बाबुराम दाहाल/हिटा
भक्तपुर । ‘सार्वजनिक स्थलमा राष्ट्रपति’ कार्यक्रमको सुरुवात गरिएको छ । कार्यक्रमअन्तर्गत राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार पहिलो दिन भक्तपुर जानुभएको थियो । राष्ट्रपति पौडेलले भक्तपुरका स्थानीयसँग कुराकानी गर्नुका साथै त्यहाँका ऐतिहासिक सम्पदाहरूको अवलोकनसमेत गर्नुभएको थियो । ‘सार्वजनिकस्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम सुरु गरिएको र सोहीअन्तर्गत पहिलो कार्यक्रम भक्तपुरमा सम्पन्न गरिएको राष्ट्रपतिका प्रमुख प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । राष्ट्रपतिलाई जनतासँग जोड्न कार्यक्रमले सहयोग गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति पौडेल शुक्रबार बिहान ११ बजे भक्तपुर दरबार क्षेत्र पुगेर त्यस क्षेत्रमा झण्डै दुई घण्टा बिताउनुभएको थियो । राष्ट्रपति पौडेलले दरबार स्क्वायर, गोल्डेन गेट, सुनधारा, तलेजुको मूल चोक, कुमारी चोक, राष्ट्रियकला संग्रहालय, पचपन्न झ्याले दरबार, पशुपतिनाथ, यक्षश्वर महादेव मन्दिर, शिलु महादेव, केदारनाथ मन्दिर, पाँचतले मन्दिर, आकाश भैरव मन्दिरलगायत ऐतिहासिक सम्पदाको अवलोकन गर्नुभयो । साथै उहाँले तलेजुको प्रसाद पनि ग्रहण गर्नुभयो । उहाँले आकाश भैरव मन्दिरको अवलोकन, पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको थियो ।
राष्ट्रपति पौडेललाई भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले स्वागत गर्नुभएको थियो । भक्तपुर नगरपालिकाका पर्यटन शाखाका प्रमुख गौतमप्रसाद लासिवाले यहाँका सम्पदा क्षेत्रबारे गराउनुभएको थियो ।
राष्ट्रपतिले अवलोकनका क्रममा आम नागरिकसँग कुराकानी गर्दै जनताको गुनासा सुन्नुभएको थियो । भक्तपुर दरबार स्क्वायर परिसरमा उहाँले विद्यार्थीसँग पनि कुराकानी गर्नुभएको थियो । त्यस अवसरमा स्थानीयले २०७२ सालको भूकम्पले जीर्ण भई टेकोका भरमा रहेको कला संग्रहालयदेखि अन्य सम्पदाको तत्काल पुनर्निर्माण गर्न पहल गरिदिन आग्रह गरेका थिए ।
राष्ट्रपति पौडेलकी छोरी एवं स्वकीय सचिव अध्यक्षता पौडेलले राष्ट्रपति पौडेलले धार्मिक, सांंस्कृतिक एवं पर्यटकीय नगर भक्तपुरको भ्रमणप्रति आनन्द अनुभूति गर्नुभएको बताउनुभयो । औपचारिक कार्यक्रम नभएकाले भिडभाड नभएको र आम नागरिक जस्तै राष्ट्रपति पौडेलले भक्तपुर अवलोकन गरेको देख्दा स्थानीय र पर्यटकहरू अचम्मित परेका थिए ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता