काठमाडौं । महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच बैंकबाट दैनिक रूपमा निस्कने डिस्पोजेबल कागज व्यवस्थापनका लागि सहकार्यको सुरुवात भएको छ । पुराना कागज नष्ट गर्ने कार्यलाई निरुत्साहन गर्न सचेतना अभिवृद्धि गर्ने तथा पुनः प्रयोग तथा पुनः प्रशोधनमार्फत् वातावरण संरक्षण गर्दै सामाजिक रूपमा पिछडिएका विद्यार्थीको शैक्षिक विकास गर्ने मूल उद्देश्यसाथ सहकार्य भएको हो ।
सहकार्यअन्तर्गत राउण्ड टेबलले महालक्ष्मी विकास बैंकका विभिन्न कार्यालयमा रहेका डिस्पोजेबल कागज संकलन गर्नेछ । यसरी संकलित कागज राउण्ड टेबल नेपाल र महालक्ष्मी विकास बैंकको प्रत्यक्ष निगरानीमा तोकिएका कागज उत्पादक कम्पनीलाई पुनः प्रशोधनका लागि दिइने र सोमार्फत् प्राप्त रकम गरिब तथा असहाय विद्यार्थीको शिक्षामा पहुँच विस्तार गर्न खर्च गरिनेछ ।
बैंकले गर्दै आएको संस्थागत सामाजिक उत्तरदायित्व कार्य तथा राउण्ड टेबल नेपालले गर्दै आएको ‘बालबालिकालाई शिक्षित गरौँ’ भन्ने परियोजनामा थप टेवा पुग्ने विश्वास दुवै संस्थाले लिएका छन् ।






