काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई) अन्तर्गत युवा उद्यमी मञ्च(सिएनआइवाइइएफ) को अध्यक्षमा आशिष अग्रवाल चयन हुनुभएको छ । मञ्चको वार्षिक साधारणसभाले सन् २०२४/२०२५ का लागि अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिमा मनिष श्रेष्ठ (लर्निङ चेयर), सुगम घिमिरे (मेम्बर इन्टिग्रेसन चेयर), निदा दुन मल्ल(मेम्बरसिप चेयर), पुनित अग्रवाल (फाइनान्स चेयर), अंकुर अग्रवाल (नेटवर्क एण्ड कम्युनिकेसन चेयर), चिराग सरावागी (ग्रोथ एण्ड एक्सपान्सन चेयर) र साइनी खेतान (स्टार्टअप चेयर) निर्वाचित हुनुभएको छ । सन् २०२३/२०२४ को अध्यक्ष अनुराग गोयल हुनुहुन्थ्यो ।
नयाँ पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै सिएनआई अध्यक्ष राजेशकुमार अग्रवालले युवासँग सम्बन्धित विषयमा अनुसन्धानमा आधारित भएर सरकार तथा नियामकीय निकायहरूलाई नीतिगत सुझाव दिन मञ्चलाई आग्रह गर्नुभयो । उहाँले देशमा रोजगारी बढाउन, औद्योगीकरण विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीलाई प्रोत्साहनमा जोड दिनुभयो । मञ्चका निवर्तमान अध्यक्ष अनुराग गोयलले नयाँ टिमले संस्थालाई नयाँ उचाइमा पु¥याउने गरी काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
स्टार्टअप र युवा उद्यमीलाई प्रोत्साहनको खाँचो रहेको भन्दै नवनिर्वाचित अध्यक्ष अग्रवालले देशमै केही गर्ने चाहना भएका युवालाई प्रोत्साहन गर्ने खालका गतिविधि गर्ने बताउनुभयो । व्यवसाय क्षेत्रमा सन् २०१३ देखि आबद्ध अग्रवाल टौरस फर्माका निर्देशक हुनुहुन्छ । उहाँ मञ्चमा सन् २०१९ देखि सक्रिय हुनुहुन्छ । परिसंघ युवा उद्यमी मञ्च सन् २००८ मा गठन भएको परिसंघको युवा संगठन हो ।






