काठमाडौं । वाणिज्य बैंकहरूले फेरि पनि निक्षेपको ब्याजदर घटाएका छन् । १८ वाणिज्य बैंकहरूले भदौ महिनाका लागि निक्षेपको ब्याजदर सार्वजनिक गर्दै निक्षेपको ब्याजदर घटाएका हुन् । १८ मध्ये १३ बैंकले ब्याजदर घटाएका छन् भने चार बैंकले साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् । एउटा बैंक अर्थात् कृषि विकास बैंकले मात्रै ब्याजदर बढाएको छ । साउनमा संस्थागत मुद्दती निक्षेपमा ४.०१ प्रतिशत ब्याजदर दिएको वाणिज्य बैकले भदौका लागि ४.२५ प्रतिशत ब्याजदर कायम गरेको हो । भदौमा एनआइसी एसिया र एनएमबी बैंक सबैभन्दा बढी ब्याज दिनेमा परेका छन् । उल्लेखित दुई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ७.४१ प्रतिशत ब्याज दिने भएका छन् । सबैभन्दा कम ब्याज दिने बैंक नेपाल बैंकको अधिकतम ब्याजदर ५.२५ प्रतिशत रहेको छ ।
भदौमा प्राइम बैंकले संस्थागततर्फ ४.७५ प्रतिशत र व्यक्तिगततर्फ ६.७५ प्रतिशत, नबिल, हिमालयन र स्ट्याण्डर्ड चार्टर्ड बैंकले संस्थागततर्फ छ प्रतिशत र व्यक्तिगततर्फ सात प्रतिशत, लक्ष्मी सनराइज बैंकले संस्थागततर्फ ५.५ प्रतिशत र व्यक्तिगततर्फ ६.५ प्रतिशत र प्रभु बैंक, एभरेस्ट बैंकले संस्थागततर्फ ६.१ प्रतिशत र व्यक्तिगततर्फ ५.१ प्रतिशत, सानिमाले संस्थागततर्फ ४.९ प्रतिशत र व्यक्तिगततर्फ ६.२ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।
त्यसैगरी नेपाल एसबिआई बैंकले संस्थागततर्फ ५.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशत, सिद्धार्थ बैंकले संस्थागततर्फ ५.५ प्रतिशत र व्यक्तिगततर्फ ६.५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ६.०५ प्रतिशत र संस्थागततर्फ सात प्रतिशत, प्राइम कमर्सियलले व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले व्यक्तिगततर्फ ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत, सिटिजन्स बैंकले व्यक्तिगततर्फ ६.५ प्रतिशत र संस्थागततर्फ पाँच प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । बैंकहरूले भदौका लागि साउनको तुलनामा औसतमा ०.२३ प्रतिशतका दरले ब्याजदर घटाएका हुन् । बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ६.४९ प्रतिशत छ । साउनमा बैंकहरूको यस्तो ब्याजदर ६.७२ प्रतिशत थियो । संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.२४ प्रतिशतले घटेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता