काठमाडौं । काठमाडौं विश्वविद्यालयले नेपालमा पहिलोपटक सञ्चालनमा ल्याएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार उद्घाटन गर्नुभएको छ । विश्वविद्यालयको २९औँ दीक्षान्तअघि शुक्रबार हाइड्रोजन कार र रिफ्युलिङ प्रणाली शुभारम्भ गरिएको हो । प्रधानमन्त्री ओलीले हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जनमा कमी भई प्रदूषण कम गर्न सहयोग हुने भन्दै विश्वविद्यालयले सञ्चालन गरेको ग्रिन हाइड्रोजन उत्पादन र रिफ्युलिङ स्टेसन निकै अनुकरणीय कार्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘२०१८/१९ मा म प्रधानमन्त्री भएका बेलामा ग्रिन हाइड्रोजन, हावाबाट बिजुलीलगायत विषयको कल्पना तथा अध्ययन गरेको थिएँ, मैले त्यतिबेला बोलेको कुरा आज काठमाडौं विश्वविद्यालयले सुरु गरेको छ, निकै नै राम्रो कामको सुरुवात भएको छ, काठमाडौं विश्वविद्यालय सँगसँगै अब अरूले पनि यस प्रकारका कार्य गर्न अघि सर्नुपर्छ ।’
विश्वविद्यालयको नेपाल हाइड्रोजन इनिसिएटिभ्सका प्रमुख एवं एसोसिएट प्रोफेसर विराजसिंह थापाले विश्वविद्यालयको ग्रिन हाइड्रोजन उत्पादन र रिफ्युलिङ स्टेसनले सफलतापूर्वक परीक्षण सम्पन्न गरी हाइड्रोजन कारमा रिफिल गर्न थालेको बताउनुभयो । नेपालमा उत्पादित बिजुली र पानी प्रशोधन गरी हाइड्रोजन रिफ्युलिङ स्टेसनमा हाइड्रोजनमा परिणत गरिएको उहाँले जानकारी दिनुभयो । कोरियामा बनेको हुण्डाई कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरेको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts