कथाकार धनमान श्रेष्ठ उहिले कथा लेख्थे, अहिले पनि लेख्दैछन् । उनै कथाकारको उहिले र अहिलेका कथाहरू सँगालिएको कथासङ्ग्रह आएको छ ‘टाढाको सम्झना’ । २०३२ सालमा प्रकाशित भएर थप नयाँ कथासहित हालै पुनर्मुद्रण भएर आएको ‘टाढाको सम्झना’ कथासङ्ग्रहमा पुराना ६ वटा र नयाँ १० वटा गरी १६ वटा विविध विषयका कथा सङ्गृहीत छन् । पुरानो अर्थात् पहिलो संस्करण जन विजय पुस्तकालय, भक्तपुरले प्रकाशित गरेकोमा नयाँ अर्थात् दोस्रो संस्करण सिर्जना अभियान समाज, भक्तपुरले प्रकाशित गरेको छ ।
कथाकार धनमान श्रेष्ठका कथामा समयचेत र समयबोध छ । उनले आफूले देखेको र भोगेको समय र त्यो समयको समाजलाई आफ्ना कथामा उतारेका छन् । मानवीय संवेदना उनको कथाहरूको मुख्य विशेषता हो । उनका कथाले पात्रका कथा सँगसँगै समयको पनि कथा भनिरहेका हुन्छन् । धेरैजसो कथाहरू ग्रामीण र सहरोन्मुख परिवेशका छन् । अघिल्लो पुस्ताका कथाकार धनमान श्रेष्ठको कथा लेखनमा अतुलनीय लगाव छ, प्रेम छ । कथा लेखनप्रतिको त्यही लगाव र प्रेमले साढे आठ दशकको उमेर पार गरिसक्दा पनि उनी कथा लेखनमा उत्तिकै ताजापन बोकेर सक्रिय छन् । उनी हिजो र आजको समयका साक्षी छन्, भुक्तभोगी छन् ।
त्यसैले उनी पुरानो पुस्ताका कथाकार भएर पनि उनको कथामा ताजापन छ । समयले दिएको अनुभव र अनुभूतिको मिश्रित सुवास छ । उनले हिजो हिजोकै समयका कथा लेखे । अनि आज चाहिँ आजकै समयको कथा लेखिरहेछन् । आजको समाजको कथा लेखिरहेछन् । उनका कथामा समयले सिकाएको पाठ छ । त्यसैले उनका कथामा शिक्षा छ, सन्देश छ र पठनको आनन्द पनि छ । कथाकार धनमान श्रेष्ठका कथामा वर्तमान युवा पुस्ताको कथामा जस्तो वैश्विक चेतना, नवीन प्रयोग र दमदार कथानक नभए पनि तत्कालीन समयको चेतसँगसँगै सामाजिक यथार्थलाई टपक्क टिपेर कथामा उतारेको पाइन्छ ।
धनमान पुरानो पुस्ताका कथाकार भएर पनि उनको कथामा ताजापन छ । समयले दिएको अनुभव र अनुभूतिको मिश्रित सुवास छ । उनले हिजो हिजोकै समयका कथा लेखे । अनि आज चाहिँ आजकै समयको कथा लेखिरहेका छन् ।
पुनर्मुद्रित कथासङ्ग्रह ‘टाढाको सम्झना’ मा दुई खण्ड छन् । पहिलो खण्डमा २०२५ देखि २०३२ सालसम्ममा लेखिएका पुराना समय र सन्दर्भका ६ वटा सामाजिक यथार्थवादी कथा छन् । यी कथाले तत्कालीन समयको सामाजिक यथार्थका पाटाहरूलाई उधिन्ने प्रयास गरेको पाइन्छ । दोस्रो खण्डमा २०७० देखि २०८० सालसम्ममा लेखिएका र विभिन्न पत्रत्रिकाहरूमा प्रकाशित १० वटा कथा तथा लघुकथा समाविष्ट छन् ।
