काठमाडौं । केही दिनको करेक्सनपछि पुनः सेयर बढ्न थालेको छ । सोमबार नेप्से १२७.२५ अंकले बढेर २८२३.२५ मा पुगेको हो । तीन सय ३५ कम्पनीका कुल तीन करोड १४ लाख ३० हजार ४८ कित्ता सेयर एक लाख ६० हजार पाँच सय ७९ पटकको कारोबार भई १३ अर्ब १० करोड ४६ लाख ३१ हजार आठ सय दुई रुपैयाँमा खरिदबिक्री भएका छन् ।
नेसनल हाइड्रोलगायत आधा दर्जनभन्दा बढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । लक्ष्मी उन्नति कोषको सेयर मूल्य सबैभन्दा धेरै ४.७१ प्रतिशतले घटेको छ भने गुडविल फाइनान्सको सबैभन्दा धेरै ४६ करोड ५२ लाख ५१ हजार नौ सय रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन अपि पावर कम्पनीको सबैभन्दा बढी १२ लाख २५ हजार नौ सय ४९ कित्ता सेयर कारोबार भएको छ । नेप्सेसँगै कारोबार रकमसमेत बढेको छ । अघिल्लो दिन १० अर्ब ५१ करोडको कारोबार भएकोमा सोमबार १३ अर्ब १० करोडको कारोबार भएको छ ।
बैंकिङ ४.७३, विकास बैंक ४.९९, फाइनान्स ७.९४, होटल तथा पर्यटन ४.९२, हाइड्रोपावर ५.३६, लगानी ५.४५, जीवन बिमा ४.६९, उत्पादन ३.३३, लघुवित्त ३.३३, निर्जीवन बिमा ४.८१, अन्य ४.१४ तथा व्यापार समूह २.८५ प्रतिशतले बढेका छन् । दुई सय ३९ कम्पनीको मूल्य बढेको छ भने पाँच कम्पनीको घटेको छ । यस दिन करिब एक दर्जन कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपरमाइ हाइड्रोपावर, दोल्ती पावर, मल्टिपर्पस फाइनान्स, कालिञ्चोक दर्शन तथा मोदी इनर्जीको मूल्य १० प्रतिशत र बुटवल पावर ९.८, जोशी हाइड्रो ९.७ प्रतिशतले बढेको छ । तर, माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.५९ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।
सेयर लगानीकर्ताका सातबुँदे माग
सांसद हरि ढकाल, सेयर लगानीकर्ता तथा ब्रोकरहरूले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष सातबुँदे माग राखेका छन् । पुँजीबजारको स्थायित्व र सुधारका लागि तत्काल गर्नुपर्ने सात कामबारे उनीहरूले अर्थमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् । अवैज्ञानिक तरिकाले गणना गरेको पुँजीबजारको बजार पुँजीकरणले जनमानसमा गलत सन्देश दिएकाले तथ्यपरक भई वैज्ञानिक तरिकाले बजार पुँजीकरण गणना गरी समायोजन गरिनुपर्ने, बैंक तथा वित्तीय संस्थालाई आफ्नो प्राथमिक पुँजीको दुई प्रतिशत रकम अल्पकालीन रूपमा सूचीकृत कम्पनीमा लगानी गर्न दिनुपर्ने, सबै प्रकारका सेयर धितो कर्जाको जोखिम भार शतप्रतिशतमा मान्नुपर्ने, धितोपत्र बोर्डको अध्यक्ष तत्काल नियुक्ति गर्नुपर्ने माग रहेका छन् ।
त्यस्तै खराब वित्तीय अवस्था भएका कम्पनीको प्राथमिक एवं हकप्रद सेयर निष्कासन रोक्नुपर्ने, धितोपत्र बोर्डले इजाजत दिएका संस्थाहरू(स्टक एक्सचेञ्ज, ब्रोकर, मर्चेन्ट बैंकरहरू) को प्राविधिक क्षमता विस्तार गर्नुपर्ने र धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले सूचीकृत कम्पनीको पारदर्शिता कायम राख्न र बजारमा हुन सक्ने अवाच्छित गतिविधि रोक्न नियमन बढाउनुपर्ने माग रहेका छन् ।






