पर्वत । मोदी गाउँपालिका-६ थामर्जुङका बासिन्दाले देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले सडक ढलान गरेका छन् । गाउँ जोड्ने सडक कच्ची र जीर्ण हुँदा पनि मर्मत र स्तरोन्नतिका लागि कुनै पनि निकायले सहयोग नदिएपछि देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले सडक ढलान गरेका हुन् ।
डिमुवा-तिलाहार-थामर्जुङ सडकको स्तरोन्नतिका लागि स्थानीय मोदी गाउँपालिकाका साथै कुनै राजनीति दल तथा सङ्घ र प्रदेश सरकारको समेत प्राथमिकतामा नपरेपछि देउसीभैलो खेलेर रकम सङ्कलन गरिएको स्थानीयले बताएका छन् । बाढीपहिरोका कारण सडक सुविधाबाट गाउँ नै वञ्चित भएपछि गाउँले मिलेर देउसीभैलो कार्यक्रम सञ्चालन गरेका थिए ।
थामर्जुङमा एक सय ५५ घरपरिवार छन् । सोही गाउँमा खेलिएको देउसीभैलोबाट गत वर्षको तिहारमा रु १० लाख सङ्कलन भएको स्थानीय चन्द्रबहादुर नेपालीले बताउनुभयो । विभिन्न निकायमा सडक स्तरोन्नतिका लागि हारगुहार गर्दा पनि सुनुवाइ नभएपछि गाउँवासी आफैँ जुटेर ढलान गरिएको उहाँले बताउनुभयो ।
“पालिका, प्रदेश र सङ्घीय सरकारमा हाम्रो पहुँच पुगेन, अन्य सामाजिक कार्य गर्न देउसी खेलेर सङ्कलन गरेको रकम सडक ढलानमा खर्च गरेका छौँ”, स्थानीय नम्रता बस्यालले भन्नुभयो । उहाँले बिरामी उपचारका लागि अस्पतालसम्म लैजान समस्या भएपछि गाउँवासीको सक्रियतामा सडक ढलान गरेपछि अहिले सहज भएको बताउनुभयो ।
स्थानीयले देउसीभैलो खेलेर सङ्कलन गरेको रु १० लाख र गाउँपालिकाको सहलगानी कोषबाट रु १५ लाख गरी रु २५ लाख लागतमा सडक ढलान गरिएको हो । गाउँपालिकाको कोषले बजार क्षेत्रमा मात्र सडक स्तरोन्नतिको काम गर्ने लक्ष्य भए पनि गाउँमा जान समस्या भएको गुनासो आएपछि उक्त क्षेत्रमा पनि साझेदारी गरेर सडक ढलान गरिएको मोदी गाउँपालिका-६ का वडाध्यक्ष दीपेन्द्रजङ्ग लामिछानेले जानकारी दिनुभयो । अन्य वडाबाट साझेदारी रकम नआएपछि उक्त वडामा मात्र ढलान गरिएको लामिछानेले बताउनुभयो ।
उक्त रकमवाट झण्डै दुई सय मिटर सडक ढलान गरिएको छ । सडक ढलान गरेपछि बाह्रैमास सहज रूपमा सवारीसाधन सञ्चालन भइरहेका छन् । विगत वर्षहरूमा वर्षायामका चार महिना सडक सुविधाबाट वञ्चित हुने थामर्जुङ गाउँमा अहिले बाह्रैमास सवारी चलाउन सकिने वडाध्यक्ष लामिछानेले जानकारी दिनुभयो । स्थानीयको समेत साझेदारीमा निर्माण गरिएकाले कामको गुणस्तर उत्कृष्ट रहेको उहाँको भनाइ छ ।
झण्डै तीन किलोमिटर लामो तिलाहार-थामर्जुङ सडकको अन्य भागको स्तरोन्नतिका लागि पनि पालिका र प्रदेश सरकारसँग बजेट माग गरिएको वडाध्यक्ष लामिछानेले बताउनुभयो । देउसीभैलो खेलेर सडकमा लगानी गरेको यो जिल्लामै नमूना कार्य भएको उहाँले बताउनुभयो । रासस
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच