काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाको श्री जगत्रदेवी स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेब हिमा डुम्रे न्यौपानेमाथि नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर जागिर खाएको आरोप विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
अधिकृत (छैटौं तह) पदमा कार्यरत उनीमाथि आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर भ्रष्टाचार गरेको आरोप लगाउँदै बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनले भारतबाट हाइस्कूल तहको नक्कली शैक्षिक प्रमाणपत्र ल्याएर पेश गरी लमजुङको श्री करापु उपस्वास्थ्य चौकीमा ग्रामीण स्वास्थ्य कार्यकर्ताको नियुक्ति लिएको पाइएको अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सोही नक्कली प्रमाणपत्रका आधारमा हिमा अहिले जगत्रदेवी स्वास्थ्य चौकीमा अधिकृत तहमा स्थायी रुपमा कार्यरत रहेको जनाउँदै अख्तियारले उनीमाथि भ्रष्टाचारको आरोप लगाएको हो ।






