काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले दूध किसानको रकम भुक्तानीमा आफूले कुनै सम्झौता नगर्ने बताउनुभएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको समन्वयमा आायोजित दुग्ध व्यवसायीसहित सरोकारवालाको छलफलमा उहाँले किसानले उधारोमा दूध दिने डेरी उद्योगीले नगदमा बिक्री गर्ने र सो रकम अन्यत्र लगाउने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभयो । आफूले पद सम्हालेदेखि दूध किसानका समस्या समाधान गर्नेतर्फ केन्द्रित भएको भन्दै मन्त्री अधिकारीले दुग्ध विकास संस्थान (डिडिसी) मार्फत् किसानलाई बाँकी भुक्तानी प्रयासमा लागिरहेको पनि बताउनुभयो ।
निजी डेरीलाई पनि किसानको रकम यथाशीघ्र भुक्तानी गर्न निर्देशन दिँदै उहाँले किसानको रकम भुक्तानीका लागि आफूले मलको रकम केही समय रहने भएकाले सोही रकम चलाउन अर्थ मन्त्रालयसँग कुरा गरेको तर अर्थले रकमान्तर गर्ने अवस्था अहिले नरहेको जानकारी गराएको भन्दै किसानले गाई भैंसी पाल्न छोड्ने अवस्था आउन नदिन सरकारसँगै निजी क्षेत्र पनि त्यत्तिकै जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
दूधको गुणस्तरीयतालाई पनि ध्यान दिन निजी तथा डिडिसीलाई निर्देशन दिँदै मन्त्री अधिकारीले उपभोक्ताले बहिस्कार गर्ने अवस्था आउन सक्नेतर्फ समेत सचेत गराउनुभयो । मन्त्रालयको पहिलो काम नै किसानलाई प्रोत्साहन गर्ने रहेको भन्दै उहाँले दुग्ध क्षेत्रमा देखिएका समस्या समाधानका लागि कस्तो कानुनको आवश्यक छ, सबै सरोकारवालासँग छलफल गर्न आफू तयार रहेको बताउनुभयो ।
डेरी व्यवसायीले भने डेरी क्षेत्रमा १८ प्रतिशत योगदान निजी क्षेत्रको रहेको उल्लेख गर्दै सरकारले दुग्धजन्य पदार्थ निर्यातमा अनुदान व्यवस्थाका साथै लागत मूल्य घटाउने उपायतर्फ ध्यान दिनुपर्ने बताएका थिए । मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले दूध उत्पादन बढ्दै जाँदा व्यवस्थापन कसरी गर्ने भन्ने सम्बन्धमा अध्ययन गर्न बोर्डलाई निर्देशन दिनुभयो । उहाँले चाडपर्व नजिकिएकाले मेला आदि गरेर भए पनि मौज्दात बिक्रीको व्यवस्था मिलाउन डिडिसीलाई पनि निर्देशन दिनुभयो । बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रप्रसाद यादवले दुग्ध किसानको भुक्तानीमा सबै पक्ष गम्भीर बन्नुपर्ने बताउनुभयो । दूधको मूल्य समायोजन वैज्ञानिक रहेको दाबी गर्दै उहाँले किसानका समस्यालाई बोर्डले गम्भीर रूपमा लिएको बताउनुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts