
✍️ प्राडा कुमारप्रसाद कोइराला
प्रिय उत्तम ! तिमी हामीबीच छैनौ भनेर म कसरी लेखूँ । लेखूँ भनेर कलम उठाउँछु, तर दिमाग खाली भएजस्तो शब्दै आउँदैनन् । बल गरेर शब्द निकाल्ने प्रयास गरे पनि तिनले मेरो मनको कुरा भन्न सक्तैनन् । किनभने मेरो मनले तिमी छैनौ भनेर स्वीकार गर्न सकेकै छैन । यसरी अहिले म एक प्रकारले शब्द र भाव नभएको अकिञ्चन र विवश व्यक्ति भएको छु । म यसबेला तिमीलाई प्रत्यक्ष देख्दा र अहिले सम्झँदा वा अनुभूत गर्दा भेद गर्न सकिरहेको छैन । मलाई तिमी यतै कतै छौजस्तो भ्रम भइरहेको छ । तिम्रो हँसिलो अनुहार, तिम्रो मीठो बोली र आँखामा राखे पनि नबिझाउने तिम्रो व्यक्तित्व आँखा बन्द गर्दा होस् वा खोल्दा झल्झली अगाडि आइरहन्छ ।
तिम्रो लोकतन्त्रप्रतिको प्रतिबद्धता र अटल आस्था, लोकतन्त्रका लागि तिमीले गरेको संघर्ष, तिम्रो लोकतान्त्रिक आचरण र व्यवहार सबैका लागि उत्प्रेरक थिए भनेर तिम्रो अन्त्येष्टिमा आर्यघाटमा स्वतः उपस्थित जनताको विशाल भीडले प्रमाणित गरेको देखियो । अहिले देशमा लोकतन्त्रका लागि आत्म बलिदान गर्ने हजारौं शहीद र तिमीजस्ता लाखौं समर्पित कार्यकर्ताको संघर्षबाट प्राप्त लोकतान्त्रिक व्यवस्था भए पनि नेता वा शासकको अलोकतान्त्रिक बोली, व्यवहार र कार्यले सामान्य मानिस क्षुब्ध र रुष्ट भएका छन् । यस्तो बेलामा पनि मानिसले तिमीप्रति जति स्नेह, सद्भाव र अपनत्व देखाए त्यो अकल्पनीय देखियो ।
विसं २०१५ चैत्र २९ गते ओखलढुंगा जिल्लाको रातमाटे गाउँपञ्चायत, चिसंखु छहरेमा माता डालकुमारी र पिता तेजप्रसादबाट कान्छो सन्तानका रूपमा जन्मेका तिमीले एक वर्ष पनि नपुगी आमा गुमायौं । ठूलीआमाको वात्सल्यमा हुर्किएका तिमी जनकपुरको ज्ञानकुपमा पढ्न गयौ । त्यहीँ पढ्ने तिम्रा दाजु महेश कोइराला नेपाली कांग्रेसले प्रजातन्त्र प्राप्तिका लागि गरेको सशस्त्र आन्दोलन (२०२८-२०३२) मा सक्रिय भएर लागेका थिए । उनी जनकपुरको जानकी मन्दिर अगाडिको प्रहरी कार्यालयमा विसं २०३१ असार ७ गते बम प्रहार गरेर भारतमा निर्वासित भए । उनीभन्दा अगाडि नै चिसंखु छहरेकै तिम्रा क्रान्तिकारी काका/सानोबुबा केशव कोइराला भारतमै निर्वासित हुनुहुन्थ्यो । उहाँ विसं २०३१ साउन ३१ गते महोत्तरी जिल्लाको मटिहानी प्रहरी चौकीमा बम प्रहार गर्दा समातिनु भयो ।
देशका नागरिकलाई सडक दुर्घटनाबाट हुने अकाल मृत्युबाट जोगाउन सरकारले निर्माण सम्पन्न नभएका बाटामा मालवाहक गाडी र सवारीसाधन चल्न दिनु हुँदैन र निर्माण सम्पन्न भएका बाटामा मात्र ट्राफिक नियम पूर्ण परिपालन गराएर चल्न चलाउन दिएर सडक दुर्घटनालाई न्यूनतम पार्नुपर्छ ।
