बागलुङ । बागलुङमा दुई पालिका स्तरीय अस्पताल अलपत्र परेका छन् । जिल्लाको ढोरपाटन नगरपालिका-९ ढोरपाटन खापाथरमा निर्माणाधिन १० शैयाको नगर अस्पताल र निसीखोला गाउँपालिका-४ झिम्पामा बन्दै गरेको १० शैयाको आधारभूत अस्पताल अलपत्र परेका हुन् । ढोरपाटनको नगर अस्पतालभन्दा निसीखोलाको आधारभूत अस्पताल एक वर्ष पहिला सुरु भएको थियो । आधारभूत अस्पताल निर्माणका लागि वि.सं. २०७८ साल माघ २० गते सम्झौता भएर काम सुरु भएको थियो भने नगर अस्पताल वि.सं. २०७९ असार २४ गतेदेखि निर्माण थालिएको थियो ।
वि.सं. २०८० पौष महिनामा सम्पन्न गर्ने गरि निर्माण सुरु भएको आधारभूत अस्पताल हालसम्म ८५ प्रतिशत मात्रै काम सकिएको निर्माणको जिम्मा पाएको हिन्दुङ एसी आइएस जेबी कन्ट्रक्सनका प्रमुख दीपक कुमार अदैले जनाकारी दिनुभयो । गाउँपालिकाले १० करोड ९४ लाखको ‘स्टिमेट’ गरेकोमा निर्माण कम्पनीले आठ करोड २४ लाख रुपैयाँमा जिम्मा लिएको थियो । पछिल्लो दुई वर्ष बजेट नपरेपछि काम रोकिएको अदै बताउनुहुन्छ । यस अस्पतालको हालसम्म ८५ प्रतिशत काम सकिएको भन्दै अझै एक करोड ७० लाख बजेट अपुग भएको उहाँको भनाइ छ ।
निसीखोला आधारभूत अस्पताल निर्माणका लागि चार वर्ष अगाडि निसीखोला गाउँपालिकाले ७ रोपनी २ आना जग्गा निःशुल्क व्यवस्थापन गरेको थियो । उता ढोरपाटन नगर अस्पतालको काम सोही निर्माण कम्पनीले जिम्मा पाएको थियो । नगर अस्पतालमा बजेट नआउँदा पोहोर सालदेखिनै काम ठप्प भएको छ । निर्माण कम्पनीले गत वर्ष भदौ महिनामै ढोरपाटन नगरपालिकामा ६ करोड ६१ लाखको बिल बुझाए पनि अहिलेसम्म रकम नआउँदा काम गर्न नसकेको अदै बताउनुहुन्छ ।
अस्पातलको भवन निर्माणका लागि १२ करोड ९६ लाखमा जिम्मा लिएको अदैको भनाइ छ । काम गर्नुभन्दा पहिले सुरुमा पेश्की रकम दुई करोड ४६ लाख मात्रै आएको उहाँले बताउनुभयो । भौगोलिक हिसाबले ढोरपाटन टाढा र सडक पनि निकै साँघुरो र अप्ठ्यारो हुँदा ढुवानी र कामदारका लागि बढी खर्च भएको अदैले बताउनुहुन्छ । वि.सं. २०८२ असार २३ सम्ममा सकिसक्नु पर्ने अस्पताल भवन करिब आधा सकिदा पनि काम अनुसारको भुक्तानी नभएको गुनासो उहाँले गर्नुभयो । अहिले बजेटनै नपरेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो - “नगर अस्पताल निर्माणको जिम्मा त पायौँ तर काम गरेको रकम पाउन सकेनौँ, करोडौँ रकम अहिलेसम्म पाउन सकिएको छैन, यस वर्ष बजेट पनि नपरेको हुँदा अस्पताल अलपत्र जस्तै भएको छ, पोहोर साल भदौ दोस्रो सात नै नगरपालिकामा लगेर बिल बुझाएको थिए, अहिलेसम्म भुक्तानी पाउन सकेका छैनौँ, निसीखोलाको भुक्तानी त पयौँ अब फिनिसिङको काम बाँकी थियो, तर बजेटनै आएन, बजेट नभएपछि कसरी काम गर्न सकिन्छ र ?”
ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले नगरपालिकाको बजेटले अस्पताल निर्माण गर्न नसक्ने हुँदा अर्थ स्वास्थ्य मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा बजेट व्यवस्थानका लागि पत्र पठाएको बताउनुभयो । उहाँले निर्माण कम्पनीलाई काम गरेकै छ करोड बढी रकम भुक्तानी गर्न बाँकी रहेको भन्दै त्योसहित थप बजेट केन्द्र सरकारले व्यवस्थापन नगरेसम्म काम अगाडि बढ्ने स्थिती नरहेको बताउनुभयो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा