काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेखोलामा गत साउन ३२ को हिमताल बिस्फोट र त्यसबाट भएको क्षतिको प्रारम्भिक विवरणबारे आज जानकारी लिनुभएको छ ।
घटनास्थलमा पुगेर फर्किनुभएका रक्षामन्त्री मानवीर राई, जनप्रतिनिधि र सम्बन्धित निकायका उच्चाधिकारीबाट आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई सो विवरण अवगत गराइएको हो । त्यहाँको अवस्थाबारे जानकारी लिएपछि प्रधानमन्त्री ओलीले केन्द्र सरकारका तर्फबाट तत्काल गर्नुपर्ने काम र निर्णय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो अवसरमा रक्षामन्त्री राई, सङ्घीय सांसद सोनाम गेल्जेन शेर्पा, कोसी प्रदेशसभा सदस्य बुद्धिबहादुर राजभण्डारी, मुख्यसचिव लीलादेवी गड्तौला, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल, गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पा, उपाध्यक्ष टासी ल्हमु शेर्पालगायत उपस्थित हुनुहुन्थ्यो ।
स्थलगत प्रतिवेदनमा तत्कालका लागि खाद्यान्नलगायतका राहत र क्षतिपूर्तिका साथै बिजुली, टेलिफोनलगायत अत्यावश्यक सेवा सञ्चालन हुनुपर्ने उल्लेख छ । क्षतिको विस्तृत विवरण अध्ययन गरी अन्य हिमतालको जोखिमको अवस्थाबारे विभिन्न क्षेत्रका विषय विज्ञको संयुक्त टोलीबाट अध्ययन हुनुपर्ने र पुनःनिर्माणको योजना बनाइ कार्यान्वयन गर्नुपर्ने जनाइएको छ ।
विस्फोटपछिको बाढी र पहिरोका कारण १७ घर र एक विद्यालय ध्वस्त भएको थियो । दिउँसोको समयमा घटना भएको र पूर्वसूचना प्रणाली अपनाइएकाले मानवीय क्षति हुनबाट जोगिएको प्रतिवेदनमा उल्लेख छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts