काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार उच्च अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ७९.८८ अंकले घटेर २८९४.५७ अंकमा झरेको हो । यस दिन तीन सय ३३ कम्पनीको चार करोड २६ लाख ८६ हजार छ सय ४० कित्ता सेयर दुई लाख १८ हजार पाँच सय ७८ पटक खरिदबिक्री हुँदै १९ अर्ब ७४ करोड पाँच लाख ९३ हजार आठ सय रुपैयाँ बराबरको कारोबार भएको छ ।
लघुवित्त समूह १.०८ प्रतिशत बढेको छ भने अन्य सबै समूह घटेका छन् । सबैभन्दा धेरै लगानी समूह ३.८३, बैकिङ ३.३१, वित्त ३.५० र अन्य समूह ३.५५ प्रतिशतले घटेको छ । विकास बैंक २.४४, होटल तथा पर्यटन २.३८, जलविद्युत् ३.०४, जीवन बिमा २.५०, उत्पादन तथा प्रशोधन १.९८, म्युचुअल फण्ड १.५९, निर्जीवन बिमा २.३२ र व्यापार समूह १.७६ अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार विन नेपाल लघुवित्त, उपकार लघुवित्त र आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै मन्दाकिनी हाइड्रोपावर १०.२५ प्रतिशत, कुमारी बैंक डिभेञ्चर-८६ को सेयर मूल्य ९.०९ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार सेयर संख्याका आधारमा अपी पावरको सबैभन्दा धेरै ८४ करोड ६८ लाख १७ हजार रुपैयाँ बराबरका २२ लाख ७८ हजार सात सय ८७ कित्ता सेयर खरिदबिक्री भएका छन् ।






