भूजीखोला बाढीको चार वर्ष पूरा : राहत नपाएको पीडितको गुनासो

डम्मर बुढा मगर बागलुङ, संवाददाता
डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 5 mins

बागलुङ । वि.सं. २०७७ भदौ १७ गते बागलुङको भूजीखोलामा आएको बाढीले धेरैलाई घरबासविहीन बनाएको थियो । दर्जनौँको ज्यान लिएको थियो । बाढीमा परेका १५ जनाको अवस्था अझै अज्ञात छ । गुमाएका परिवार ठूलो वर्षा हुँदा आनन्दले निदाउनसमेत सक्दैनन् । जिल्लाको ढोरपाटन नगरपालिका-६, ७, ८ र ९ मा पर्ने भूजीखोलामा आएको भिषण बाढीले २२ जनाको ज्यान लिएको थियो । बाढी पीडितले अझै पनि उचित राहत पाउन नसकेको गुनासो गर्दै आएका छन् ।

बाढीले भूजीखोला किनारमा रहेका १३१ घर बगाएको थियो । ११ वटा लघु जलविद्युत आयोजना, एउटा स्वास्थ्य इकाई, ११ वटा झोलुङ्गे पुल, १० वटा काठे पुल, ५ वटा ढलान पुल, दुई वटा विद्यालय र २० किलोमिटर सडक बगाएको थियो । बाढीले क्षति पुर्‍याएको ११ वटा लघु जलविद्युत आयोजना सबै संचालनमा आएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले बताउनुभयो ।

बाढीले ढोरपाटन नगरपालिका वडा नम्बर ९ सुप्राङ स्थित जनचेतना आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालय बगाएको थियो । सालझण्डी-ढोरपाटन सडक खण्ड २० किलोमिटर सडक बगाएको थियो । बाढी पीडितलाई नगरपालिका स्तरबाट हुने सबै प्रकारको सहयोग भएको तर माथिल्लो तहबाट पाउनु पर्ने राहत नपाएको उहाँको भनाइ छ । संघीय सरकारले १८ जना बाढी पीडितलाई घर बनाउनका लागि सबै किस्ता उपलब्ध गराए पनि अझै धेरैले एक किस्ता बाहेक अरु रकम नपाएको बताउनुभयो ।

ढोरपाटन नगरपालिका-९ का बाढी पीडित कुलबहादुर विकले ठूलो वर्षा हुँदा रातभर जागराम बस्ने बताउनुहुन्छ । विकले ऋण धन गरेर घर बनाएको तर अहिले तिर्न नसक्दा अप्ठ्यारो स्थितीमा पुगेको बताउनुभयो । बाढीले आफन्तसहित सबै सम्पत्ति बगाउँदा विहान बेलुकाको हात मुख जोड्न समेत मुस्किल भएको भन्दै राज्यले सहयोग गर्न नसकेको उहाँको गुनासो छ । बाढीले उहाँको घर जग्गा जमिनसहित २२ वर्षका जेठो छोरो, २१ वर्षकी बुहारी, १८ वर्षकी छोरी र चार वर्षकी नातिनी बगाएको थियो । बाढीले भए भएरको सम्पत्ति बगाइए दिएपछि लामो समय आफन्तकोमा बसेको भन्दै अहिले सामान्य घर बनाएर बस्न थालेको सुनाउनुभयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो - “बर्खाको समय ढोरपाटन बस्छौँ, हिउँद लाग्यो भने तल भूजीखोला झर्ने हो, ठूलो पानी पर्दा निन्द्रा लाग्दैन, पहिलाको जस्तै बगाउँछ कि भन्ने डर लाग्छ, त्यो बाढी हाम्रो लागि दैव बनेर आयो, कलिलै उमेरका छोरा, बुहारी, छोरी र नातिनी बगायो, सम्पत्ति भन्ने त बरु मानछे बाँचेपछि जसरी पनि कमाइन्थ्यो, कमाउन नसके पनि हातपाखुरा चलाएर पनि खान सकिन्थ्यो, बाढी पीडितलाई सरकारले साथ दिन सकेन ।”

अर्का बाढी पीडित निम प्रकाश विकले आफन्तसहित भएभरको सम्पत्ति बगाएपछि आफ्नो काकालाई एउटा घडेरी मागेर घर बनाएको सुनाउँदै ऋण तिर्न नसक्दा समस्यामा परेको गुनासो पोख्नु भयो । बाढीले उहाँको २५ वर्षीया श्रीमति, ९ वर्षीय जेठो छोरो, २ वर्षीय माइलो छोरो र २२ दिनको कान्छो छोरोसहित परिवारका सबै सदस्य बगाएको थियो । सबै सदस्य बाढीमा परेपछि एक्लो बन्नु भएका विकले अघिल्लो वर्ष विवाह गर्नु भएको छ । सरकारले चार लाख रुपैयाँ दिन्छ भनेर घर बनाए पनि अहिले उक्त घर गलपासो बनेको सुनाउनुभयो ।

“अहिले म ठूलो ‘टेन्सन’मा छु, बाढीले परिवारनै बगायो, सम्पत्ति बगायो, त्यसमाथि सरकारले पैसा दिन्छु घर बनाउ भनेर भन्यो, ऋण खोजेर घर बनाएँ, न सरकारले पैसा दियो, न कतैबाट सहयोग आयो, अहिले साहुले पैसा माग्छ, आफूलाई विहान के खाउँ, बेलुका के खाउँ भन्ने पिर छ,” उहाँले भन्नुभयो - “अहिले ऋणले डुबायो, के गरेर तिर्ने ?, गाउँका अरु धेरै बाढी पीडितहरुको अवस्था मेरो जस्तै छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *