काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था शाखा कार्यालय लुभु, ललितपुरले वित्तीय संस्थामा आबद्ध केन्द्र प्रमुख तथा अभिभावकहरूको उपस्थितिमा एकदिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी आयोजना गरेको छ । एक सदस्य एक लघुवित्त भन्ने नाराका साथ आयोजित कार्यक्रम ग्राहक सदस्यको चेतनामा वृद्धि, सामूहिक भावना विकास, नेतृत्व क्षमता विकास, बचत गर्ने बानी विकास, ग्राहक सदस्यलाई उद्यमी बनाउने उपाय, डिजिटल बैंकिङ सेवा, बहु बैंकिङबाट बच्ने उपायजस्ता विषयमा केन्द्रित थियो ।
कार्यक्रममा महालक्ष्मी नगरपालिकाका उपप्रमुख लक्ष्मी महर्जनले स्वावलम्बन लघुवित्तले ग्राहक सदस्यलाई सानो-सानो आकारको बचत गर्ने बानी विकास गराउने, सरसफाइ तथा वातावरणप्रति सजग गराउने, बहु बैंकिङबाट बच्न सिकाउने, आवश्यकताअनुसारको कर्जा कारोबार गरी उद्यमशील बनी आर्थिक रूपमा सक्षम बनाउने जस्ता कार्य गरी समाजलाई सकारात्मक दिशातर्फ अघि बढाएको भन्दै संस्थाको प्रशंसा गर्नुभयो ।
संस्थाका नायब महाप्रबन्धक गोविन्द चापागाईंले लघुवित्तले ग्रामीण समुदायको जीवनस्तर उकास्न प्रमुख भूमिका निर्वाह गरेको बताउनुभयो । एक सय ५० भन्दा बढी सदस्य सहभागी कार्यक्रममा संस्थाका तालिम विभाग प्रमुख मोहित नारायण यादव तथा शाखा कार्यालय लुभुका कर्मचारीको उपस्थिति रहेको थियो ।






