काठमाडौं । नयाँ गठबन्धन सरकारको आगमनसँगै बढ्न थालेको सेयर बजार मौद्रिक नीतिपछि अझै उच्च अंकले बढिरहेको छ । साताको पहिलो दिन आइतबार सेयर बजारमा हालसम्मकै धेरै कारोबार भएको छ । आइतबार कुल २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको हो । यसअघि साउन २२ गते पनि २३ अर्ब ७१ करोडको कारोबार भएको थिएको छ । कारोबार रकमसँगै आइतबार नेप्से परिसूचक ९४.४६ अंक बढेर २८६० अंकमा पुगेको छ । २२५ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको सेयर भने घटेको छ ।
दुई कम्पनीको सेयर स्थिर रहेको छ । कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेकोमा लगानी, माइक्रोफाइनान्स र जीवन बिमा समूहको चार प्रतिशत धेरैले बढेको छ । यसदिन १७ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । नेशनल हाइड्रोपावर, नेरुद्दे मिर्मिरे लघुवित्त, एचआइडिसिएल, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत्, माथिल्लो तामाकोशी, शुभम् पावर, आत्मनिर्भर लघुवित्त, मिडसोलु हाइड्रोपावर, युनाइटेड इदी मर्दी, सिंगटी हाइड्रोपावर, रिडी पावर, अरुणभ्याली हाइड्रोपावर, एनआइसी एसिया लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर, अरुण काबेली पावर तथा शिवश्री हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको हो । तर, कुथेली बुखरी हाइड्रोपावरको भने १० प्रतिशतले घटेको छ । उच्च कारोबार भएको हिमालयन री र शिवम् सिमेन्टको क्रमशः एक अर्ब ५२ करोड र एक अर्ब १६ करोडको सेयर किनबेच भएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ ।
गत सात तीव्र उतारचढावका बाबजुद नेप्सेमा जम्मा १० अंंकको मात्र वृद्धि भएको थियो । अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् साउन १७ गते ५.२९ अंकले घट्दै नेप्से सूचक २७५५.६२ विन्दुमा अडिएकोमा गत साताका एकैपटक चार दिनपछि साउन २१ गते खुलेको बजारमा ४० अंकले नेप्से बढेको थियो । दोस्रो दिन एकसय ४५ अंकभन्दा बढीले नेप्से घट्दै २६ सय ५१ मा झरेको फेरि तेस्रो दिन एकसय आठ अंकले बढेर २७५९.६७ अंकमा पुगेको थियो । अन्तिम कारोबार दिन बिहीबार नेप्से ६.७० अंकले बढ्दै २७६६.३८ अंकमा पुगेको थियो । अर्थ समितिमा समेत सेयर बजारकै विषयमा बहस चलेपछि गत साता कारोबार भने ८२ अर्ब ७१ करोडमाथि पुग्यो ।






