पाल्पा । आमाहरुकै कारण धेरै शिशुहरु पूर्ण स्तनपान गर्नबाट बञ्चित हुने गरेका छन् । सुत्केरी आमाहरुको काममा व्यस्तता, केहीले सौन्दर्य बिग्रन्छ भन्ने गलत धारणा, स्तनपानबारे पूर्ण जानकारीको अभाव, आमामा पौष्टिकताको कमी, बर्षौटे सन्तान जन्माउने प्रचलनलगायतका कारण अधिकांश शिशुहरु पूर्ण स्तनपानबाट बञ्चित हुने गरेका हुन् ।
स्तनपान गराएमा शरीरको बनोट बिग्रिन्छ भन्ने भ्रमले कतिपय आमाले बच्चालाई स्तनपान गराउँदैनन् । विशेषतः पछिल्लो पुस्ताका पहिलो सन्तान जन्माउने आमाहरु शरीर बिग्रने डरले पूर्ण स्तनपान गराउने मामिलामा उदासीन देखिन्छन् । अझ शिक्षित र सहरिया आमाहरूले नै आफ्ना सन्तानलाई पूर्ण स्तनपान नगराएको पाइन्छ । पूर्ण स्तनपान अर्थात् ६ महिना पूरा नभएसम्म आमाको दूध मात्र चुसाउनु र बच्चा ६ महिना पूरा भएपछि कम्तीमा दुई वर्षसम्म आमाको दूध खुवाइराख्नुपर्ने भए पनि अधिकांश आमाहरु शरीरको सौन्दर्य बिग्रिन्छ भन्ने भ्रमले पूर्णरुपमा खुवाउन चाहदैनन् ।
तानसेनमा कोठा भाडामा बस्दै आउनुभएकाे गुल्मीकी इन्दु थापा (नाम परिवर्तन) ले एक वर्ष अघि पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिनुभएको थियो । छोरी जन्मिएको दुई/तीन महिना त नियमित दूध खुवाउनुभयो तर तीन महिनापछि भने उहाँले शरीर बिग्रने डरले नियमित दूध चुसाउन छोड्नुभयो । थापाले दूध ठेक्का लगाएर छोरीलाई खुवाउनुभयो । ‘लामो समयसम्म बच्चालाई दूध चुसाउँदा शरीर बिग्रन्छ भन्छन्, त्यसैले मैले त दुई महिनासम्म त म आफै खुवाएँ, पछि भैसीको दूध खुवाएकी हुँ’ उहाँले भन्नुभयो । थापा त केही प्रतिनिधि पात्रा मात्रै हुनुहुन्छ । उहाँ जस्तै पछिल्लो पुस्तका आमाहरु शरीर बिग्रने डरले पूर्ण स्तनपान नै गराउँदैनन् ।
शरीरलाई फिट्नेस र सौन्दर्य राख्ने सौखिन महिलाहरुले आफ्ना बच्चाहरुलाई पूर्ण स्तनपान गराउने मामिलामा कमजोर देखिन्छन् । तर चिकित्सकहरु भने बच्चालाई दूध चुसाउँदैमा शरीर नबिग्रने बताउँछन् । बच्चालाई स्तनपान गराउँदा न आमाको शरीर बिग्रिन्छ न स्वास्थ्य, बरु नियमित स्तनपान गराउने आमा सुन्दर र स्वस्थ हुने तानसेनस्थित युनाइटेड मिसन अस्पतालका बालरोग विशेषज्ञ तथा बाल रोग विभाग प्रमुख डा. विकासराज अधिकारीको भनाई छ । ‘कतिलाई स्तनपानले शरीरको सौन्दर्य बिग्रिन्छ भन्ने भ्रम छ । यो भ्रम मात्र हो । स्तनपान गराउने नगराउनेभन्दा बढी सुन्दर हुन्छन्’ डा. अधिकारी भन्नुहुन्छ । ‘बच्चालाई नियमित स्तनपान गराउनेको स्तन चाँडै नै पहिलैकै जस्तोे सामान्य आकारमा फर्किन्छ, जुन कुरा धेरैलार्ई थाहा छैन,।’ नियमित स्तनपान गराइएका बच्चा पूर्णरुपमा स्वस्थ हुने डा. अधिकारीले बताउनुभयो । नियमित स्तनपान गराउने आमाहरुमा स्तन क्यान्सर, ओभरी क्यान्सर, हाइ ब्लड प्रेसर जस्ता रोगहरुको जोखिम नहुने समेत उहाँको भनाई छ ।
अर्कोतर्फ कामकाजी आमाहरुले समेत पूर्ण दूध चुसाउन पाउँदैनन् । काम व्यस्तताका कारण पूर्ण समय बच्चालाई दूध खुवाउन नसकिएको आमाहरु बताउँछन् । तानसेनकी मञ्जु कार्की सरकारी जागिरे हुनुहुन्छ । उहाँले कार्य व्यस्तताका कारण आफ्नो छोरालाई ५ महिना पनि पूरै दूध खुवाउनुु भएनन् । कार्यालय जानुपर्ने भएकाले उहाँले छोरा जन्मिएको ४ महिनापछि बहिनीको साथमा छोडेर हिड्नुप¥यो । ‘कार्यालयबाट घर आउने समयको टुंगो नहुँदा छोरालाई पुरा समय आफ्नो दूध खुवाउन पाइन्, लामो समयपछि आफै सुक्दै गयो । चाहेजति दूध खान नपाएपछि छोराले आफै खान छोड्यो । ल्याक्टोजिन, डेरीको दूध, सेरलेक्स खाएरै छोरो हुर्कियो,’ उहाँले भन्नुभयो ।
आमाको दूध पर्याप्त खान नपाएकाले होला छोरोलाई सानै बिमारले पनि समाइ हाल्ने कार्कीले बताउनुुभयो । उहाँ मात्रै हैन कामकाजी महिलाहरू आफ्ना नवजात शिशुलाई कामको व्यस्तताले स्तनपान गराउदैनन् । दिउँसो कार्यालयको काममा जाने आमाहरुका लागि बच्चालाई स्तनपान गराउन कठिनाइ हुने गरेको छ । महिला कर्मचारीले दुई महिना सुत्केरी विदा पाउने गरेका छन् तर, बच्चालाई ६ महिनाभन्दा बढी आमाको दूध नियमित चुसाउनुपर्ने डाक्टरहरुको सल्लाह छ । यस्तो अवस्थामा कार्यालयहरुमा ‘डे केयर सेन्टर’ स्थापना गर्न, धाई आमाको व्यवस्था गर्न र बेलाबखत महिला कर्मचारीले त्यहाँ गएर दूध चुसाउँदै कार्यालयको काम गर्न पाउने सुविधा उपलब्ध गराइनुपर्ने आवाज समेत उठ्ने गरेको छ ।
कानुनतः आमाको पूर्ण स्तनपान अर्थात् आमाको दूध खान पाउनु बालबालिकाको पहिलो अधिकार हो । महिला अधिकार पनि हो ।
चिकित्सकहरूका अनुसार आमाको दूध बच्चाका लागि अमृत समान हो, आमाको स्वास्थ्यका लागि पनि अचुक औषधि हो । जन्मेको ६ महिनासम्म आमाको दूधमात्र खुवाउनुपर्छ । कम्तीमा २ वर्षसम्म अन्य झोल र पोसिलो खानेकुरासहित दूध खुवाउनुपर्छ । आमाको दूधमा शिशुको उमेरअनुसार चाहिने पोषक तत्व हुन्छ । यसले शिशुलाई रोग र संक्रमणबाट बचाउँछ । नवजात शिशुले रोग प्रतिरोधात्मक शक्ति आमाको दूधबाट नै प्राप्त गर्छ । कुपोषण हुँदैन। आमा र शिशुबीचको भावनात्मक सम्बन्ध पनि बलियो बनाउँछ । आमाको दूध खान नपाएका तथा पूर्ण रूपमा स्तनपान नगरेका शिशुको प्रतिरोधात्मक शक्ति कम हुन्छ । उनीहरूमा विभिन्न सरुवा रोगको संक्रमण छिटो हुन्छ ।श्वासप्रश्वासको समस्या बढी हुन्छ । कम तौलको, कम उचाइको, ख्याउटे, रक्तअल्पतालगायतमा समस्या पनि हुन सक्छन् ।
स्तनपान गराउने उद्देश्यले हरेक वर्ष अगस्ट पहिलो हप्ता स्तनपान सप्ताह मनाउने गरिन्छ । यस वर्ष पनि बिहीबारदेखि स्तनपान सप्ताह सुरु भएको छ, तर शिक्षित आमाहरु नै स्तनपान गराउने विषयमा त्यत्ति जागरुक छैन् । बच्चा जन्मेदेखि ६ महिनासम्म पूर्ण स्तनपान गराउनुपर्ने विज्ञहरू बताउँछन् । जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या बढ्दो भएता पनि ६ महिनासम्म स्तनपान गराउने आमाको संख्या घट्दै गएको तथ्यांकले देखाएको छ । ६ महिना अवधिसम्म सुत्केरी आमामध्ये ५६ प्रतिशतले मात्रै पूर्ण स्तनपान गराउँछन् भने ४४ प्रतिशत कृत्रिम दूध वा गाईभैंसीको दूध खुवाउँछन् ।
त्यस्तै, शिशु जन्मिएको एक घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत छ । आमाहरूले कामकाज गर्न घरमा बच्चा छोडेर जानुपर्ने बाध्यता छ । सरकारले हरेक वर्ष जनचेतनामूलक कार्यक्रम आयोजना गर्छ, तर पर्याप्त जानकारी पाएका सचेत आमाहरू नै नवजात शिशुलाई स्तनपान गराउँदैनन् । अर्काको देखासिखी, विभिन्न भ्रामक विज्ञापनको प्रभाव र आफ्नै अहंले गर्दा पनि जानी–जानी शिक्षित मानिएका आमाहरू नै सन्तानको स्वास्थ्यमा ध्यान दिँदैनन् । जसले गर्दा बालबालिका स्तनपान गर्न पाउने अधिकारबाट बञ्चित भएका छन् ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा