काठमाडौं । नेपाल डिजिटल पेमेण्ट्स (एनडिपिसी) ‘मोस्ट इनोभेटिभ इन पेमेन्ट्स इन नेपाल २०२४’ अवार्डबाट सम्मानित भएको छ । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकद्वारा संयुक्त रूपमा प्रवद्र्धित(एनडिपिसी)लाई अनलाइन समाचार एग्रिगेटर, ‘ग्लोबल फाइनान्सियल मार्केट रिभ्यु’ ले ‘मोस्ट इनोभेटिभ इन पेमेन्ट्स इन नेपाल २०२४’ को अवार्ड प्रदान गरेको हो ।
ग्लोबल फाइनान्सियल मार्केट रिभ्यु वित्तीय उद्योगमा केन्द्रित अनलाइन समाचार पोर्टल हो । पारदर्शिता, कर्पोरेट सुशासन, दिगोपन, नवप्रवर्तन, फिनटेक र ग्राहक सेवाप्रति एनडिपिसीद्वारा सञ्चालित डिजिटल भुक्तानी सेवा प्रदायक नमस्ते पेको प्रतिबद्धता र निरन्तर प्रयासका आधारमा अवार्ड एनडिपिसीलाई प्रदान गरिएको कम्पनीले जनाएको छ ।
नमस्ते पेलाई नेपालको फिनटेक परिदृश्यमा एक रचनात्मक वालेट सेवा प्रदायक बनाउन नेपाल डिजिटल पेमेन्ट कम्पनीको निरन्तर प्रयास र नमस्ते पेले स्थापनाकालदेखि नै नवप्रवर्तनात्मक विद्युतीय भुक्तानीका लागि समाधान ल्याउने प्रयास गर्दै आएको कम्पनीले उल्लेख गरेको छ । नमस्ते पेले युएसएसडी च्यानलमार्फत् ५०० डायल गरेर उपभोक्ताहरूलाई बिनाइन्टरनेट पनि वालेट सेवा अफलाइनमा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको छ ।






