काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राजनीति र नेपाली समाजमा विकृति र विसंगतिहरु व्याप्त रहेको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा तिज गीत विशेष शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विकृति र विसंगतिका कारण हरेक परिवार र समाजलाई ठूलो समस्यामा पारेको उल्लेख गर्नुभयो । उहाँले सामाजिक रुपमा अपहेलित भएका, महिला समुदायहरु यसबाट झनै बढी पीडामा परेको बताउनु भयो ।
उहाँले विकसित भइसकेको भनिएको समाजमा पनि महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार हुने गरेको बताउनु भयो । उहाँले त्यस्ता विकृतिलाई परिवर्तन गर्नुपर्ने बताउनु भयो । उहाँले देशमा उत्पादन नबढ्नु, रोजगारी नहुनुले विभिन्न समस्या सिर्जना भइरहेको बताउनु भयो । उहाँले देशभित्र रोजगारी नपाएर विदेश जाने परिपाटीको अन्त्य गर्न आवश्यक रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले नेपाली समाज र राजनीतिक जगतहरुमा थुप्रै विकृति, विसंगतिहरु विद्यमान छन् । त्यसले प्रत्येक परिवारलाई निकै ठूलो समस्यामा पारिरहेको छ । प्रत्येक परिवारका आफ्ना आफ्ना पीडा र वेदनाहरु छन् । त्यसमा पनि आर्थिक रुपमा विभिन्न भएकाहरु, सामाजिक रुपमा अपहेलित भएकाहरु, महिला समुदायहरु झनै ज्यादा पीडाहरु भोगिरहेका छन् । पीडाबाट मुक्ति पाउनका लागि भएपनि एक दिन यो तिज मनाएको हो की भन्ने लाग्छ । कमसेकम एक दिन त आनन्दले गाउन र नाच्न पाए हुन्थ्यो भनेर हो की । हाम्रो समाजमा पुराना संस्कारहरु जिउँदै छन् । पुराना संस्कारले गाँजेकै छ । विकसित भइसकेको भनिएको समाजमा पनि महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गरिन्छ । हामी त्यसका बिरुद्धमा छौँ । त्यसको शुरुवात पनि गर्नुपर्छ । हामीले खुबी राख्नुपर्छ, विकास गर्नुपर्छ । राम्रो सन्देश कसैले दिन्छ भने त्यसलाई हामीले प्रेरित गर्नुपर्छ । राम्रो भावनाको संप्रेषण गर्छ भने त्यसलाई प्रेरित गर्छौं । उत्पादन हामी कहाँ भइरहेको छैन । रोजगारी बढिरहेको छैन । देशभित्र मान्छेले काम नपाएर विदेशमा जानेहरुको लाम लाग्ने गरेको छ । त्यो देख्दा प्रत्येक नेपालीको मन रुन्छ । ति परिवारहरुको बिजोग देखिरहेका छौँ ।’
अध्यक्ष नेपालले चाडपर्वले चिन्तालाई कम गराउने बताउनु भयो । उहाँले समाजको वास्तविकता उजागर गर्ने नाममा मान्छेमा नकारात्मकताको मात्रै सन्देश दिइरहेको बताउनु भयो । तिजले नेपाली महिलाहरुको अनुहारमा सधैँ उज्यालो छर्न सक्नुपर्ने बताउनु भयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता