काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्षको तुलनामा १.३ प्रतिशतले घटेर १७ खर्ब ४५ अर्ब ३७ करोडमा झरेको छ । कुल व्यापारमा निर्यात तथा आयातको योगदान क्रमशः ८.७ र ९१.३ प्रतिशत रहेको छ । समीक्षा अवधिमा नेपालको कुल निर्यात तीन प्रतिशतले घटेर एक खर्ब ५२ अर्ब ३८ करोड तथा कुल आयात १.२ प्रतिशतले घटेर १५ खर्ब ९२ अर्ब ९९ करोडमा झरेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकमा छ । आर्थिक वर्ष २०७९/८० मा निर्यात-आयात व्यापारको अनुपात १ः१०.३ रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा निर्यात-आयात व्यापारको अनुपात १ः१०.५ रहन आएको छ ।
विश्व व्यापारको तथ्यांकअनुसार २०२३ मा विश्वको कुल निर्यात व्यापारमा नेपालको कुल निर्यात हिस्सा एक सय ५३ औँ स्थानमा रहेको छ भने विश्व व्यापारको कुल निर्यात रकममा नेपालबाट भएको कुल निर्यात रकमको ०.००५ प्रतिशत रहेको छ ।
केन्द्रका अनुसार आर्थिक वर्ष २०८०/८१ को नेपालको कुल गार्हस्थ्य उत्पादनको तुलनामा नेपालको कुल व्यापार हिस्सा ३०.५९ रहेको छ भने सोही वर्ष नेपालको कुल गार्हस्थ्य उत्पादनमा निर्यात तथा आयात हिस्सा क्रमशः २.२७ र २७.९२ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९/८० को नेपालको कुल गार्हस्थ्य उत्पादनको तुलनामा व्यापार हिस्सा ३३.०७ प्रतिशत थियो भने सोही वर्ष नेपालको कुल गार्हस्थ्य उत्पादनमा निर्यात र आयात हिस्सा क्रमशः २.९४ र ३०.१३ प्रतिशत थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०/८१ मा फलाम तथा स्टिलका उत्पादन, तयारी पोशाक, जुस, प्लाइउडको निर्यात बढेको छ भने ऊनी गलैंचा, अलैंची, जुट तथा जुट सामान, पामतेल, ऊनी फेल्ट जस्ता वस्तु निर्यात घटेको छ । समीक्षा अवधिमा फलाम तथा फलामजन्य उत्पादनको निर्यातमा ६०.८ प्रतिशतले बढेर १७ अर्ब ४० करोड पुगेको छ । तर, सोही अवधिमा यार्न निर्यात १.६ प्रतिशतले घटेर ११ अर्ब एक करोडमा सीमित भएको छ । ऊनी गलैंचा निर्यात पनि ८.१ प्रतिशतले घटेर १० अर्ब ५७ करोडमा झरेको छ । तयारी पोशाक निर्यातमा समीक्षा अवधिमा ९.१ प्रतिशतले बढेर आठ अर्ब ९६ करोड पुगेको छ भने जुट तथा जुटजन्य उत्पादनको निर्यात ७.६ प्रतिशतले घटेर सात अर्ब चार करोडमा सीमित भएको छ ।
अर्को प्रमुख निर्यातजन्य ऊनी फेल्ट निर्यात पनि ८.१ प्रतिशतले घटेर चार अर्ब ८० करोडमा सीमित भएको छ तर जुस निर्यात भने ३१.३ प्रतिशतले बढेर आठ अर्ब ७१ करोड पुगेको छ । पामतेल निर्यात ६९.१ प्रतिशतले घटेर छ अर्ब ३३ करोडमा सीमित भएको छ । वस्तुको निर्यातमा अग्रणी स्थान हासिल गरिरहेको उत्पादन अलैंची निर्यातमा पनि ४.१ प्रतिशतले घटेर सात अर्ब ९४ करोडमा झरेको छ भने कृषिजन्यको अर्को उत्पादन चिया निर्यात पनि ७.९ प्रतिशतले घटेर तीन अर्ब ६२ करोडमा सीमित भएको छ । समीक्षा अवधिमा अदुवा निर्यात पनि ३.७ प्रतिशतले घटेर एक अर्ब १७ करोडमा सीमित भएको छ । नेपाल व्यापार एकीकृत रणनीति २०८० मा उल्लेखित वस्तु आर्थिक वर्ष २०८०÷८१ मा ९४ अर्ब ७५ करोड बराबरको निर्यात भएको देखिन्छ । नेपालको कुल निर्यातमा नेपाल व्यापार एकीकृत रणनीति २०८० मा उल्लेखित वस्तुको हिस्सा ६२.१८ प्रतिशत रहेको छ ।
आयाततर्फ समग्रमा आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो आर्थिक वर्षको तुलनामा पेट्रोलियम पदार्थमा २.९ प्रतिशतले घटेर तीन खर्ब ५४ अर्बमा झरेको छ भने फलाम तथा स्टिल र तिनका उत्पादन आयात ११.८ प्रतिशतले घटेर एक खर्ब ४७ अर्ब ४८ करोडमा सीमित भएको छ । मेसिनरी तथा पार्ट्स आयात ८.८ प्रतिशतले बढेर एक खर्ब नौ अर्ब ८९ करोड पुगेको छ भने कच्चा भटमास तेल आयात भने ६२.३ प्रतिशतले घटेर १३ अर्ब ४१ करोडमा झरेको छ । औषधि आयात पनि ५.६ प्रतिशतले घटेर ४२ अर्ब १३ करोडमा झरेको छ भने इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री ७.३ प्रतिशतले बढेर ६९ खर्ब ९० करोड पुगेको छ । यातायातका साधन र तिनका पार्टपूर्जा आयात पनि ६५ प्रतिशतले बढेर ८५ अर्ब ७५ करोड पुगेको छ । कच्चा पामतेल आयात ५९.१ प्रतिशतले घटेर १० अर्ब ६० करोडमा सीमित भएको छ । खाद्यान्न आयात पनि १९.१ प्रतिशतले घटेर ४५ अर्ब ७९ करोडमा झरेको छ भने तयारी पोशाक आयात भने ३५.६ प्रतिशतले बढेर ३५ अर्ब १६ करोड पुगेको छ । दूरसञ्चार सामग्री आयातमा ०.८ प्रतिशतले बढेर ३६ अर्ब ५८ करोड पुगेको छ भने सुन आयात ४०.९ प्रतिशतले घटेर २५ अर्ब ९५ करोडमा झरेको छ ।
समीक्षा अवधिमा अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण योगदान दिने मेसिनरी तथा पार्ट्स, यातायातका साधन, रबर र तिनका उत्पादन, कपास, तामा तथा तामाका उत्पादन, ऊन, रासायनिक मल जस्ता वस्तु आयातमा भएको वृद्धिले मुलुकको पूर्वाधार तथा अन्य निर्यातजन्य मालवस्तुको उत्पादनमा सकारात्मक योगदान पु¥याउने अनुमान गरिएको छ ।
अन्तर्राष्ट्रिय व्यापार केन्द्रले गरेको विश्व व्यापारको तथ्यांकअनुसार २०२३ मा विश्वको कुल निर्यात व्यापारमा नेपालको मालवस्तुको कुल निर्यात हिस्सा एक सय ५३ औँ स्थानमा रहेको र विश्व व्यापारको कुल निर्यात रकममा नेपालबाट भएको कुल निर्यात रकमको ०.००५ प्रतिशत रहेको छ । आयाततर्फ भने विश्व व्यापारको कुल आयातमा नेपाल आयातको एक सय १४औँ स्थानमा रहेको र नेपालको कुल आयात रकमको हिस्सा विश्व व्यापारको कुल आयात रकमको ०.०४३ प्रतिश रहेको छ ।







Breaking news with related posts