तत्कालीन पञ्चायत सरकारले बर्बरतापूर्ण तरिकाले उहाँको हत्या गर्यो । त्यस्तै ओखलढुंगा जिल्ला कब्जा गर्ने योजना बनाएर भारतबाट नेपाल पसेको नेपाली कांग्रेसको करिब चालीस जनाको लडाकु दस्तामा सामेल भएका तिम्रा दाजु महेश कोइराला, रामलक्ष्मण र अन्य धेरै जनालाई सोलुखुम्बु जिल्लाको टिम्बुरबोटे जंगलमा विसं २०३१ पौष १ गते नेपाली सेनाले घेरेर नृशंस तरिकाले हत्या गर्यो । त्यहाँबाट उम्केका क्याप्टेन यज्ञबहादुर थापालाई विसं २०३५ मा मारियो भने पक्राउ परेका क्रान्तिकारी युवा रामकुमार सुनुवार, शमशेरबहादुर कार्की, हर्कबहादुर कार्की, अम्बरबहादुर खड्का, होमशेर राई, भीमबहादुर कटुवाल र टीकाराम राईलाई ओखलढुंगाबाट राजविराज जेल सार्ने क्रममा टोक्सेलको सातसल्लेमा विसं २०३१ माघ ३ गते गोली ठोकेर मारियो ।
त्यस्तै ओखलढुंगाको रामपुरका ठगीराज दाहाल, लीलाराज दाहाल, खगेन्द्र दाहाल र गोकर्ण कार्कीलाई बनारसबाट बम बोकेर ल्याउँदा बाटैमा पक्रेर नख्खु जेलमा राखिएको थियो । उनीहरूलाई जेल सार्ने निहुँमा मध्यरातमा जेलबाहिर ल्याएर विसं २०३१ असोज १३ गते क्रूरतापूर्व गोली ठोकेर मारियो । यसरी नेपाली कांग्रेसको तत्कालीन सशस्त्र आन्दोलनमा ओखलढुंगा काण्डमा मारिएका शहीदहरू जम्मा ३७ जना रहेको विवरण कुम्भराज राईको ओखलढुंगा तथ्य र इतिहास (२०७९) मा पाइन्छ । यस्तो लोकतन्त्र प्राप्तिमा महत्वपूर्ण योगदान दिने ओखलढुंगा जिल्लाको शहीद परिवारमा जन्मेका तिमीले तिनै अमर शहीदलाई आदर्श र प्रेरणाका स्रोत बनाएका थियौ ।
तत्कालीन विषम परिवेशमा पनि साहस र धैर्य नछोडी ज्ञानकुपबाट एसएलसी पास ग¥यौ र त्यहीँ बसेर उच्च शिक्षा प्राप्त गर्न नसकिने भएपछि काठमाडौं आएर दुःख र कष्ट भोग्दै रत्नराज्य बहुमुखी क्याम्पसबाट प्रमाणपत्र र स्नातक तह उत्तीर्ण ग¥यौ । ओखलढुंगा रामपुरका डिल्लीप्रसाद दाहाल र हरिप्रिया दाहालका सुपुत्र खगेन्द्र दाहाल जसलाई नख्खु जेलबाहिर गोली हानेर मारिएको प्रसंग अघिल्लो अनुच्छेदमै आएको छ, उनैकी बहिनी यन्जु दाहालसँग तिम्रो विवाह भयो । त्यो विवाह दुवै शहीद महेश कोइराला र खगेन्द्र दाहालका भाइ बहिनीबीच भएको थियो र नियोजित थियो ।
त्यसपछि अहिलेको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० कपनमा घर बनाएर बसेका, नेपाली कांग्रेसका क्रियाशील सदस्य तिमी लोकतन्त्र प्राप्तिका लागि सञ्चालित प्रायः सबै आन्दोलनमा सक्रिय रूपमा सहभागी भयौ । यसरी तिमी शहीद परिवारका सामान्य व्यक्तिमात्र नभएर नेपालको लोकतान्त्रिक आन्दोलनका सशक्त, सक्रिय, जुझारू र स्वाभिमानी कार्यकर्ता थियौ ।
कुशासन र भ्रष्टाचारको शिकार भएर नेपालका अनेकौं सार्वजनिक संस्थाहरू धराशायी भए, कति बेचिए । जनकपुर चुरोट कारखाना विसं २०७० मा बन्द भयो र तिम्रो जागिरे जीवन पनि सकियो । त्यसपछि तिमी नेताकहाँ चाकरी गर्न गएनौ, तिमीले स्वाभिमानपूर्वक रहने निर्णय ग¥यौ । लोकतान्त्रिक आदर्श र विचारप्रति प्रतिबद्ध रहेर समाजसेवा गर्दै र अनेकौं संघर्ष गरेर जीवन चलाउँदै आएका थियौ । अब्राहम लिंकनले सामान्य देखिने मान्छे नै असल हुन्छन् भनेझैँ तिमीमा ठूलो हुने महत्वाकांक्षा थिएन । धोका र छलकपट थिएन । तिमी आफूभन्दा ठूलालाई सम्मान, आफूसमानलाई माया र आफूभन्दा सानालाई स्नेह गथ्र्यौ ।
तिमीलाई नराम्रो भन्ने मान्छे थिएनन् । तिमी सबैका प्रिय थियौ । तिमीसँग कमजोरी पनि थिए होलान्, तर तिनलाई तिमीले कहिल्यै बाहिर आउन दिएनौ । मान्छेसँगको सुमधुर सम्बन्ध र सद्व्यवहारले तिमी बन्धुबान्धव, इष्टमित्र, छरछिमेक र टोलका मात्र नभएर सबैका परिचित र प्रिय थियौ । तिम्रा तीनजना सन्तान प्रगतिपथमा लम्कँदै थिए । जेठी छोरी यशोदा अष्ट्रेलियामा पढाइ सकेर जागिरे जीवन सुरु गर्दै थिइन् भने, माइली छोरी आस्था एलएलएम गर्न भर्खरै अमेरिका गएकी थिइन् । कान्छी बुइसा यसै वर्ष एसइई उत्तीर्ण गरेर कक्षा एघारमा प्रवेश गर्दै थिइन्, तर तिमीले आफ्ना सन्तानको उन्नति देख्न पाएनौ ।
विसं २०८१ साउन ३१ गते दिउँसो १ः४० मा भक्तपुरको गठ्ठाघरमा भएको भयानक दुर्घटनामा परेर फक्रन र फुल्न लागेको एउटा फूलजस्तो परिवारले आफ्नो प्रियमाली गुमायो, बन्धुबान्धव र टोल छिमेकले असल बन्धु र मित्र गुमाए भनेदेशले लोकतान्त्रिक आन्दोलनको एउटा निष्ठावान् र कर्तव्यपरायण सपूत गुमायो । नेपालका ज्यानमारा बाटा र अव्यवस्थित ट्राफिक व्यवस्थाका कारणले वर्षैपिच्छे तिमीजस्तै हजारौं नेपाली अकालमा मर्छन् । दिनैपिच्छे हुने सडक दुर्घटनामा परेर हजारौं नेपालीले बाबुआमा, पतिपत्नी र सन्तान गुमाउँछन् । बाच्नेहरू टुहुरा, विधवा, विधुर र निःसन्तान हुन्छन् ।
देशमा सुशासनको अभाव र भ्रष्टाचारले गर्दा वर्षौंदेखि भइरहने यस्ता सडक दुर्घटनामा अलिकति पनि कमी आएको देखिँदैन र सरकार मूकदर्शक मात्र बनेको जस्तो देखिन्छ । तसर्थ देशका नागरिकलाई सडक दुर्घटनाबाट हुने अकाल मृत्युबाट जोगाउन सरकारले निर्माण सम्पन्न नभएका बाटामा मालवाहक गाडी र सवारीसाधन चल्न दिनु हुँदैन र निर्माण सम्पन्न भएका बाटामा मात्र ट्राफिक नियम पूर्ण परिपालन गराएर चल्न चलाउन दिएर सडक दुर्घटनालाई न्यूनतम पार्नुपर्छ ।
उत्तम ! आज म अवरुद्ध कण्ठले तिम्रो दिवंगत आत्माले चिरशान्ति प्राप्त गरोस् भन्ने कामनाका साथ तिमीमा हार्दिक श्रद्धाञ्जलिका शब्दपुष्प अर्पण गर्दछु र शोकाकुल तिम्री जीवन संगिनी यन्जु र सन्तान तथा अन्य परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । हाम्रा हृदयबाट कहिल्यै ओझेल नहुने प्रिय उत्तम ! खै कसरी तिमीलाई अलबिदा भनूँ, तर पनि भन्नै पर्छ । अलबिदा उत्तम !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच