काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा भारतको पाँचदिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली पुग्नुभएको छ । आइतबार मन्त्री राणालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपालका कार्यबाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखा प्रमुख अनुराग श्रीवास्तवले स्वागत गर्नुभयो । मन्त्री राणा भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा निस्कनुभएको हो । परराष्ट्रमन्त्री नियुक्त भएपछि राणाको यो पहिलो विदेश भ्रमण हो । भ्रमणका क्रममा मन्त्री राणाले भारतीय समकक्षी विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । ‘दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ,’ मन्त्रालयको भनाइ छ ।
नयाँ दिल्लीमा राणाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रमको गृहकार्य भए पनि ठोस नतिजा भने आइसकेको छैन ।
दिल्लीस्थित नेपाली दूतावासले भेटवार्ताको लागि भारतीय विदेश मन्त्रालयसँग मिलेर प्रधानमन्त्री कार्यालयसँग कुराकानी गरिरहेको परराष्ट्र स्रोतले बतायो । परराष्ट्रमन्त्री राणाले भारतका प्रधानमन्त्री मोदीलाई भेटेर नेपाल भ्रमणको निम्तो दिने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । परराष्ट्र मन्त्रालयका एक अधिकारीले भन्नुभयोे, ‘प्रधानमन्त्री मोदीसँग भेट्ने कार्यक्रम तालिकामा राखिएको छैन, भेटको भारतमै छिनोफानो हुन्छ ।’ भारतीय प्रधानमन्त्री मोदीसँग कुन समयमा भेट्ने समय मिलाउने प्रयास भइरहेको स्रोतको भनाइ छ ।
त्यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भारतको भ्रमणको विषयमा पनि त्यहाँ कुराकानी हुने बताइएको छ । प्रधानमन्त्री ओली पनि भारतको भ्रमण गर्ने तयारीमा हुनुहुन्छ । त्यसअघि भदौ १८ मा थाइल्याण्डमा हुने बिमस्टेक सम्मेलनमा भाग लिन उहाँ त्यता जाने बुझिएको छ । परराष्ट्र मन्त्रालयले त्यसको तयारी पनि थालिसकेको छ । थाइल्याण्डबाट फर्केपछि उहाँ अमेरिका जानुहुने छ । असोज ८ गतेदेखि सुरु हुने संयुक्त राष्ट्र संघको ७९औँ महासभामा भाग लिन अमेरिका जाने परराष्ट्र स्रोतले जनाएको छ ।
मन्त्री राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल लगायतका परराष्ट्रका वरिष्ठ अधिकारीहरूले बिदाइ गरेका थिए । मन्त्री राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी छन् । मन्त्री राणाको यो भ्रमण नेपाल भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको मन्त्रायले जनाएको छ । राणा यही भदौ ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।
नेपाल-भारत सम्बन्ध सुधार्ने अनुकूल अवसर : पूर्वराजदूत उपाध्याय
भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले नेपाल-भारत सम्बन्ध सुधार्न दुवैतिर अनुकूल सरकार भएको बताउनुभएको छ । नवनियुक्त परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको भारत भ्रमणको विषयमा कुराकानी गर्दै उपाध्यायले दुई देशीय सम्बन्ध सुधारका लागि अनुकूलको सरकार बनेको बताउनुभयो । परराष्ट्रमन्त्री डा. राणाले इमानदारीसाथ प्रयास गरेमा सम्बन्ध सुधारका धेरै काम गर्नसक्ने उहाँको बुझाइ छ । नेपाल-भारत बीचको सम्बन्ध अन्य देशको भन्दा फरक भएकाले बोली र गराइलाई एकरूपता दिनुपर्ने उपाध्यायको जोड छ । समस्याको पहिचान गरेर राजनीतिक सम्बन्ध बलियो बनाउनुपर्ने, कूटनीतिक सम्बन्ध सुधार्न र राम्रो बनाउन दोहोरो चरित्र देखाउन नहुने उहाँको सुझाव छ । विगतको भन्दा बलियो सरकार भएकाले सम्बन्ध सुधार गर्न अवसर रहेको भन्दै उनले सामाजिक सञ्जाल र हल्का व्यवहार तथा टिप्पणीबाट बच्न परराष्ट्रमन्त्रीलाई सुझाव दिनुभयो । नेपालले सम्बन्ध विस्तारमा विगतमा धेरै गल्ती गरेकाले संवेदनशील भएर वार्ता एवं छलफल गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।






