
ढाका । बंगलादेशका अपदस्थ नेता शेख हसिनालाई छिमेकी भारतबाट स्वदेश फिर्ता गराउन सकिने बंगलादेशको युद्ध अपराध न्यायाधीकरणले जनाएको छ । बंगलादेशमा विद्यार्थी नेतृत्वको आरक्षणविरोधी प्रदर्शनले राजनीतिक रूप धारण गरेपछि तत्कालीन प्रधानमन्त्री सेख हसिना अगस्ट ५ मा हेलिकप्टरमार्फत भारतको नयाँदिल्ली पुग्नुभएको थियो । उहाँको विदेश पलायनपछि सेना प्रमुखले हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो ।
बंलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (आईसीटी)का प्रमुख अभियोजक मोहम्मद ताजुल इस्लामले मुख्य अभियुक्त हसिना विदेश पलायन भएको अवस्थामा उहाँलाई फिर्ता ल्याउन कानुनी प्रक्रिया सुरु गरिने बताउनुभएको छ । सन् १९७१ मा स्वतन्त्रताको लडाइँका क्रममा भएका अत्याचारको छानविन गर्न हसिना आफैंले सन् २०१० मा आईसीटीको स्थापना गर्नुभएको थियो ।
हाल हसिनाको सरकारमाथि सामूहिक नजरबन्द तथा राजनीतिक विरोधीको हत्यासहित व्यापक मानव अधिकार हनन्को आरोप लागेको छ । हसिना प्रशासनले सन् २०१३ मा भारतसँग बंगलादेशले उक्त सन्धिमा हस्ताक्षर गरेको इस्लामले उल्लेख गर्नुभयो । हसिनालाई बंगलादेशमा भएको नरसंहारको मुख्य अभियुक्तका रूपमा व्याख्या गर्दै कानुनी रूपमा उहाँलाई बंगलादेश फिर्ता ल्याउने प्रयास गर्ने इस्लामले बताउनुभयो ।
अपदस्थ प्रधानमन्त्री हसिना बंगलादेशबाट भागेदेखि सार्वजनिक रूपमा देखापर्नु भएको छैन भने उहाँको अन्तिम आधिकारिक ठेगाना भारतको राजधानी नयाँदिल्ली नजिकैको सैन्य एयरबेस रहेको जनाइएको छ । ढाकाले हसिनाको कूटनीतिक पासपोर्ट औपचारिक रूपमा रद्द गरिसकेको छ भने भारतसँगको द्विपक्षीय सुपुर्दगी सन्धिले आपराधिक मुद्दाको सामना गर्न स्वदेश फर्कन अनुमति दिनेछ ।
यद्यपि सन्धिको एक खण्डमा अपराध ‘राजनीतिक चरित्र’को भएमा सुपुर्दगी अस्वीकार गर्न सकिने प्रावधान रहेको छ । राजनीतिक उथलपछिको सरकार प्रमुखको कार्यभार सम्हालेका नोबेल शान्ति पुरस्कार विजेता अन्तरिम नेता मुहम्मद युनुसले गतहप्ता हसिनालाई मुद्दाको सामना गर्न स्वदेश नफर्की निर्वासित रहँदासम्म ‘शान्त बस्न’ प्रेस ट्रष्ट अफ इण्डिया (पिटिआई) सँगको कुराकानीमा आग्रह गर्नुभएको थियो ।
हसिनाको बहिर्गमनभन्दा पहिले हप्तौँसम्म भएको आन्दोलनका क्रममा ६०० भन्दा बढी मानिस मारिएको राष्ट्रसंघको प्रारम्भिक प्रतिवेदनले जनाएको थियो । बंगलादेशले यसअघि हसिनाको शासनकालमा सुरक्षा बलद्वारा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरूको विषयमा उच्च अदालतका सेवानिवृत्त न्यायाधीशको नेतृत्वमा अनुसन्धान सुरु गरेको छ । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच