काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीे निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । केन्द्रीय समितिको मंगलबारको बैठकले उहाँलाई हटाएको हो । पार्टीको अनुशासन आयोगले गरेको सिफारिसअनुसार उहाँलाई हटाइएको एक नेताले जानकारी दिनुभयो । ढकाललाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा दुईपटकसम्म स्पष्टीकरण सोधिएको थियो । ढकालले पार्टी सुदृढीकरणका लागि भन्दै बनाएको प्रतिवेदनमा पार्टी अनुशासन विपरीतका कुराहरू समेटेको, पार्टीका अहित हुने खालका गतिविधि गरेको लगायतका आरोपमा पार्टीले उहाँलाई यसअघि महामन्त्रीबाट निलम्बन गरेको थियो । निलम्बन गरी उहाँलाई स्पष्टीकरण सोधिएको थियो ।
ढकालले गरेको समीक्षा यात्राको प्रतिवेदनको स्वामित्व पनि पार्टीले लिएको थिएन । प्रतिवेदन पार्टीमा पेस गरेर छलफल चलाउनु पहिल्यै सार्वजनिक गरेको भन्दै उक्त प्रतिवेदनको स्वामित्व नलिने निर्णय रास्वपाले गरेको थियो । ढकालले सभापति रवि लामिछानेलाई समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदन बुझाउनुभएको थियो । जसमा पार्टी सञ्चालन र सभापतिको कार्यशैलीप्रति कडा आलोचनासमेत गरिएको थियो । आफ्ना कुरा भन्न नदिएको भन्दै ढकालले पार्टीको बैठकमै कालो टेप लगाएर विरोध गर्नुभएको थियो ।प्रतिवेदनमा लेखिएका कुरा पार्टी नीतिविपरीत सार्वजनिक गरेको लगायतको आरोपमा ढकाललाई केन्द्रीय समितिले महामन्त्री पदबाट निलम्बन गरिएको थियो ।
रवि लामिछानेले नै रास्वपाबाट राजीनामा दिनुपर्छ : मुकुल ढकाल
राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निलम्बित गरेपछि उहाँले पार्टी सभापति रवि लामिछानेले नै रास्वपाको सदस्यता त्याग्नुपर्ने बताउनुभएको छ । मंगलबार समाजिक सञ्जालमा ढकालले लेख्नुभएको छ, ‘रवि लामिछाने क्लबबाट निष्काशित भएको हुँ ।, राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्काशन गर्ने अधिकार क्लबलाई छैन । न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनुपर्छ ।’
उहाँले सभापति लामिछानेको नैतिकतामा समेत प्रश्न उठाउनुभएको छ । ‘नैतिक रूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला । तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला ।, समयले पुष्टि गर्दै जानेछ,’ उहाँले भन्नुभएको छ । ढकालले सहकारी ठगी प्रकरणमा लामिछानेले भ्रम सिर्जना गरेको समेत बताउनुभएको छ, ‘सहकारी प्रकरणका सवालमा रवि लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरि भाषणबाजी गर्दै हिँडेका छन् । आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै जनतामा भ्रम छरी राजनीति गरिराखेका छन् । न्याय सम्पादनको प्रक्रियालाई खलल पुर्याउने दुस्साहस गर्दैछन् । सम्बन्धित निकायको ध्यान जाओस्,’ उहाँले थप लेख्नुभएको छ, ‘नैतिक रूपले पतित रविलाई नैतिकता कै प्रश्न, अनुसन्धानमा रहिरहेको विषयउपर भ्रम छर्न नलाग्नुहोस् , एउटा पूर्व गृहमन्त्रीलाई त्यो शोभा दिँदैन ।’ढकाललाई मंगलबार बिहान बसेको रास्वपा केन्द्रीय समितिको बैकठले पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो । पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा अनुशासन आयोगको सिफारिसमा उहाँलाई साधारण सदस्यबाट समेत हटाइएको रास्वपाले जनाएको छ ।






