झापा । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले जनताको त्याग र बलिदानको जगमा प्राप्त उपलब्धीलाई कुल्चेर गरिने संविधान संशोधन आफ्नो पार्टीलाई किमार्थ स्वीकार्न नहुने बताउनु भएको छ ।
झापाको बिर्तामोडमा आयोजित पार्टी प्रवेश तथा स्वागत कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै गजुरेलले संविधानसभा माओवादीको एजेन्डा भएको र त्यसबाट प्राप्त उपलब्धीको रक्षाका लागि पार्टीले कसैसँग सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । ‘सडक र सदनबाट सङ्घर्ष गरेर माओवादीले संविधान बनाएको हो’ उहाँले भन्नुभयो, ‘संविधान रक्षाका लागि सबै माओवादी घटक एक ठाउँमा उभिने अवस्था आएको छ।’
नेता गजुरेलले माओवादीको एजेन्डा संविधानसभा र अग्रगामी संविधानका उपलब्धी स्थापित हुन नदिन कांग्रेस र एमालेको सरकार बनेको संगीन आरोप लगाउनुभयो। ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिको स्वार्थ र दबाबमा दुई दल मिलेका हुन् ’ उहाँले भन्नुभयो, ‘संविधान संशोधन चाहेर पनि प्रमुख दुई दलले मात्रै गर्नै सक्दैनन् ।’
माओवादी जनयुद्धको नेतृत्व पश्चिमले गरेको बताउँदै नेता गजुरेलले अब समाजवादी क्रान्तिको नेतृत्व पूर्वले गर्ने र २०६४ सालको अवस्थामा मुलुक फर्कने जिकिर गर्नुभयो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उपमहासचिवबाट स्वेच्छिक राजीनामा दिनुभएको उहाँले दाहाल नेतृत्वको सरकारले जनपक्षीय काम गर्न थालेपछि सरकार परिवर्तन गरिएको दाबी गर्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य इन्द्रबहादुर आङ्बो मौसमले मुलुकको राजनीतिक परिवर्तन माओवादीकै कारण भएको बताउनुभयो । अहिलेको प्राप्त उपलब्धिको रक्षा गर्ने दायित्व पार्टीको रहेको बताउँदै उहाँले माओवादीलाई घेराबन्दी गर्न कांग्रेस एमालेले मध्यरातमा सहमति गरेको उल्लेख गर्नुभयो।
कांग्रेस एमाले २०४७ को संविधान उल्टाउन लागेको आरोप लगाउँदै उहाँले त्यसो गरिए सडक र सदनबाट सशक्त आन्दोलन गर्ने चेतावनी दिनुभयो । माओवादी कमजोर हुँदा जनताका अधिकार समेत धरासायी हुने बताउँदै उहाँले पार्टी रुपान्तरणसहित सशक्त बनाउनु पर्नेमा जोड दिनुभयो ।
पार्टीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले कांग्रेस र एमाले मिलेर प्राप्त जनअधिकार खोस्न खोजे जनता र माओवादी पार्टी मिलेर त्यसको प्रतिरोध गर्ने बताउनुभयो ।
कार्यक्रममा समाजवादी युवा संघ नेपालका कोशी प्रदेश अध्यक्ष टाइसन केरुङ, उपाध्यक्ष दिपेन लिम्बु, सहसचिव दिपेन जबेगु, प्रदेश सदस्य तेन्जिङ लामा, कांग्रेसका पूर्वमहासमिति सदस्य राजभक्त योङ्ग्या, एमाले झापाका पूर्वजिल्ला कमिटी सदस्य छवि गहतराज लगायत सयौँ युवा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
पार्टीका झापा अध्यक्ष राजु आचार्यले शनिबारको पार्टी प्रवेश कार्यक्रम ‘कास्टिङ’ मात्र भएको बताउँदै कांग्रेस एमालेका केन्द्रीय तहका नेतासहित ठूलो पंक्ति माओवादी केन्द्रमा प्रवेश गर्ने तयारीमा रहेको खुलाउनुभयो । उहाँले त्यस विषयमा नेताहरूका बीचमा निरन्तर छलफल भइरहेको र छिट्टै उहाँहरु पार्टी प्रवेश गर्ने जनाउनुभयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच