भारतले आफूलाई राम्रो ‘रेस्पोन्स’ गरेको कांग्रेस बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ
Read Time = 4 mins
काठमाडौं । परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो भारत भ्रमण सफल भएको जानकारी गराउनुभएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकमा उहाँले आफूले यही भदौ २ देखि ६ गतेसम्म गरेको भारत भ्रमण सफल भएको जानकारी गराउनुभएको हो । नेपाल र भातरबीचको आपसी सद्भाव अभिबृद्धि गर्न भ्रमणले उल्लेखनीय भूमिका निर्वाह गरेको उहाँले बताउनुभएको थियो ।
परराष्ट्रमन्त्री डा राणा भारतको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्कनुभएको हो । कांग्रेस केन्द्रीय समितिको आजको बैठकमा उहाँले यस भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई मजबुत तुल्याउन योगदान पुगेको विश्वास आफूले लिएको पनि बताउनुभयो । उहाँले नेपालमा ठूला पार्टी मिलेर बनेको स्थायी प्रकृतिको सरकारलाई भारतले राम्रो ‘रेस्पोन्स’ गरेको आफूले पाएको अनुभव सो बैठकमा सुनाउनुभएको थियो ।
मन्त्री डा राणाले आफूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ता गरेको र ती वार्तामा नेपालको हित र चासोका सबै विषयहरु राखेको बताउँदै यसबाट आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरुका माध्यमबाट सहयोग र सहकार्य थप प्रबद्र्धन गर्न मार्गदर्शन गरेको उल्लेख गर्नुभएको थियो ।
महिलाको प्रतिनिधित्व बढाऔँ, अनुशासनमा ध्यान दिउँ
बैठकमा फरक प्रसङ्गमा मन्त्री डा राणाले कांग्रेसले राज्यका हरेक निकायमा महिलाको प्रतिनिधित्वको विषयलाई थप ध्यान दिनुपर्ने धारणा राख्नुभएको थियो ।
उहाँले भन्नुभयो, “कतिपय प्रतिनिधिमण्डमा महिलालाई नै सहभागी गराउँ भन्दा पनि त्यो तहमा महिला उपलब्ध छैनन् । त्यसैले यस्ता विषयमा अब हाम्रो पार्टीले अझै ध्यान दिनुपर्छ । कांग्रेसको समावेशिताको नीतिकै कारण उच्च तहमा महिला पुगेका पनि छन् । यसलाई थप बढाउनु जरुरी छ । पार्टी या अन्यत्र पनि पदाधिकारी तहमा महिलाको सहभागिता गराउनु जरुरी छ । यो माग मैले बारम्बार राख्दै आएको छु र आज पनि राख्दछु ।”
पार्टीभित्र अनुशासन अति जरुरी रहेको पनि बताउनुभयो । पार्टीको प्राण भनेको अनुशासन हो भन्दै उहाँले गएको संसदीय निर्वाचनमा पनि पार्टीभित्रको अन्तर्घातका कारण कांग्रेसका कैयौँ उम्मेदबारले झिनो मतान्तरले निर्वाचन हारेको वास्तविकता बुझेर पार्टीमा अनुशासन कायम गर्नेतर्फ सबैको ध्यान जानुपर्ने धारणा व्यक्त गर्नु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts