धनगढी उपमहानगरपालिकामा अस्पताल स्थापना गर्ने अनुमति लिएर त्यसमा धर्म प्रचारका लागि चर्च सञ्चालन गर्दै आएको पाइएको छ । जनतामाथि धर्मका नाममा प्रकट गरेको हेपाहा प्रवृत्तिको पराकाष्टा हो यो । नेपालको वर्तमान संविधान हरेक विषयमा धेरै नै लचिलो गरी निर्माण गरिएको छ । यसले धार्मिक स्वतन्त्रताको व्यवस्था पनि गरेको छ । यस्ता संविधान प्रदत्त अधिकारलाई नागरिकहरूका न्यूनतम् अधिकारकै रूपमा व्यवस्था गरिन्छ र मौलिक हकको भागमा समेट्ने गरिएको हुन्छ । सन्दर्भ हो धार्मिक स्वतन्त्रताको । हुन त कतिले धर्मलाई अफिम मान्ने गरेका छन् । अफिम भनेको जसरी नशा हो त्यसरी नै धर्म भनेको पनि नशा नै हो भन्ने तिनको तर्क रहेको छ ।
तर, अर्कोतिर हेर्ने हो भने नास्तिकहरूका यस्ता तर्कलाई त्यति महत्व दिएको पाइँदैन । विश्वका अधिकांश मानिसहरू कुनै न कुनै धर्म र सम्प्रदायबाट डोहोरिँदै आएका छन् । इस्लाम, हिन्दु, इसाई, बुद्ध, जैन, सिख, बोन विभिन्न धार्मिक मत हुन् र यिनका पनि विभिन्न सम्प्रदायहरू छन् । हिन्दु धर्म सबैभन्दा उदार र लचिलो धर्मका रूपमा परम्परादेखि सञ्चालन हुँदै आएको छ । सनातन धर्मका रूपमा चल्दै आएको यो धर्मअन्तर्गत हालका दिनमा विभिन्न मतहरू सिर्जना हुँदै आएका छन् । तैपनि यस धर्ममा धेरै नै स्वतन्त्रताहरू प्रदान गरिएको छ । यसमा विज्ञानसम्मत सिद्धान्तहरूसमेत पाइन्छन् । पछिल्लो समयमा विज्ञानले गरिरहेका नयाँ-नयाँ आविष्कारको सिद्धान्त हिन्दु धर्मशास्त्रले स्थापना गरेका सिद्धान्तहरू नै हुन् ।
यसको पालना गर्दिन भन्ने वा नास्तिकहरूलाई पनि यसले कुनै सजाय गर्दैन । लामो समयसम्मको संघर्ष र बलिदानीपछि २०७२ सालमा निर्माण गरिएको वर्तमान संविधानको मौलिक हकको भागमा धार्मिक स्वतन्त्रतालाई पनि अन्य मौलिक हक समान व्यवस्था गरिएको छ । यसमा धार्मिक स्वतन्त्रता भनेर सबैले परम्परादेखि मानिआएका धर्मको अभ्यास, अनुशरण र पालना गर्न पाउने स्वतन्त्रता प्रदान गरिएको छ तर यसको प्रतिबन्धात्मक वाक्यांशमा तर कसैले कसैको धर्म परिवर्तन गराउन पाउने छैन भनिएको छ । एक धर्मले अर्को धर्मावलम्बीहरूको धर्म परिवर्तन गर्ने प्रयास परम्परादेखि चलिआएका अन्य धर्महरूमा भएको पाइँदैन तर इसाई वा क्रिश्चियन धर्मावलम्बीहरूले भने संसारव्यापी रूपमा यस्तो अभियान चलाउँदै आएका छन् र नेपालमा पनि यसको बढ्दो प्रभाव छ ।
प्रजातन्त्रको आगमन पहिले नगन्य रूपमा पाइने क्रिश्चियनहरू नेपालमा हालको अवस्थामा चार प्रतिशत पुगिसकेका छन् । जताततै यसको लहर विस्तार भइरहेको छ । यसकै प्रभाव हो धनगढीमा अस्पताल सञ्चालनको अनुमति लिएर चर्च निर्माण गरेको सन्दर्भ । यस्ता अभियन्ताहरूले कतिसम्म गर्न सक्ने रहेछन् भन्ने यो एउटा दृष्टान्त हो । होली वाइनका अभियन्ताहरूदेखिका सन्दर्भहरू यसमा जोडिएर आउने गरेका छन् । यसमा त देशका ठूला-ठूला राजनेताहरूसमेत जोडिएर आएकै हुन् । ठूला अभियन्ताहरूले ठूला नेताहरूसँग सम्बन्ध स्थापना गर्ने र सानाहरूले जनस्तरबाट यस्ता अभियान चलाउने गरेका छन् । पचासको दशकमा फाट्टफुट्टमात्र देखिने चर्चहरू हाल टोलैपिच्छे सञ्चालन भइरहेका छन् र चर्चका अनुयायीहरूले अर्को धर्म मान्नेहरूलाई विभिन्न अपशब्द प्रयोग गरेर गाली गर्ने गरेका छन् ।
यसबाट उत्पन्न हुने गरेको दुष्परिणतिको प्रभावका झिल्काहरू केही महिना पहिले फाट्टफुट्ट रूपमा सतहमा आएका थिए । कुनै पनि अधिकारको अति उपयोग गर्न खोज्दा त्यसका नकारात्मक प्रभावहरू देखा पर्छन् नै तर संविधानले भनेको एउटा सन्दर्भ कसैले पनि बिर्सनु हुँदैन । संविधानले आफ्नो अधिकारको प्रयोग गर्न पाइन्छ तर आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारको हनन् हुनुहुँदैन भनेको छ । यसबाट के जानकारी हुन आउँछ भने आफ्नो अधिकारको त्यस हदसम्म प्रयोग गर्न पाइने भयो जुन हदसम्म प्रयोग गर्दा त्यसले अरूलाई अप्ठ्यारो पर्दैन । अरूको अधिकारको हनन् हुन थाल्यो भने आफूले त्यो अधिकार प्रयोग गर्नुपर्नेभन्दा बढी प्रयोग गरिएछ भन्ने बुझ्नु आवश्यक छ ।
मुस्लिम देशहरूमा राज्यले निर्माण गर्ने कानुनभन्दा धार्मिक परम्परा र प्रचलनलाई बढी महत्व दिइएको हुन्छ । यस्ता राष्ट्रहरूमा राष्ट्रले निर्माण गरेको कानुनी व्यवस्था जे जस्तो भए पनि धर्मगुरुहरूको आदेश प्रबल बन्दै आएको छ । कसैलाई धर्मको पालना नगरेको वा स्वधर्मको विरोध र अपमान गरेको कारणले राष्ट्रिय कानुनले आदेश जारी गर्नुभन्दा पहिले मुल्लाहले फताहा जारी गर्न सक्छन् । त्यस कारण ती देशहरूमा उनीहरूको स्वधर्मको संरक्षण हुनसकेको छ । हाम्रोमा सनातन धर्मको उदारताको दुरूपयोग भएका कारण यसमाथिको अतिक्रणमका यस्ता सन्दर्भहरू भइरहेका हुन् । यहाँभित्र रहेका सनातनीहरू र यिनका सम्प्रदायहरूबीच यस्तो विभेदको समस्या छैन ।
हिन्दु, बुद्ध, जैन, सिख, बोन, बोन्पोहरूबीच पनि यस्तो समस्या छैन । यिनले साझा तीर्थ र साझा देवताप्रति आस्था प्रकट गर्दै आएका छन् । धर्म रक्षति रक्षत भन्ने गरिएको छ । हामीले धर्मको रक्षा गर्यौं भनेमात्र धर्मले पनि हाम्रो रक्षा गर्ने हो । वर्तमान सन्दर्भमा हामी धर्मको रक्षाका लागि प्रतिबद्ध भएर लाग्न सकेका छैनौं । हाम्रो यही कमजोरीको फाइदा लिएर विधर्मीहरू सल्बलाइरहेका हुन् र विदेशीहरूले पनि अनेकौं छद्म रूपमा हाम्रो धर्ममाथि लाठो प्रहार गरिरहेका हुन् । धनगढी प्रकरण पनि यस्तै दृष्टान्त हो । यसप्रति एकातिर सरकार चनाखो हुनुपर्छ भने अर्कातिर जनस्तरबाट समेत सचेतताको आवश्यक छ । होइन भने यस्ता सन्दर्भहरू पटक–पटक दोहोरिइरहनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच