काठमाडौं । सत्तारूढ दल नेकपा एमालेमा व्यापक मनोनयनदेखि जिम्मेवारी हेरफेर सम्मका निर्णय भएका छन् । नेकपा एमालेले पार्टीका प्रदेश इञ्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । बिहीबार बसेको पार्टी सचिवालयले प्रदेश इञ्चार्ज तोकेको हो । बैठकले सचिवद्वय पद्मा अर्याल र लेखराज भट्टबाहेक अरू प्रदेश इञ्चार्जहरूको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी सचिव अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इञ्चार्ज रहनुभएको छ । बाँकी प्रदेशमा नयाँ इञ्चार्ज आएका छन् ।
कोशीको इञ्चार्जमा शेरधन राई, मधेशमा लीलानाथ श्रेष्ठ, बागमतीमा डा.राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इञ्चार्ज बन्नुभएको छ । यसअघि कोशीमा रघुवीर महासेठ, मधेशमा योगेश भट्टराई, बागमतीमा गुरुप्रसाद बराल र गण्डकीमा गोकर्ण विष्ट इञ्चार्ज हुनुहुन्थ्यो । बराल बढुवा भएर उपाध्यक्ष मनोनीत भएकाले इञ्चार्जको जिम्मेवारीबाट हट्नुभएको छ ।
सचिवहरू गोकर्ण, योगेश, रघुवीर र छविलाल विश्वकर्माले भने चुनाव जितकाले दोहोरो जिम्मेवारी नदिने नीतिअन्तर्गत इञ्चार्जबाट हटेको एमालेले जनाएको छ । यस्तै, नेकपा एमालेले पार्टी विदेश विभाग प्रमुखको जिम्मेवारी पार्टी सचिव रघुवीर महासेठलाई दिएको छ । कोशी प्रदेशको जिम्मेवारीबाट हट्नुभएका महासेठलाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिने सचिवालय बैठकले निर्णय गरेको छ । यो विभाग महासेठ आफैंले माग्नुभएको थियो । यसअघिका विदेश विभाग प्रमुख राजन भट्टराई भने बागमती प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ ।
नेकपा एमालेको उपाध्यक्षमा गुरुप्रसाद बराल मनोनीत हुनुभएको छ । बिहीबार बसेको पार्टी सचिवालयको बैठकले बराललाई उपाध्यक्ष मनोनीत गरेको हो । उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि रिक्त स्थानमा बराललाई मनोनीत गरिएको हो । एमाले उपाध्यक्ष सुवास नेम्वाङको २०८० भदौ २६ गते निधन भएको थियो ।
त्यसयता उपाध्यक्ष पद रिक्त थियो । यस्तै, बैठकले स्थायी कमिटी सदस्यमा पनि दुईजना मनोनीत गरेको छ । जसमा मुकुन्द न्यौपाने र मधेश प्रदेशका लीलानाथ श्रेष्ठ रहेको पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो । न्यौपाने पुराना नेता हुनुहुन्छ । उहाँ एकीकृत समाजवादीबाट फेरि एमाले फर्किनुभएको थियो । एमाले फर्किएका न्यौपानेसँगै सिराहाका श्रेष्ठलाई स्थायी कमिटीमा ल्याइएको हो ।
योगेशलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी
नेकपा एमालेले सचिव योगेश भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी तोकेको छ । बिहीबार बसेको सचिवालय बैठकले भट्टराईलाई संसदीय विभाग प्रमुखको जिम्मेवारी दिएको हो । संसदीय फाँटमा पार्टीको प्रभावकारी भूमिका र जनअपेक्षालाई सम्बोधन गर्न विभागले काम गर्ने प्रतिक्रिया दिँदै सचिव भट्टराईले भन्नुभयो, ‘संसदीय क्षेत्रमा रहेका कमरेडहरूको क्षमता अभिवृद्धि तथा संसदीय फाँटमा पार्टीको प्रभावकारी भूमिका र जनअपेक्षालाई सम्बोधन गर्न विभागले गर्ने कामका बारेमा यहाँहरूको सुझाव तथा सल्लाहका लागि हार्दिक अनुरोध गर्दछु ।’ यसअघि भट्टराई मधेश प्रदेशका इञ्चार्ज हुनुहुन्थ्यो ।
१७ जना केन्द्रीय सदस्यमा मनोनीत
सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । बैठकले पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलासहित विभिन्न जिल्लाका १७ जनालाई मनोनीत गरेको हो । महासचिव पोखरेलका अनुसार पार्टी प्रवेश गर्नुभएका सिन्धुपाल्चोकका सुवास कर्माचार्य, रौतहटका कुन्दन कुशवाहा, सप्तरीका जितेन्दनारायण देव र सिरहाका रामप्रित रहनुभएको छ । यस्तै, कृष्णभक्त पोखरेल (चितवन), कमल तिमिल्सिना (अछाम), महेश बर्तौला (मकवानपुर), गोविन्द पुन (सल्यान), केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), भरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा) केन्द्रीय सदस्य मनोनीत गरिएको छ ।
त्यसैगरी, सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की),मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) पनि केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । त्यसैगरी, एमालेले निर्वाचन आयोगमा अमनसिंह तामाङ (सिन्धुपाल्चोक), झवी पोखरेल (कपिलवस्तु),नर्मदा भण्डारी (गुल्मी), रत्ना गुरुङ (काठमाडौं), कमला केसी (कैलाली) लाई सदस्यमा मनोनीत गरेको छ ।यसैगरी, मायानाथ अधिकारी अनुशासन आयोगको सदस्यमा मनोनीत हुनुभएको छ ।
एमालेले सल्लाहकार परिषद् सदस्यमा पनि नेताहरूलाई मनोनयन गरेको छ । जसमा कुलानन्द गिरी (रोल्पा), महेन्द्र थापा (रोल्पा), पिएल श्रेष्ठ (तनहुँ), शिवचन्द्र कुशहवा (बारा), रामप्रित पासवान (सप्तरी), एकवाल मियाँ (कपिलवस्तु), डा.गोपाल खनाल (नवलपुर), खालित हुसेन हक (सुनसरी) रहनुभएको छ । यस्तै, परिषद्मा हरि रिजाल (प्युठान), प्रेमबहादुर सिंह (कालिकोट), कृष्णप्रसाद दाहाल (मकवानपुर), बिनु ढकाल (मोरङ), सानु श्रेष्ठ (बागमती) सिर्जना शर्मा (गण्डकी), प्रदीप भण्डारी (कोसी), अर्जुनबहादुर थापा (सुदूरपश्चिम), श्याम ढकाल (बर्दिया), नारायण मरासिनी (स्याङ्जा), धनेन्द्र घिमिरे (पाल्पा), नन्दलाल रोकाया (बाँके), जनक पौडेल (बागलुङ), मेघनाथ सुवेदी (पर्वत), नारायण मलासी (डोटी), सुवासचन्द्र ठकुरी (मकवानपुर) पनि मनोनीत गरिएको छ ।
यस्तै, शान्तकुमार ओली (रोल्पा), विना ज्ञवाली (बर्दिया), हरि पोखरेल (खोटाङ), कवीन्द्र शेखर रिमाल (काठमाडौं), सर्वध्वज सावा लिम्बू (सुनसरी), गणेशसिंह धामी (दार्चुला), नन्दकेशर ढकाल (रुपन्देही), लक्ष्मीप्रसाद जोशी (डडेल्धुरा), रामहरि सुवेदी (काभ्रे), सरस्वती पाटी (भक्तपुर) लगायतलाई परिषद् सदस्यमा मनोनीत गरिएको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।
सरकारी निवासमा पार्टीको बैठक नराख्ने प्रधानमन्त्रीको घोषणा
नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने घोषणा गर्नुभएको छ । यस अघिको कार्यकालमा पार्टीका बैठक बालुवाटारमै केन्द्रित गरेकाले उहाँको चौतर्फी आलोचना भएको थियो । तत्कालीन नेकपा कालमा पार्टीको सचिवालय, स्थायी कमिटी मात्र नभएर केन्द्रीय कमिटीको बैठक पनि बालुवाटारमै राखिएको थियो ।
यसपटक सामाजिक सञ्जालमार्फत आएको सुझावलाई ध्यानमा राखेर स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । बिहीबारको सचिवालय बैठक सिंहदरबार अगाडिको होटल बसेरामा बसेको थियो । ललितपुरस्थित च्यासलमा रहेको पार्टी मुख्यालयमा बाढी पसेपछि बिहीबार सचिवालय बैठक होटलमा राखिएको एमालेले जनाएको छ ।
महेश बर्तौलाको लगातार बढुवा
नेकपा एमालेले युवा नेता महेश बर्तौलालाई केन्द्रीय सदस्य बनाएको छ । बिहीबार बसेको सचिवालय सदस्य बैठकले १७ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गर्दा बर्तौलालाई पनि केन्द्रीय सदस्य बनाएको हो । पहिलोपटक संसदीय निर्वाचन जितेलगत्तै बर्तौलालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको सचेतक बनाउनुभएको थियो ।
बर्तौलालाई संसदीय जिम्मेवारी दिँदा एमालेले सचेतक हुँदै प्रमुख सचेतक बनाएको हो । हाल बर्तौला सत्तारूढ दलको तर्फबाट मुख्य सचेतकसमेत रहनुभएको छ । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचित बर्तौलाले नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता विरोध खतिवडालाई पराजित गर्नुभएको थियो ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements