काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज मर्यादित समाज भएकाले यहाँ अश्लीलता र सामाजिक घृणा फैलाउन सम्भव नहुने बताउनुभएको छ । नेकपा (एमाले) झापा–काठमाडौं सम्पर्क मञ्चद्वारा तीजका अवसरमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल फरक कला, संस्कृति र सभ्यताको देश भएकाले यहाँ अश्लीलता फैलाउन सम्भव नहुने बताउनुभएको हो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘हामीले एकापसमा घृणा फैलाउने होइन, परस्पर माया फैलाउनुपर्छ । देश, समाज, परिवार र आफैंलाई माया गर्नुपर्छ । मायाले निद्रा र थकाइ बिर्साउँछ । दिदीबहिनी र दाजुभाइमा तीजले ममता बढाउँछ । यस्ता महत्वपूर्ण चाडले नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने काम गर्छ ।’
सो अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, एमाले केन्द्रीय सदस्य इन्द्र भण्डारीलगायत सहभागिता रहेको थियो । मञ्चका उपाध्यक्ष पुष्पा अधिकारीका अध्यक्षतामा भएको कार्यक्रममा महिला आन्दोलनमा योगदानकर्ता पृथ्वीशोभा मैनालीलाई सम्मान गरिएको थियो ।






