बोत्सवाना – बोत्सवानामा विश्वको दोस्रो ठूलो दुई हजार चार सय ९२ क्यारेटको विशाल हिरा फेला परेको क्यानेडाली उत्खनन कम्पनीले बिहीबार घोषणा गरेको छ ।
उत्तरपूर्वी बोत्सवानाको कारोब हिरा खानीबाट एक्स–रे प्रविधि प्रयोग गरेर हिरा फेला पारेको हिरा अन्वेषण तथा खानीसम्बन्धी कम्पनी ‘लुकारा डायमन्ड कर्पोरेशन’ विज्ञप्तिमा जनाएको छ ।
लुकाराले हिराको मूल्य वा गुणस्तरबारे कुनै जानकारी उल्लेख गरेको छैन । तर क्यारेटको सन्दर्भमा यो सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको तीन हजार १६ क्यारेटको कलिनन हिरापछिको दोस्रो ठूलो हिरा हो ।
“यो असाधारण दुई हजार चार सय ९२ क्यारेटको हिरा फेला परेकोमा हामी अत्यन्तै खुसी छौँ”, लुकाराका अध्यक्ष विलियम ल्याम्बले विज्ञप्तिमा भन्नुभयो ।कम्पनीले सार्वजनिक गरेको तस्बिरले यो हिरा हातको हत्केलाजस्तै ठूलो भएको देखाएको छ ।
यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा ठूलो कच्चा हिरामध्ये एक हो । ठूलो, उच्च मूल्यको हिरा पहिचान र संरक्षण गर्न सन् २०१७ मा स्थापना गरिएको कम्पनीको ‘मेगा डायमण्ड रिकभरी एक्स–रे’ प्रविधि प्रयोग गरेर यो हिरा पत्ता लगाइएको विज्ञप्तिमा जनाइएको छ ।
बोत्सवानाका राष्ट्रपति मोक्ग्वीत्सी मासिसीले बिहीबार यो विशाल ढुङ्गाको अवलोकन गर्नुभएको छ । उहाँको सरकारले यो विश्वको दोस्रो ठूलो हिरा भएको बताएको छ ।
युरोपको सबैभन्दा ठूलो अनलाइन हिरा व्यवसाय ‘७७ डायमण्ड’ का प्रबन्ध निर्देशक टोबियास कोर्मिन्डले यो कलिनन हिरापछि फेला परेको सबैभन्दा ठूलो कच्चा हिरा भएको बताउनुभयो ।“यो खोजका लागि धेरै हदसम्म नयाँ प्रविधिलाई धन्यवाद दिनुपर्छ”, उहाँले भन्नुभयो ।
बोत्सवाना विश्वको सबैभन्दा ठूलो हिरा उत्पादकहरू मध्ये एक हो । यसको आयको मुख्य स्रोत कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ३० प्रतिशत र यसको निर्यातको ८० प्रतिशत हिरा व्यवसायसँग सम्बन्धित छ ।
बिहीबार खोजको घोषणा हुनुअघि बोत्सवानामा फेला परेको सबैभन्दा ठूलो हिरा सन् २०१९ मा कारोव खानीमा लुकाराले उत्खनन गरेको एक हजार सात सय ५८ क्यारेटको ढुङ्गा थियो र यसको नाम सेवेलो राखिएको थियो ।
लुकाराले सन् २०२१ मा पनि उही एक्स–रे प्रविधि प्रयोग गरेर बोत्सवानामा एक हजार एक सय ७४ क्यारेटको हिरा फेला पारेको थियो ।
हीरा के हो, कसरी बन्छ ?
‘किम्बरलाइट पाइप’ नामक विशेष प्रकारको चट्टान पृथ्वीको सतहभन्दा करिब १६० किलोमिटर तल पाइन्छ । जब म्याग्मा पृथ्वीको गहिरो दरारबाट बग्छ र एक ठाउँमा जम्मा हुन्छ, तब 'किम्बरलाइट पाइप' बन्छ ।
पृथ्वी भित्र धेरै उच्च दबाव र तापमान को कारण, कार्बन क्रिस्टल बिस्तारै हीरा मा परिणत हुन्छ । भनिन्छ कि हीरा १०० प्रतिशत कार्बनबाट बनेको हुन्छ, यदि यसलाई ७६३ डिग्री सेल्सियसमा चुलोमा तताइयो भने, संसारको सबैभन्दा बलियो पदार्थ हीरा जलेर कार्बन डाइअक्साइड ग्यासमा परिणत हुन्छ । भाँडोमा हिराको खरानी पनि बाँकी हुदैन ।
इन्टरनेशनल इन्स्टिच्युट अफ जेमोलोजीका अनुसार प्राकृतिक हीरामा ९९।९५ प्रतिशत कार्बन हुन्छ भने ०।०५ प्रतिशत अन्य पदार्थ हुन्छ । यी कम हुन सक्छन् र तिनीहरूले हीरा र यसको आकारको चमक बढाउन वा घटाउन सक्ने बताइएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts