नेपाली जनतालाई सुपथ मूल्यमा गुणस्तरीय उपभोग्य वस्तु उपलब्ध गराउँदै आएको बताउनुभयो । प्राकृतिक विपद्का अवस्थामा समेत उपभोक्ताको घरदैलोमा उपभोग्य वस्तु उपलब्ध गराउन कर्पोरेसनले खेलेको भूमिका प्रशंसनीय रहेको भन्दै उहाँले नेपाल सरकारको पनि आमजनताले सर्वसुलभ मूल्यमा दैनिक उपभोग्य वस्तु प्राप्त गरून् भन्ने चाहना रहेको बताउनुभयो । कम्पनीले अझै सेवा विस्तार र विविधीकरण गर्दै नेपालमै दैनिक उपभोग्य वस्तु आपूर्तिमा ब्राण्ड बन्नुपर्नेमा पनि मन्त्री भण्डारीले जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘साल्ट ट्रेडिङ खाद्यान्न कारोबारमा छुट्टै पहिचान बनाएको छ, तपाथि यतिले मात्रै पुग्दैन, जे छ, त्यसैमा खुसी भएर बस्ने होइन, अझै व्यापक बनाउनुपर्छ । दैनिक उपभोग्य वस्तुको कारोबारमा साल्ट ट्रेडिङ देशकै मुख्य ब्राण्ड बन्नुपर्छ । त्यसका लागि सरकार नीतिगत सहजीकरण गर्न तयार छ ।’
कम्पनीकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले आगामी दिनमा कारोबार र सेवा क्षेत्र अझै विस्तार गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले कम्पनीले आफ्नो सेवा प्रारम्भ गर्दादेखि नै सुपथ मूल्य, गुणस्तरीयता एवं सर्वसुलभतालाई मूलमन्त्रका रूपमा लिँदै सोही मूल्य मान्यताअनुसार आमउपभोक्ताका लागि सेवा प्रवाह गर्दै आएको र सोही मूल्य मान्यतालाई निरन्तरता दिन अझ प्रभावकारी रूपमा आमउपभोक्ताको सेवामा सक्रिय रहने विचार व्यक्त गर्नुभएको हो । देशमा आइपर्ने जस्तोसुकै विषम परिस्थितिमा पनि कम्पनीले उपभोक्ताको घरदैलोमा सेवा पुर्याउने यात्रालाई निरन्तरता दिएको उल्लेख गर्दै श्रेष्ठले सरकारले पनि कम्पनीलाई विश्वास गरी थप दायित्व प्रदान गरेकोमा सरकारप्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘सरकारको यो विश्वासले हामीलाई थप सेवा प्रवाहमा हौसला प्राप्त भएको छ, कम्पनीले आमउपभोक्ताले दैनिक उपभोग गर्ने नुन, चिनी, तेल, चामल, पिठो, दाल, गेडागुडी, खाना पकाउने ग्याँससमेत सामान्य अवस्थामा आफ्नै आउटलेटबाट र असामान्य अवस्थामा उपभोक्ताको घरदैलोसम्म पुर्याएर भए पनि सेवाप्रवाहलाई निरन्तरता दिएको छ ।’
कम्पनीका अध्यक्ष प्रदिपलाल श्रेष्ठले नेपाल सरकारको नीति निर्देशन पूर्ण रूपमा पालना गरी बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन कम्पनी लागिपरेको बताउनुभयो । कम्पनीले सेवा र कार्य क्षेत्र विस्तार गर्दै आमउपभोक्ताको घरदैलोमा सेवा पुर्याउन थप पहल गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा कम्पनीले उत्कृष्ट कर्मचारीलाई प्रशंसापत्र र एसइई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति प्रदान गरेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts