लगातारका दुर्घटनाहरूको पुनरावृत्तिले गर्दा दिनप्रतिदिन त्रासदी बढिरहेको छ । शुक्रबार अर्को ठूलो दुर्घटनाका साथै अन्य दुर्घटना पनि भएका छन् । दुर्घटनाको स्वरूप पूर्वनिर्धारित हुँदैन । कहाँ कतिबेला कस्तो दुर्घटना हुन्छ भनेर कसैले बताउन सक्दैन । त्यस कारणले यस्ता घटनालाई दुर्घटना भन्ने गरिएको हो । यस्ता घटना पटकपटक दोहोरिइरहेकाले कतिथ भविष्यवाणी गर्नेहरूले आफूले दुर्घटना हुन्छ भनेर गरेको भविष्यवाणी पुगेको भनेर धाक जमाउने मौका पाएका छन् । नेपालको हवाई क्षेत्र सुरक्षित छैन भनेर युरोपले यहाँ उडान गर्न प्रतिबन्ध नै लगाएको छ । युरोप, अमेरिका जानेहरूले अन्य विभिन्न देशलाई ट्रान्जिट बनाएर जानुपरेकोे छ ।
यहाँ बेलाबेलामा भइरहने हवाई दुर्घटनाले नेपालमा हवाई उडान नगर्ने ती देशहरूले आफ्नो अडानका लागि थप निहुँ पाउने गरेका छन् । हालैमात्र नेपालमा एउटा हवाई जहाज र एउटा हेलिकप्टर दुर्घटना भएर तिनमा सवार मानिसको मृत्यु भएको थियो । दुर्घटना मानवीय नियन्त्रण बाहिरको विषय हो तर सावधानी तथा सुधार गरी कमी ल्याउन भने सकिन्छ । शुक्रबारको मस्र्याङ्दी दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । उक्त गाडी सडकबाट मस्र्याङ्दी नदीमा खसेको थियो । भारतीय नम्बरको उक्त गाडीमा भारतीय नागरिक पर्यटकहरू यात्रारत रहेका थिए । पोखराको भ्रमण सकेर काठमाडौंतर्फ आउँदै गरेको अवस्थामा उक्त गाडी दुर्घटनामा परेको थियो ।
उक्त दुर्घटनामा अन्य १६ जना यात्रीहरू घाइते भएका छन् । दुर्घटना दिनमा भएको हुनाले उद्दार गर्न सिमलताल दुर्घटना जस्तो असहज भएन । गत असारको अन्तिम साता चितवनको सिमलतालमा रातको समयमा लेदोसहितको पहिरोमा परेर दुईवटा यात्रुबाहक बससहित ६२ जना यात्रीहरू त्रिशूली नदीमा विलिन हुनपुगे । पछि केहीको मात्र शव भेटियो अन्य अझैसम्म बेपत्ता छन् । शुक्रबारमात्रै अन्य केही ठाउँमा केही दुर्घटना हुन पुगेका छन् । सोही दिन मुग्लिन-नारायणगढ सडकखण्डको सत्रकिलो भन्ने ठाउँमा गुढिरहेको गाडीमा ढुंगा खसी उक्त बस अनियन्त्रित भएर पल्टिँदा १९ जना यात्रीहरू घाइते भएका छन् ।
केही दुर्घटना प्राकृतिक कारणले हुन पुगेका छन् । मुस्ताङको थासाङमा हिमपहिरो खसेको छ तर यसबाट मानवीय क्षति हुन पाएन । हिमपहिरो, पहिरो, बाढी आदिबाट हुने घटनामा प्रत्यक्ष रूपमा मानिसको संलग्नता रहेको हुँदैन । अप्रत्यक्ष रूपमा भने वातावरणीय विनाशमा मानिसकै हात हुने र वातावरण खल्बलिएर घटना हुने भएको हुँदा मानिसको हात रहने विज्ञहरूले बताउने गरेका भए पनि यस्ता घटनामा प्रत्यक्ष नभई अप्रत्यक्ष रूपमा मानिसको हात रहने गरेको हुन्छ । यातायातको साधनमा हुनेगरेको दुर्घटनामा भने मानिस नै कारण बनेर आउँछ कि त प्रकृति, कहिले उक्त साधन यस्ता दुर्घटनाको कारण बन्न सक्छन् ।
शुक्रबार तनहुँको आबुखैरेनीको ऐना पहरोमा भएको दुर्घटना मानवीय कमजोरीले भएको हो कि जस्तो देखिएको छ । घुम्ती पार गरिसकेपछि सजिलो ठाउँबाट उक्त बस खसेर दुर्घटना भएको भनिएको छ । चालकलाई बाटोसम्बन्धी ज्ञान नभएले उक्त दुर्घटना भएको हुनसक्छ । हाम्रा बाटा र सडकमा हाम्रै चालकले चलाएका साधन पनि दुर्घटनामा परेका छन् ।
बाटोको जानकारी भएर पनि लापरबाही, निद्रालगायत जिम्मेवार बनेका हुन सक्छन् । अझै नेपालबाहिरका चालकले चलाएको साधन दुर्घटनामा पर्दा तिनलाई बाटाको पर्याप्त ज्ञान नभएकाले हो कि भन्ने विषयमा सोच्नुपर्ने हुन्छ । भारतीय चालक आफ्नो देशमा समथर भूमिमा गाडी चलाउँदै आएका हुन्छन् । तिनले नेपालको पहाडी भू-भागका साँघुरा सडकमा गाडी चलाउँदा दुर्घटनाको जोखिम बढी हुन्छ । हाम्रो तीनैतिर भारतीय भू–भाग छ । गाडीहरू आउजाउ गर्न त्यति असहज छैन । विनाअनुमति आउनेहरू पनि धेरै होलान् । केहीले अर्को देशमा प्रवेश गर्दाको प्रक्रिया पु¥याउने गरेका पनि होलान् ।
तर, खुला सिमाना भएका छिमेकी मुलुक भन्दैमा आउजाउमा पूर्णस्वतन्त्रता रहनु उचित होइन । एक देशले अर्को देशमा प्रवेश गर्दा सम्बन्धित देशको अनुमति, जानकारी लिने काम गर्ने र प्रवेश भएको देशले त्यस्ता सवारीलाई उचित मार्गदर्शन गर्ने हो भने केही सहजता प्राप्त हुन्छ । मौसम, बाटो, भौगोलिक अवस्था र अवस्थितिलगायत बारे जानकारी गराउने हो भने बाटोबारे जानकारी नभएका चालकहरूका लागि सहज अवस्था सिर्जना हुन सक्थ्यो । आहारविहार र निद्रा तथा थकानबारे भने चालक आफैंले ध्यान पु¥याउनुपर्ने हुन्छ नत्र आफ्नै लापरबाहीले आफ्नो र अरूको समेत ज्यान जानसक्छ । यसबारे चालकलगायत सबैले गम्भीरतापूर्वक सोच्नुपर्ने हुन्छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts