सरकार परिणाममुखी हुनुपर्ने कुरा स्वाभाविक हो । यो तर्क वितर्कको विषय होइन । चाहे जुनसुकै सरकार होस् जुन पार्टीको वा जस जसको गठबन्धनबाट बनेको सरकार होस् त्यो परिणाममुखी हुनैपर्छ । परिणाममुखी बन्न सकेन भने त्यस सरकारको कुनै काम हुँदैन । वर्तमान सरकराको एक घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस सरकारलाई परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कुन सरकारले कति परिणाम दिन सक्यो त्यसको मूल्यांकन अरूले गर्ने हो । सरकारमा रहेका पार्टी र व्यक्तिहरूले आफ्ना पालामा राम्रो काम गरेको र राम्रो परिणाम दिएको दाबी त सबैले गर्छन् नै ।
पूर्ववर्ती सरकारहरूले पनि यसरी नै आपूmले राम्रो काम गर्ने र राम्रो परिणाम दिने प्रतिबद्धता व्यक्त गर्ने गरेका थिए र आफू सरकारबाट हटिसकेपछि आफ्ना पालामा राम्रा कामहरू भएको भनेर निकै लामा फेहरिस्त प्रस्तुत गर्ने गर्दै आएका थिए । पूर्ववर्ती सरकारहरूका काम कारबाही देखेका नेपाली जनताले प्रजातन्त्रको तीन दशकभन्दा लामो समयदेखिको अभ्यासलाई हेरेर कसैमाथि पनि भरोसा नभएको ठानिरहेका छन् । आशा गरिएका विभिन्न दल र व्यक्तिहरूको परीक्षण हालसम्म आउँदा भइसकेको छ । जनताको परीक्षणमा कोही पनि अब्बल ठहरिन सकेका छैनन् । यस तीन वर्षको राजनीतिक अभ्यास र नेताहरूको रबैयाले गर्दा अबको आशाको दीप यो पार्टी र यो व्यक्ति हुनसक्छ भनेर कसैमाथि पनि जनताले भरोसा गर्न सकेका छैनन् ।
यो जनताको कमजोरी होइन जनताको विश्वास जित्न नसक्ने पार्टी र पार्टीका नेताहरूको कमजोरी हो । माओवादीको सशस्त्र विद्रोहपछि उनीहरूलाई समेत शान्ति प्रक्रियामा ल्याउने काम भएयता पनि पहिलेको भन्दा जनताले बढी आशा अपेक्षा गरेका थिए तर यो १८ वर्षको समयावधि अझै निराशामा परिणत हुन पुगेको छ । जसले देशको मुहार फेर्ने नारा र बाचा गरेर त्यत्रो ठूलो मानवीय तथा भौतिक क्षति हुनेगरी विद्रोह गरेका थिए तिनीहरूबाट जनतालाई अझै बढी निरास बनाउने काम भयो । सर्वहाराका प्रतिनिधिका रूपमा सत्तामा पुगेका उनीहरूबाटै इतिहासमा सबैभन्दा बढी अनियमितता र भ्रष्टाचारहरू हुन पुगे । उनीहरूको विलासी जीवन मध्ययुगका निरंकुश राजाहरूको शैलीलाई सम्झना गराउने खालको भयो ।
पछिल्लो समयमा तुलनात्मक रूपमा युवा उमेरका नेताहरूको नेतृत्वमा सरकार सञ्चालन भए । यसबाट जनतामा आशा चुलिनु स्वाभाविक थियो । यस अवधिमा नेपाली कांग्रेसका सभापति देउवाबाहेक अरू जो-जो प्रधानमन्त्री भए ती सबै कम्युनिष्ट पार्टीबाट भएका थिए । देशको मुहार फेर्ने, नयाँ नेपाल निर्माण गर्ने, सामन्ती संस्कार बदल्ने जस्ता अनेकौं मीठा आश्वासन दिएर सत्तामा आएका राजनीतिक पार्टी र नेताहरूबाट पनि सोचेजस्तो परिणाम दिन नसकेको कारण नेपालको राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थामा विद्यमान स्थितिभन्दा सुधार हुन सकेन । सुधारको कुरा त फरक भयो विद्यमान स्थिति नै पनि खल्बलिन पुग्यो । हालको नेपाल त्यही बिन्दुमा आइपुगेको छ ।
यसलाई नेपालको दुर्भाग्यका रूपमा लिनुपर्ने हुन्छ । अनेकौं उतारचढाव झेल्दै र छिटो छिटो सरकार परिवर्तन गर्दै आएका नेपालका राजनीतिक पार्टीहरूले २०७९ साल मंसिरमा भएको संसद्को निर्वाचनपछिको दुई वर्षको अन्तरालमा चारपटक सरकार बदलिसकेका छन् । तीनपटकको सरकारको नेतृत्व माओवादी पार्टीका अध्यक्ष प्रचण्डले गर्नुभएको छ भने हाल नेकपा एमालेका अध्यक्ष ओलीले नेतृत्व गरिरहनुभएको छ । यसपूर्व तेस्रो ठूलो माओवादी दलको नेतृत्व थियो भने यस सरकारमा दोस्रो ठूलो दल एमालेको नेतृत्व रहेको छ । वर्तमान सरकारमा नेपाली कांग्रेस र एमालेको गठबन्धन रहेको छ । प्रधानमन्त्री एमालेबाट केपी ओली रहनुभएको भए पनि यस सरकारमा नेपाली कांग्रेसको पनि उत्तिकै भूमिका रहेको छ ।
यस अर्थमा नेपाली कांग्रेसका सभापतिले बोलेको कुरा पनि अर्थपूर्ण मानिन्छ । उहाँले यो सरकार परिणाममुखी बन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सरकार परिणाममुखी बन्नुपर्छ नै । परिणाममुखी बन्नु सरकारको दायित्व नै हो । यो भनिरहनुपर्ने कुरा होइन । कुनै सरकार परिणाममुखी बन्न सकेन भने त्यो सरकार सरकार नै होइन । यस अर्थमा सरकारका प्रमुख घटक नेपाली कांग्रेसका सभापति देउवाले भन्नुभएको कुरा नौलो भने होइन । सरकार परिणाममुखी त बन्र्नैपर्छ । अगाडिका सरकारहरूले राम्रो परिणाम दिन सकेनन् भनेर बनेको यो सरकार पनि परिणाममुखी बन्न सकेन भने पहिलेका सरकार र यस सरकारका बीच कुनै अन्तर हुनेछैन । यो सरकार संसद्को प्रमुख तथा दोस्रो पार्टीहरू मिलेर बनेको हुँदा यो अरू सरकारभन्दा फरक पनि छ ।
यो सरकार धेरै शक्तिशालीसमेत छ । यसले चाहेको कुरा पूरा गर्न सक्छ । त्यस कारण सरकारलाई परिणाममुखी बनाउन सजिलो पनि छ । यो भन्ने कुरामात्र होइन गरेरै देखाउने कुरा हो । सभापति देउवाले आफ्ना पार्टीका मन्त्रीहरूलाई निर्देशन दिने सन्दर्भमा दैनिक १८-२० घण्टासम्म काम गर्न निर्देशन दिनुभएको छ । उहाँले प्रधानमन्त्रीले नसुने आफूलाई भन्नूसमेत भन्नुभएको छ । यसबाट निश्चय काम गर्ने मन्त्रीहरूमा उत्साह र मनोबल थपिन गएको छ भन्न सकिन्छ । झण्डै दुईतिहाइको समर्थनमा बनेको यस सरकारले आफ्नो कार्यकालमा प्रशंसा गर्न योग्य कामहरू गर्नेछ र जनतामा चुलिएको निराशालाई हटाउनेछ भनेर अपेक्षा गर्न सकिनेछ । सरकार भरखरै मात्र बनेको छ । यसको कार्यकालको अवधि र परिणाममुखी कार्य भने प्रतीक्षाको विषय हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता