
देशको आम्दानीका स्रोेतहरू आजकाल बदलिँदै गएका छन् । आयको अधिकांश स्रोत कमजोर हुँदैगएका छन् र एकमात्र भरपर्दो स्रोत विप्रेषण बन्दै गइरहेको छ । विगत केही दशक यता कृषि हाम्रो देशको भरपर्दो आर्थिक स्रोत मानिन छोडेको छ । त्यस पहिले कृषि देशको मेरुदण्ड मानिन्थ्यो । नेपाललाई कृषि प्रधान देश मानिने गथ्र्यो । नेपालमा धेरै उद्योगहरू स्थापना र सञ्चालन हुँदै आएका थिए तर हाल तीमध्ये धेरैजसो बन्द भइसकेका छन् । धेरै पहिलेको कुरा होइन केही दशक पहिलेको मात्र कुरा गर्ने हो भने पनि वैदेशिक रोजगारमा जानेहरूको संख्या नगन्य थियो । कमाउन वा अध्ययन गर्न जाने थलो भनेको भारतमात्र थियो, समुद्रपारि जाने चलन थिएन । तर, हालका दिनहरूमा नेपालीहरू विश्वका विभिन्न देशका कुनाकुनामा पुगेका छन् ।
उनीहरूको श्रमबाट आर्जित विप्रेषण (रेमिटेन्स)बाट नै हाल नेपालको करिब आधा जति अर्थिक भार धान्ने गरेको छ । यसरी विदेश जानेहरू सबैको अवस्था राम्रो भइरहेको छ र तिनले राम्ररी आर्जन गरिरहेका छन् भन्ने होइन । गएका सबैले काम पाउँछन् भन्ने छैन र तिनीहरू जानासाथ फर्किएका पनि छन् । काम पाए पनि यहाँबाट पठाउने कम्पनीहरूले जे जस्तो भनेर पठाएका हुन्छन् त्यस अनुसारको काम नपाएर जे जस्तो काम पाइन्छ त्यही काम गर्न तिनीहरू बाध्य भएर विदेशमै बसिरहनेहरूले राम्रो आर्जन गर्न सकिरहेका छैनन् । जोखिमपूर्ण काम गर्नुपरेकोे हुँदा कतिले त ज्यानै गुमाएका पनि छन् । वर्षेनी यसरी ज्यान गुमाउनेहरूको संख्या पनि धेरै ठूलो छ । काठको बाकसमा बन्द भएर धेरै संख्यामा त्यस्ता व्यक्तिहरूका शव आइरहेका हुन्छन् ।
श्रम बजारमा श्रम गर्न गएका र राम्रो काम पाएर राम्रो आर्जन गर्न सकेकाहरूले नेपाल पठाउने गरेको विप्रेषण नै त्यति ठूलो परिमाणमा हुनेगरेको छ जसले देशको वार्षिक बजेटको ठूलो हिस्सा ओगटेको छ । यसोभन्दा यो एक प्रकारले लज्जाको विषय पनि हो । यसै पनि हाम्रो देशको वार्षिक आयव्ययको विवरण (बजेट) घाटा बजेटका रूपमा बन्ने गरेको छ । विकसित देशहरूमा अन्य उद्देश्यले जानेहरूले त उतै घर बनाउने र बस्ने गरेका कारण तिनले राष्ट्रलाई आर्थिक सहयोग गरिरहेका हुँदैनन् । उनीहरू त्यस्ता सम्पन्न देशहरूमा पढ्न वा डिभी परेर जाने गर्छन् । त्यस्ता देशहरूमा बसेर रोजगारी वा व्यवसायसमेत गर्दै केही वर्ष बिताएपछि त्यही देशको स्थायी बसोवासको सुविधा पाउँछन् ।
कमाएको पैसा नेपाल पठाउँदैनन्, त्यहीँ लगानी गर्छन् । त्यस्ता देशहरूमा घरजग्गा जस्ता अचल सम्पत्तिसमेत सुरुदेखि नै किस्ताबन्दीमा लिन पाइन्छ । कमाएको पैसा जति किस्ता तिर्दै त्यतै खर्च गर्दै गर्नाले एकातिर नेपाल पठाउने पैसा बचत गर्न सक्दैनन् भने अर्कोतिर त्यहाँको वैभवशाली जीवन, राजनीतिक स्थिरता, कानुनको कढाइ र पालना जस्ता कुराले उतै आकर्षित बन्न पुग्छन् जसले गर्दा युरोपका विभिन्न मुलुक, अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापान जस्ता देशमा जाने नेपालीहरू फर्किने सोच बनाउँदैनन् र कमाएको पैसा नेपाल पठाउनेसमेत गर्दैनन् । तिनीहरूबाट नेपाललाई ठूलो आर्थिक सहयोग पुग्दैन । आफ्नै कमाइले ठूलो आर्थिक उन्नति गर्न नसके पनि आत्मनिर्भर रहँदै आएको हाम्रो देश पछिल्लो समयमा आर्थिक रूपमा पराधीन बन्दै गइरहेको छ ।
राजनीतिक कारणले यस्तो अवस्थाको सिर्जना हुन पुगेको हो । कृषिमा व्यावसायीकरण गर्नमात्र सक्ने हो भने पनि हाम्रो आर्थिक रूपका हुँदैआएको पराधीनता कम हुँदै जान सक्छ । हाम्रा सम्भावनाका क्षेत्रहरू त अरू पनि छन् । सबैभन्दा ठूलो आयआर्जनको क्षेत्र पर्यटन व्यवसाय बन्न सक्छ । पर्यटकीय आधार बन्न सक्ने अनेकौं सम्भावना हामी सामु छन् । तिनको यथोचित सदुपयोग र उपयोग गर्न सके हाम्रो सम्पन्नताका आधार यिनै बन्न सक्छन् । वन पैदावार मात्रलाई उपयोग गर्न सक्ने हो भने पनि आर्थिक सम्पन्नताको आधार यही बन्न सक्छ । उपयोगविहीन बनेर यस्ता बहुमूल्य वस्तुहरू त्यत्तिकै खेर गइरहेका छन् । त्यसतर्फ हाम्रो प्रयास पर्याप्त मात्रामा पुग्न सकेको छैन ।
हाम्रो परम्परागत व्यापारका माध्यमहरू अरू पनि थिए । प्राचीन कालदेखिको वैदेशिक व्यापारको चर्चा पूर्वीय सभ्यतामा हुँदै आएको थियो । कौटिल्यले आफ्नो अर्थशास्त्रमा नेपालका राडीपाखीहरूको चर्चा गरेका थिए । नेपालभोट तथा नेपाल-भारत व्यापार हाम्रो प्राचीन कालदेखिको नै हो । ती हाम्रा प्राचीन कालीन सम्पन्नताका आधारहरू थिए तर हालका दिनहरूमा तिनमा ह्रास आएका कारण हामी आफूसँग अथाह सम्पन्नता हुँदाहुँदै पनि अरूको देशमा काम गर्न जानुपरेको छ । यसरी काम गरेर विप्रेषणबाट देशलाई समृद्ध बनाउनेहरू विकसित देशमा जानेहरू होइनन् । तिनीहरू खाडी देश, मलेशिया, दुबई, कोरिया जस्ता देशहरूमा रातदिन शारीरिक श्रम गरेर पसिनाको मूल्य पठाउनेहरू हुन् ।
तिनको श्रमको मूल्यबाट देश चलाउन्ुपर्ने अवस्थामा हामी पुगेका छौं । यसलाई विडम्बना मान्नै पर्छ । आम्दानीभन्दा धेरै खर्च र बजेटभन्दा बढी ऋण पुगेको अवस्था चिन्ताको विषय हो । श्रम गर्नकै लागि एक वर्षमा साढे सात लाख नेपाली विदेशिएको तथ्यांक निश्चय सुखद् होइन । २४ अर्ब सरकारी ऋण पुग्नु र खर्च १४ खर्ब, आम्दानी साढे १० खर्बमात्र हुनुले देशको आर्थिक रूपमा देखिन पुगेको विपन्नता पुष्टि हुन्छ । देशको यो आर्थिक चित्र कहालीलाग्दो बन्नपुगेको छ । यस्तो अवस्थाबाट देशलाई माथि उठाउने योजना सरकारसँग हुनैपर्छ नत्र देश अझै विपन्नताको भासका भासिँदै जाने कुरामा दुई मत हुन सक्दैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच