म्याग्दी । सोमबार साँझ (हिजो) देखिको अविरल वर्षका कारण म्याग्दीको बेनी नगरपालिका-४ र मंगला गाउँपालिका २ को सीमानामा पर्ने फापरखेतमा पहिरो झरेपछि मंगलवार (आज) बिहानैदेखि बेनी-दरबाङ सडक अवरुद्ध भएको छ ।
पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको बेनी-दरबाङ सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि सडक अवरुद्ध हुने हुँदा पश्चिम म्याग्दीका बासिन्दाले सास्ती खेप्दै आएका छन् ।
अहिले वर्षा भइरहेको र माथिबाट पहिरो झरिरहेकाले पहिरो पन्छाएर यातायात संचालन गर्न नसकिएको सिंगा तातोपानीका व्यवसायि कुमार केसीले जानकारी दिनुभयो । सडक अवरुद्ध भएपछि यात्रुहरु र सिमलचौर, सिमलगायतका ठाँहरुबाट तातोपानी अध्ययनका लागि आउने विद्यार्थीहरुलाई समस्या भएको छ ।
धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका गाउँपालिका-६ का वडाध्यक्ष पथबहादुर रोकाले बताउनुभयो ।
“बेनी-दरबाङ सडक पाखो र भिरको बीचमा खनिएको छ । सडकमुनि म्याग्दी नदी छ । सडकमाथिको भिरमा गेगरैगेगर छ । खोल्सामा पर्ने सडकमाथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन”, अध्यक्ष रोकाले भन्नुभयो “म्याग्दी नदीको किनारमा बनाइएका पक्की पर्खालले कटान रोकिएको छ ।”उहाँका अनुसार सडकदेखि करिब दुई सयमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।
डेढदशक देखि करोडौं खर्चिएर स्तरोन्नती तथा हरेक बर्खाको समयमा दर्जनौ पटक मर्मत गरिएपनि पश्चिम म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी-दरबाङ सडकको फापरखेतको पहिरो झन झन भयानक बन्दै सधैँको टाउको दुखाइ बनेको छ ।
बेनी नगरपालिका-४ र मंगला गाउँपालिका-२ को सिमानामा पर्ने यो पहिरो झनै फराकिलो बन्दै जाँदा रोकथामका साथै बर्षा नहुदाँ समेत जोखिम बढेपछि आवतजावतमा समस्या भएको छ ।
पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि प्रारम्भिक अध्ययनमै सिमित भएपछि अहिले पश्चिम म्याग्दीका तीन स्थानीय तहबाट सदरमुकाम बेनीसम्म आउनजान पनि निकै समस्या हुने गरेको यात्रुको भनाई छ ।






