✍️ सागर पाण्डे
पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) को ४६औं वार्षिक साधारणसभा नजिकिँदै छ । वार्षिक साधारणसभाबाट टानलाई सबल बनाउने र समृद्ध पर्यटनमा उल्लेख्य योगदान पुर्याउन नयाँ कार्यसमिति पनि चयन हुनेछ । टान पर्यटन उद्योगमा सबैभन्दा धेरै सदस्यता भएको सांगठनिक संस्था हो । त्यतिमात्र होइन पर्यटन उद्योगलाई आजसम्म सबल बनाउन टानको योगदान सबैभन्दा उल्लेखनीय छ भने इतिहास सबैभन्दा गौरान्वित र सम्झनायोग्य छ । त्यसैले बदलिँदो दुनियाँ र प्रविधिमैत्री समय अनुसार टानले अब आफ्नो कार्यसम्पादनको शैलीमा फरकपन ल्याउनुपर्छ । औपचारिकता पूरा गर्नमात्र टानले नेतृत्व पाउनुहुँदैन ।
पर्यटन उद्योगलाई आजसम्म सबल बनाउन टानको योगदान सबैभन्दा उल्लेखनीय छ भने इतिहास सबैभन्दा गौरान्वित र सम्झना योग्य छ । बदलिँदो दुनियाँ र प्रविधिमैत्री समय अनुसार टानले अब आफ्नो कार्यसम्पादनको शैलीमा फरकपन ल्याउनुपर्छ । औपचारिकता पूरा गर्नमात्र टानले नेतृत्व पाउनुहुँदैन ।
देश दुनियाँ र पर्यटनको मर्म, भावना तथा सम्भाव्यतालाई चौतर्फी बुझेको व्यक्तिले आगामी टानको नेतृत्व गर्नुपर्छ । म पनि विगत तीन दशकभन्दा बढी समयदेखि पर्यटन क्षेत्रको विकास, प्रवद्र्धन र संवद्र्धनमा क्रियाशील हुँदै आएको छु । यो अवधिमा मैले पर्यटन क्षेत्रको विकासमा धेरै उतरचढाव र व्यावसायिक सकसता देखेको, भोगेको र झेलेको छु । मैले सन् २०१३ देखि २०१५ सम्म टानको महासचिव पदमा रहेर नेपालको पर्यतीय पदयात्रा व्यवसायको विकास र विस्तारमा महत्वपूर्ण भूमिका पनि निर्वाह गरिसकेको छु । टान अक्षयकोष स्थापना, पर्यटन व्यवसायमा भ्याट छुटको व्यवस्था, करसम्बन्धी समस्या समाधान, एक्स्पेरियन्सल टुरिजमको विकास गर्ने, पर्यटन ऐनलाई समयसापेक्ष बनाउने, नियन्त्रित पदमार्गको परमिटमा सहजीकरण, कानुनी र फाइनान्सियल मरामर्श केन्द्र स्थापना गर्ने, टिमको व्यवस्थापन, टानको विधान समयसापेक्ष बनाउनेलगायत महरूवपूर्ण कार्यहरू आज पनि अधुरा छन् । तसर्थ टानको आगामी नयाँ कार्यसमितिले उल्लेखित मुख्य एजेण्डाहरू व्यावहारिक कार्यान्वयन गरेर ‘सबल टान र समृद्ध पर्यटन’को लक्ष्यमा यथाशीघ्र लम्किनुपर्छ ।
१ टान अक्षयकोषको स्थापना :
टान कार्यसमितिको पहिलो बैठकबाटै पदयात्रामा संलग्न मजदुर तथा कर्मचारीका लागि दुर्घटना, अकालमा हुने मृत्यु वा भइपरी आइपर्ने समस्यामा राहत उपलब्ध गराउनेगरी र व्यवसायीहरूलाई आइपर्न सक्ने कुनै प्रकारका दीर्घकालीन रोग तथा महँगो उपचार गर्नुपर्ने अवस्थामा राहत उपलब्ध गराउनेगरी सुरक्षित विशेष अक्षय कोषको स्थापनाको कार्यलाई निर्णय गरी कार्यान्वयन गर्नुपर्छ ।
२. पर्यटन व्यवसायमा कायम भ्याट छुटका निम्ति विशेष पहलकदमी :
आमव्यवसायीहरूको संतुष्टि नैं व्यवसायको सफलता हो भन्ने तथ्यलाई मनन गर्दै पर्यटन व्यवसायमा विद्यमान १३ प्रतिशत भ्याट व्यावसायिक हिसाबले असान्दर्भिक देखिएको सबै व्यवसायीले महसुस गर्दै आइरहनुभएको छ । पर्यटन व्यवसायीहरूलाई उत्साहित बनाएर देशमा पर्यटनको विकास गर्न हाल कायम रहेको अव्यावहारिक भ्याटको दरलाई हटाई वा परिमार्जनका लागि नेपाल सरकारको जिम्मेवार निकायसँग परामर्श र छलफलमार्फत सहकार्य गरी यथाशीघ्र कार्यान्वयन गर्न पहल गरिनुपर्छ ।
३.पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाउन :
ट्रेकिङ कम्पनी मार्फत मात्र पदयात्रामा जाने बाध्यात्मक व्यवस्था मिलाउनुपर्छ । पदयात्रा प्याकेजको न्यूनतम मूल्य निर्धारण गर्न व्यवसायीहरू र सरोकारवाला निकायसँग छलफल गरी ट्रेकिङ कम्पनीबाट अनिवार्य प्याकेज लिएर मात्रै पदयात्रामा जान पाउने व्यवस्था मिलाउनका लागि पहल गर्नुपर्छ ।
४. टिम्सको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा :
टिम्सको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखिनुपर्छ । ट्रेकर्स सूचना व्यवस्थापन प्रणाली (टिआइएमएस) टिम्सको चेक प्वाइन्ट स्थापनालाई यथाशीघ्र प्रभावकारी ढंगले अघि बढाउनुपर्छ । नेपाल पर्यटन बोर्डको तर्फबाट टानलाई नियमपूर्वक बुझाउनुपर्ने रकमलाई उपभोग गर्न टानमार्फत विशेष योजना निर्माण गरी नेपाल पर्यटन बोर्ड र टानको बीचमा यसअघि भएको (टिआइएमएस) टिम्ससम्बन्धी सम्झौता संशोधन गरी समय अनुकुल बनाउनुपर्ने हुन्छ । विगतमा उक्त सम्झौता हुँदाको बखत स्थानीय सरकार गठन भएको थिएन । अहिले स्थानीय तह नैं स्थानीय निकायमा मजबुत भएको अवस्था छ । यसर्थ, सो कार्यमा स्थानीय निकायलाई पनि साझेदारी बनाएर पर्यटन बोर्ड, टान र स्थानीय सरकारबीच त्रिपक्षीय सम्झौता गरी अनधिकृत पदयात्रीहरूको चलखेललाई नियन्त्रण गर्न विद्यमान टिम्सका चेकपोइन्टहरुको गतिविधिलाई नियमन गर्दै आवश्यकता पहिचान गरी नयाँ टिम्सका चेकपोइन्टहरु स्थापनाका लागि स्थलगत निरीक्षण गरी यथाशीघ्र अघि बढाउनुपर्छ ।
५. नियन्त्रित पदमार्गको पर्मिटमा सहजीकरण :
हाल निषेधित क्षेत्रमा कायम रहेको दुईजनालाई मात्र दिइने पर्मिटको व्यवस्थालाई परिवर्तन गरी समय सापेक्ष बनाउन जरुरी रहेको हुँदा प्रतिव्यक्तिलाई त्यस्तो पर्मिट दिनुपर्ने खाँचो छ । त्यसका लागि ‘पर्मिट फी’ र अनुमति नियमन ‘पर्मिट रेगुलेसनमा संशोधन गरी अगाडि बढ्न यथाशीघ्र पहल गर्नुपर्छ ।
६. करसम्बन्धी समस्या समाधान :
हाल राज्यलाई तिर्नुपर्ने करका विभिन्न दर तथा करसम्बन्धी झन्झटिला प्रक्रियागत एवं ऐनलगायत विषयमा देखिएका असहजता र पर्यटन व्यवसायीहरूले भोग्नुपरेका समस्या समाधानका लागि सम्बन्धित निकायसँग गहन छलफल र सहकार्य गरी उपयुक्त समाधानका लागि बहस र पैरवी गर्नुपर्र्छ ।
७. पर्यटक सवारीसाधन खरिदमा भन्सार छुटको व्यवस्थालाई कार्यान्वयन गर्न पहल :
पर्यटकलाई स्तरीय र सर्वसुलभ सेवा प्रदान गर्नका निम्ति पर्यटक सवारीसाधन खरिद प्रक्रयामा भन्सार छुटको व्यवस्था अति नै महत्वपूर्ण रहेको हुँदा सो को व्यवस्थाका लागि सम्बन्धित निकायसँग पहल गरी कार्यान्वयन गर्नुपर्छ ।
८ वैकल्पिक पदयात्रा मार्गको डिपीआर तयार :
अन्नपूर्ण ट्रेकिङ रुटका वैकल्पिक मार्गको निर्माणका लागि ‘पाइलट प्रोजेक्टको रूपमा डिपिआर तयारीको कार्यलाई यथाशीघ्र अगाडि बढाउन पहल गर्नुपर्छ । सो कार्यलाई देशका अन्य पर्वतीय पर्यटनसँग जोडिएका पदमार्गका क्षेत्रमा पौराणिक ट्रेकिङ रुटलाई नै निरन्तरता दिँदै सबैको स्तर उन्नतिका लागि विज्ञ टोली नियुक्त गरी परामर्श लिई वैकल्पिक पदयात्राको व्यवस्थालाई समयसापेक्ष बनाउँदै लग्नुपर्छ ।
९. पदमार्गको प्रचारप्रसारलाई प्राथमिकता :
सगरमाथा र अन्नपूर्ण क्षेत्रका पदमार्गबाहेक स्थापित भएका अन्य थुप्रै पदमार्ग पर्यटकहरूको रुचि बगाउनेगरी ती पदयात्राको प्रचारप्रसारमा जोड दिएर ‘स्टाट्रेजिक मार्केटिङ प्लान इम्लामेन्ट’को अवधारणा अगाडि बढाउनुपर्छ ।
१०. जलवायु परिवर्तनको एजेण्डालाई प्राथमिक रूपमा उठान :
विश्वमै जल्दोबल्दो एवं अन्तर्राष्ट्रिय चिन्तनका रूपमा देखापरिरहेको जलवायु परिवर्तनको विषय नेपालका लागि अझ महत्वपूर्ण छ भन्ने कुरा संयुक्त राष्ट्रसंघका महासचिवको केही समयअघि भएको नेपाल भ्रमणले पनि प्रमाणित गरिसकेको छ । पर्वतीय पर्यटनमा जलवायु परिवर्तनले पारेको असरको सवाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसमक्ष विशेष रूपमा उठान गर्नुपर्छ । सो गम्भीर विषयलाई गहन अनुसन्धान गराई नेपाललाई जलवायु परिवर्तनको विषयमा कम जोखिमयुक्त बनाउन र पर्वतीय पर्यटनका गतिविधिलाई सुरक्षित बनाउन सबै प्रकारका बहस र पैरवी गर्नुपर्छ ।
११.समय सापेक्ष पर्यटन ऐन :
हाल कायम रहेको नेपालको पर्यटन ऐन पुरातन हुनुका साथै कतिपय ऐनहरू पर्यटन विकासमै पनि बाधक देखिन्छन् । देशको विकासमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नका लागि झन्झटिला तथा असान्दर्भिक देखिएका पर्यटन ऐनलाई समय सापेक्ष बनाउन पहलकदमी गर्नुपर्छ त्यसका लागि विभिन्न सरोकारवाला पक्षहरूसँग छलफल गरी प्रक्रिया अगाडि बढाइनेछ र हरेक पाँच/पाँच वर्षको अवधिमा पुनरावलोकन गर्ने व्यवस्था मिलाउनुपर्छ ।
१२. ‘एक्सपेरियन्सल टुरिजम’ को विकास :
समग्र देशको र पर्यटन क्षेत्रको विकासका लागि पनि ‘टुरिजम फर अल सिजन’ महत्वपूर्ण छ । यसका लागि ‘एक्सपेरियन्सल टुरिजम’लाई प्रवद्र्धन गरी व्यवसायीलाई आवश्यक पर्ने सबै प्रकारका व्यावसायिक प्रशिक्षणहरू सञ्चालन गरिनुका साथै नविनतम् ‘होली डे प्याकेज’हरूको अवधारणालाई अघि बढाउनुपर्छ ।
१३. अन्तर्राष्ट्रिय स्तरका विभिन्न ट्रेनिङ कोर्स सञ्चालन :
ट्रेकिङ क्षेत्रमा अहोरात्र कार्यरत विभिन्न तहका कर्मचारी तथा व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्नका लागि समय सापेक्षित अन्तर्राष्ट्रिय स्तरका ट्रेनिङ कोर्सहरू यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्छ ।
सगरमाथा र अन्नपूर्ण क्षेत्रका पदमार्गबाहेक स्थापित भएका अन्य थुप्रै पदमार्ग पर्यटकहरूको रुचि बगाउने गरी ती पदयात्राको प्रचारप्रसारमा जोड दिएर ‘स्टाट्रेजिक मार्केटिङ प्लान इम्लामेन्ट’ को अवधारणा अगाडि बढाउनुपर्छ ।
१४. नेपाल एयरलाइन्सको व्यवस्थापनलाई पुनःर्संरचना गर्न पहल :
नेपाल एयरलाइन्सको हालको पुरातन व्यवस्थापनलाई परिमार्जन गरी सशक्त र बलियो बनाउनुपर्ने आवश्यकता चौतर्फी उजागर नै छ । त्यसका लागि व्यावसायिक पुनरुत्थान हुनेगरि देशको समग्र पर्यटन विकास गर्नका लागि अन्तर्राष्ट्रिय स्तरको ख्याति प्राप्त कुनै पनि एयरलाइन्स निकायलाई सीमित अवधिका लागि व्यवस्थापनको जिम्मेवारी दिई देशको एकमात्र राष्ट्रिय ध्वजाबाहक कम्पनी नेपाल एयरलाइन्सलाई व्यावसायिक बनाउन पहल गर्नुपर्छ ।
१५. एडभेन्चर ट्राभल ट्रेड एसोसिएसन (एटीटीए)जस्ता संस्थासँग सहकार्य :
नेपालको पदयात्रालाई विकसित, मर्यादित र व्यवस्थित गर्नका लागि पर्वतीय पर्यटन प्रर्वद्धनसँग जोडिएका एडभेन्चर ट्राभल ट्रेड एशोसिएसन (एटीटीए) जस्ता अन्तर्राष्ट्रियस्तरका संघसंस्थासँग हातेमालो गरी नेपालमै पदयात्रा शिखर सम्मेलनको आयोजना गरिनुका साथै उनीहरूसँग स्थायी र दीर्घकालीन सहकार्यका लागि पहल गरिने प्रक्रियाको थालनी गर्नुपर्छ ।
१६. पर्वतीय पर्यटनको विकासमा दातृ निकायसँग सहकार्य :
नेपालको पर्वतीय पर्यटनको दिगो विकासका लागि स्वदेशमा रहेका सम्पूर्ण विदेशी दूतावास तथा विदेशस्थित सम्पूर्ण नेपाली दूतावास र कूटनीतिको निकाय एवं एनआरएनएसँग सहकार्य गरी अगाडि बढ्नुपर्छ ।
१७. पर्यटन सम्बद्ध अन्य संघसंस्थासँग सहकार्य :
समग्र पर्वतीय पर्यटन क्षेत्रका साझा समस्यालाई समाधान गर्न र पर्यटन क्षेत्रका दिगो विकास गर्नका निम्ति पर्यटन क्षेत्रसँग आवद्ध सम्पूर्ण संघसंस्थाहरूसँग समन्वय र सहकार्य गर्न नेतृत्वदायी भूमिकामा टानलाई अगाडि बढाइने व्यवस्थाको थालनी गर्नुपर्छ ।
१८. पर्यटन विकासका लागि नेपाल सरकारका निकायसँग सहकार्य :
नेपाल सरकारका सम्बन्धित निकायहरू पर्यटन मन्त्रालय, पर्यटन विभाग, पर्यटन बोर्ड, स्थानीय निकाय, तथा सरोकारवाला संघ संस्थासँग समन्वय गरी उनीहरूसँगको सहकार्यमा पर्वतीय पदयात्रासँग सम्बन्धित एवं समग्र पर्यटन क्षेत्रका समस्या समाधान गर्न र पर्यटन क्षेत्रको दिगो विकास गर्न नेतृत्वदायी भूमिकामा रहेर पहल कदमी गर्नुपर्छ ।
१९. कानुनी र फाइनान्सियल परामर्श केन्द्र स्थापना :
पदयात्राको क्षेत्रमा कार्यरत सम्पूर्ण कर्मचारी तथा व्यवसायीलाई नियमित रूपमा कानुनी परामर्श उपलब्ध गराउनका लागि टानमा कानुन विज्ञहरूको टोली नियुक्ति गरी कानुनी परामर्श केन्द्र स्थापना गर्नुपर्छ । त्यसका साथै बैंक, वित्त, भ्याट, ट्याक्सलगायत समस्यालाई सरलीकरण गर्न र विभिन्न समस्याको झन्झटबाट व्यवसायीलाई मुक्त गर्नका निम्ति सम्बन्धित विज्ञ व्यक्तिको सहभागितामा फाइनान्सियल परामर्श केन्द्रको स्थापना गरी कार्यान्वयनमा ल्याउनुपर्छ ।
२०. पर्यटन बोर्डमा पर्यटन संघसंस्थाबाट प्रतिनिधित्व हुने व्यवस्था :
पर्यटन बोर्डको सञ्चालक समितिमा प्रतिनिधित्व हुने निजी क्षेत्रको सञ्चालक हाल विभिन्न निकायको सिफारिश र भनसुनका आधारमा हुने गरेको छ । त्यसलाई परिमार्जन गरी पर्यटन संघसंस्थाबाटै प्रतिनिधित्व हुनेगरी पर्यटन बोर्डको सञ्चालक नियुक्तिका लागि पहल गर्नुपर्छ ।
२१. टानको विधान संशोधन :
विधानमा संशोधनमार्फत भड्किलो र खर्चिलो टानको चुनाव प्रचार प्रसारलाई नियन्त्रण तथा नियमन गर्न, योग्य र अनुभवी व्यवसायका प्रतिनिधित्व हुने खालको अवधारणा बोकेको कानुनी व्यवस्था परिमार्जन गरी नियमन गर्नुपर्छ ।
२२. टान नेतृत्वका हाल सञ्चालनमा रहेका प्रभावकारी कार्यक्रमको निरन्तरता :
टानको अघिल्ला कार्यसमितिहरूले पाइप लाइनमा राखेका र सञ्चालनमा रही पूरा हुन बाँकी रहेका महत्वपूर्ण र प्रभावकारी कामलाई निरन्तरता दिई सफल कार्यान्वयनमा जोड दिनुपर्छ । (पाण्डे पर्यटन व्यवसायी एवं पर्यटनविज्ञ हुनुहुन्छ ।)







Congratulations Sagar sir, we hope you and your elected team will do far better than the other team did.
https://www.greatpanoramatreks.com