सङ्ग्रहको पहिलो कथा हो ‘टाढाको सम्झना’ । यो कथामा चखेवाको जोडी झैँ मिलेर बसेका घले र ठूली मुख्य पात्र छन् । तत्कालीन समयमा लाहुर अर्थात् मलाया जाने चलन थियो । घले पनि ‘दुःख नगरी सुख हुँदैन’ भन्दै मलायातिर हिँडेपछि ठूली घलेको सम्झनामा तड्पिन थाल्छे । उसको मानसिक सन्तुलन नै खलबलिन थाल्छ । मलायाबाट घलेले पठाएको चिठ्ठी पाएपछि ठूलीलाई अपार हर्ष हुन्छ । ऊ आफ्नो टाढाको लोग्ने अर्थात् घलेलाई सम्झिरहन्छे । कथामा तत्कालीन समयको एउटा पाटोलाई प्रस्तुत गरिएको छ ।
अर्को कथा हो ‘यौटा उस्तै कथा’ । साधारण कथानकमा बुनिएको यो कथामा दुई पात्रको उस्तै कथा छ, तर व्यथा भने फरक छ । एउटालाई आफ्नी स्वास्नीलाई विदेशका नामी अस्पतालमा उपचार गराउन नसक्दा उसको मृत्यु भएको पछुतो र पीडा छ भने अर्कोलाई आफ्नै गाउँघरमा सामान्य उपचारसम्म गराउन नसक्दा उसलाई गुमाउनुपरेको पछुतो र पीडा छ । कथासङ्ग्रहको एउटा उत्कृष्ट कथा हो ‘गङ्गालाल’ । राजनीतिक चेतसहित ऐतिहासिक पृष्ठभूमिमा लेखिएको यो कथाले कथाकारको राजनीतिक चेत बलियो भएको पुष्टि पनि गरेको छ ।
झिनो रूपमा राजनीतिक पृष्ठभूमिमा आधारित यस कथामा तत्कालीन समयको प्रतिबिम्ब झल्किएको छ । सहिदको सपना पूरा नभएको आशय कथामा आएको छ । ‘मेला’ कथा एउटा परम्परागत सामाजिक मान्यता अर्थात धार्मिक विश्वासमा आधरित कथा हो । कथाले हजारौं पाप गरेर मेलामा नुहाएपछि त्यो पाप पखालिन्छ भन्ने धार्मिक विश्वासप्रति अविश्वास प्रकट गर्दै त्यसप्रति नजानिँदो गरी कटाक्ष पनि गरेको छ ।
‘विपनामा देखिनुपर्ने सपना’ कथामा मुखियाको शोषण र अत्याचारबाट पीडित एउटा पात्रको मर्मस्पर्शी चित्रण गरिएको छ । कथामा शोषण विरुद्ध विरोध र विद्रोह पनि छ, त्यसले मूर्तरूप भने लिन पाएको छैन । तत्कालीन समयको शोषित र पीडित समाजको एउटा प्रतिनिधिमूलक पाटोलाई कथामा उतारिएको छ । पहिलो खण्डको अन्तिम कथा हो ‘जाँचको नतिजा’ । परीक्षाफलसँग तर्सेर भयभीत एउटा पात्रको विचलित मनोदशाको राम्रो चित्रण यो कथामा भएको छ ।
सङ्ग्रहका दोस्रो खण्डमा २०७० सालदेखि २०८० सम्ममा लेखिएका कथाहरू छन् । यस खण्डको पहिलो कथा (लघुकथा) हो ‘यो हार कसको ?’ राजनीतिक चेत भएको यो कथामा चुनावका बेला विजय जुलुसमा ‘यो जित कसको जनताको’ भनेर नारा लाउने गरे पनि वास्तवमा त्यो जित केवल नेताकै मात्र भएको र जनताले चाहिँ सधैँ हार्ने गरेको कटू यथार्थलाई प्रस्तुत गरिएको छ । जनताका आशा र सपना सधैँ अधुरा र अपूरा रहने गरेको यथार्थप्रति इङ्गित गर्दै नेताहरू व्यक्तिगत र दलगत स्वार्थमा लिप्त हुने गरेको प्रवृत्तिप्रति यो लघुकथाले व्यंग्यात्मक प्रहार गरेको छ ।
दोस्रो कथा ‘क्यान्सर-३’ स्वास्थ्य जनचेतनामूलक कथा हो । यसमा पाठेघरको क्यान्सरको शङ्का गरिएकी एउटी महिलाको पीडित मनोदशालाई निकै सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ । कताकता यौनको सन्दर्भले पाठकको मनमनमा कुतकुती पनि लगाउने छ । ‘घरजम कि परजाम’ कथामा पनि बिहे गर्ने उमेर घर्किन लागेकी एउटी पात्रको मनोदशालाई केलाइएको छ । नारी संवेदनामा आधारित यो कथा तुलनात्मक रूपमा लामो छ तर रोचक प्रस्तुतिले गर्दा पठनीय नै बनेको छ ।
धनमान श्रेष्ठका कथामा भएको दृश्यात्मकताले पाठकलाई मोहित बनाउँछ । कथा पढिरहँदा आँखामा चलचित्रमा झैँ दृश्यहरू आउँछन् । कथाका पाना पल्टिँदै जाँदा दृश्यहरू फेरिँदै जान्छन् । धनमान श्रेष्ठका कथाहरूको अर्को उल्लेख्य पक्ष भनेको पात्रको मनोदशाको चित्रण हो ।
कमजोर र तजबिजी कानुनी व्यवस्थाप्रति व्यंग्य गरिएको रोचक लघुकथा हो ‘उन्मुक्ति’ । भूकम्पको सन्दर्भमा लेखिएको अर्को लघुकथा ‘सुविधा कि दुविधा’ मा जनताको समस्या र पिरमर्काप्रति अकर्मण्य बनेको सरकारप्रति व्यंग्य गरिएको छ । बढी कमाउने र छिटो कमाउने लोभमा विदेशमा खतरापूर्ण, जोखिमयुक्त र गाह्रोसाह्रो कामका लागि जान देशका युवा लालायित भएकाले देशको ऊर्बर भूमि बाँझो पर्न थालेको यथार्थलाई ‘बाँझो खेत’ मा प्रस्तुत गरिएको छ ।
‘पुनर्विवाह’ मा विमान दुर्घटनामा लोग्ने गुमाएकी एकल महिलाको पीडा सँगसँगै उसको सम्बन्ध अर्को पुरुषसँग जोडिएको र उसैसँग विवाह भएको सुखद् सन्दर्भ छ । ‘अक्सिजन प्लान्ट’ कोरोना कालीन समयको चित्रण गर्दै त्यस समयमा अक्सिजनको आवश्यकताका बारेमा उल्लेख गरिएको छ । वर्तमान समयको ब्यस्त जीवनशैलीले गर्दा घरका ज्येष्ठ नागरिकहरूले एक्लो र असुरक्षित जीवनयापन गर्नुपरेको अवस्थामा वृद्धाश्रमको अवधारणा त्यस्तो समस्या समाधानको रूपमा आएको सन्दर्भलाई सङ्ग्रहको अन्तिम कथा ‘वृद्धाश्रम’ मा उतारिएको छ । चुनावमा भोट हाल्नुको अर्थ सकिँदै गएको अवस्थामा जनताले भोट नहाल्ने अधिकारको माग गर्न थालेको सन्दर्भलाई कथामा रोचक ढङ्गले उठाइएको छ । यसले वर्तमान राजनीतिक विसङ्गतिप्रति तीब्र प्रहार पनि गरेको छ ।
धनमान श्रेष्ठका कथामा भएको दृश्यात्मकताले पाठकलाई मोहित बनाउँछ । कथा पढिरहँदा आँखामा चलचित्रमा झैँ दृश्यहरू आउँछन् । कथाका पाना पल्टिँदै जाँदा दृश्यहरू फेरिँदै जान्छन् । यसले पाठकलाई कथामा डुब्न मद्दत गरेको छ । धनमान श्रेष्ठका कथाहरूको अर्को उल्लेख्य पक्ष भनेको पात्रको मनोदशाको चित्रण हो । मिहिन ढङ्गले पात्रको मनोदशा केलाउन कथाकार धनमान श्रेष्ठ निक्कै खप्प्सि छन् । पात्रको मनमा उठ्ने भावना, डर, चिन्ता, उत्तेजना र यी सबैका कारण उत्पन्न हुने मानसिक अन्तद्र्वन्द्वको चित्रणले कथालाई रोचक बनाएको पाइन्छ । कलात्मकताको थोरै अभाव भने महसुस हुन्छ । सरल भाषाशैलीमा लेखिएका कथाहरू संप्रेष्य र बोधगम्य छन् । समग्रमा कथाहरू पठनीय छन् । पाठकहरूले यो कथासङ्ग्रहको पठनबाट उहिले र अहिलेको समय र समाजलाई तुलनात्मक दृष्टिले हेर्ने र बुझ्ने अवसर पनि पाउने छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा