झापा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुक परिवर्तनको सबल नेतृत्व कांग्रेसले मात्रै गर्न सक्ने बताउनु भएको छ । कांग्रेस लोकतन्त्रको संवाहक भएको दाबी गर्दै नेता सिटौलाले त्यस्तो जिकिर गर्नु भएको हो।
"हरेक परिवर्तनको नेतृत्व अग्रमोर्चामा रहेर कांग्रेसले गरेको छ " गृहनगर भद्रपुरमा बुधबार आयोजित पार्टी कार्यक्रममा उहाँले भन्नुभयो," आगामी दिनमा पनि मुलुक परिवर्तनको नेतृत्व कांग्रेसले नै गर्नुपर्छ, त्यो काम कांग्रेसले अवश्य नै गर्छ ।"
राष्ट्रियसभा सदस्यसमेत रहनु भएको सिटौलाले राजनीतिप्रतिको नकारात्मक सोच त्याग्न आमनागरिक र पार्टी कार्यकर्तालाई आग्रहसमेत गर्नुभएको छ ।
सबै नीतिको सर्वोत्तम नीति राजनीति भएको चर्चा गर्दै पार्टीका पूर्वमहामन्त्री सिटौलाले राजनीतिप्रतिको नकारात्मक धारणा त्याग्न आग्रह गर्नुभएको हो । उहाँले सकारात्मक सोच विकास र राजनीतिप्रतिको नकारात्मक धारणा बदल्नु पर्नेमा जोड दिनुभयो ।
तीन दिन अघि झापामा नै भएको एक कार्यक्रममा महामन्त्री विश्वप्रकाश शर्माले समाजमा बढ्दो आक्रोशका कारण मानवीय संवेदना कमजोर भएकाले सबै पक्षलाई संयमित हुन आग्रह गर्नुभएको थियो । झापाली नेताद्व्यको समान प्रकृतिको यो धारणाले कांग्रेस समाजमा बढ्दो नकारात्मक सोच बदल्ने कसरतमा जुटेको पुष्टि गर्छ।
नेता सिटौला नेपाल महिला संघ झापाको आयोजना तथा ३ नम्बर क्षेत्रीय समितिको संयोजनमा भएको संघको क्षेत्रस्तरीय प्रशिक्षण कार्यक्रम उद्घाटन गर्न झापा आउनु भएको हो ।
प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल आचार्य, झापा कांग्रेस कार्यबाहक सभापति केशवराज पाण्डे, नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटी, संघ झापा अध्यक्ष टिका सिटौला , सचिव उर्मिला ढकाल, क्षेत्रीय सभापति उर्मिला गौतम, महिला नेतृद्वय शीला तामाङ र प्रमिला कोइरालाले आआफ्नो धारणा राख्नुभएको थियोे ।
कार्यक्रममा प्रजातान्त्रिक आन्दोलन र महिला संघका विषयमा कांग्रेस झापा सचिव कृष्ण हुमागाईं, नेतृत्व विकास र महिला विषयमा जिल्ला सदस्य रमेशकुमार दाहाल, संविधानमा महिला अधिकार र कानून विषयमा शान्ता पाठकले प्रशिक्षण दिनुभएको थियो।
झापा १, २ र ३ मा प्रशिक्षण सम्पन्न भइसकेको छ । क्षेत्र नम्बर ४ मा बिहीबार र ५ मा शुक्रबार प्रशिक्षण सञ्चालन हुने छ। नेपाल महिला संघ झापाको आयोजना र क्षेत्रीय समितिहरुको संयोजनमा झापाका पाँचवटै क्षेत्रमा महिला सशक्तीकरण र नेतृत्व विकासका विषय केन्द्रित प्रशिक्षण कार्यक्रम जारी छ ।






