काठमाडाैं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान संशोधन गर्ने काँग्रेस–एमालेको सहमतिमा शंका गर्ने ठाउँ रहेको बताउनुभएको छ ।
अध्यक्ष नेपालले कहिल्यै संविधान संशोधनको विषयमा नबोलेका दुई ठूला दलले मध्यरातमा संविधान संशोधन गर्ने कुरामाथि शंका गर्नु स्वभाविक रहेको अध्यक्ष नेपालको जिकिर थियो । मंगलवार नेपाली काँग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संविधान संशोधन गर्ने कुरा आवश्यक रहेको भएपनि दुई ठूला नेताहरुले सही गर्दैमा त्यो सम्भव नरहेको दाबी समेत गर्नुभयो ।
अध्यक्ष नेपालले संविधान संशोधनका लागि खुला बहस गर्नुपर्ने आवश्यकता पनि औंल्याउनु भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा बहुमत पाएर पनि राजनीतिक स्थायित्वको पक्षका काम गर्न नसकेको भन्दै त्यस्ता खालका गल्ति स्वीकार गरेर अघि बढ्नुपर्ने पनि अध्यक्ष नेपालले बताउनु भयो । उहाँले संविधानमा कतिपय विषय छलफल गर्नुपर्ने भएपनि त्यसलाई अचानक अघि बढाउने कुरा मान्य नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘हाम्रो संविधानले केही दिएको छ, केही दिएको छैन । संविधान अवश्य पनि छलफलको विषय बन्छ । तर त्यो मध्यरातमा गएर दुई वटा नेताले कागजमा सही गरेर हुन सक्नेवाला छैन । त्यो गर्नुपर्ने हो भने खुलस्त बहस गरौं । कहिल्यै बहसको कुरा नल्याउने, अचानक मध्य रातमा हस्ताक्षर । यसले नियतमाथि शंका खडा गर्ने कुरा स्वभाविक हुन्छ । त्यही कुरा मैले संसदमा पनि उठाएको थिए । त्यही कुरा मैले उठाएको छु सबै ठाउँमा पनि । मलाई बोल्न त मन थिएन । तर सन्दर्भ यहाँ आयो । प्रचण्डजीले मलाई के सुनाउनु भयो भने–आज आउनुभएको थियो । तपाई र मेरो सम्बन्ध भनेको अब अन्तिम सास फेरुन्जेलसम्म हो । स्वर्ग पनि सँगै जाने हो, नर्क पनि सँगै जाने हो । भोलिपल्ट त जाँदै थिए । बीच बाटोमा प्रचण्डजीको पिठयूमा ठयाक्क लात्ति परेपछि पछारिनु भयो उहाँ । त्यसो हुनाले ती सन्दर्भहरु धेरै नकोटयाउ । म प्रत्येक नेतालाई भन्न चाहन्छु–मम गर्नुहोस् । आफूमाथि केही कमजोरी भएका छन् । त्यसलाई स्वीकार गर्नुहोस् ।’
अध्यक्ष नेपालले नेताहरुले आफूले गरेका गल्ती स्वीकार गरेर अघि बढ्दा मात्रै मुलुकको हित हुने पनि बताउनु भयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts