काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको यशोधरा गाउँपालिकाको सिनियर अनमी (अधिकृत छैठौं) पदमा कार्यरत सरस्वती ओली क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएको आरोपमा अख्तियारले बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
नेपाल स्वास्थ्य सेवाको अधिकृत छैठौं तहमा स्तर बृद्धि भई सिनियर अनमीमा काम गर्दा उनले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएपछि अख्तियारमा उजुरी परेको थियो । उजुरीमाथि छानबिन गर्दा सरस्वतीले भारतबाट ल्याएर पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको हो ।
‘सरस्वतीले नक्कली प्रमाणपत्र पेश गरी लाभ एवं सुविधा लिएको पाइएको छ,' अख्तियारले दायर गरेको आरोपपत्रमा भनिएको छ, ‘उनले प्रचलित भ्रष्टाचार निवारण ऐनमा परिभाषित कसुर गरेको पुष्टि हुन आएको छ । यसर्थ उनलाई सोही ऐनबमोजिम सजाय हुन मागदाबी लिई बिहीवार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।’






