संसद्मा सांसदहरूका अभिव्यक्ति र उहाँहरूका क्रियाकलापहरू हेर्दा पछिल्ला वर्षमा घट्दै गएको यसको मर्यादा हालका दिनहरूमा समेत सोही अवस्थामा छ । उहाँहरू आपसमा आरोप-प्रत्यारोपमा संलग्न र सीमित रहनुभएको छ । यसले गर्दा आफ्नो मुख्य दायित्वबाट उहाँहरू विमुख बन्दै गइरहनु भएको छ । संसद्को गरिमा दिनप्रतिदिन घट्नुमा सांसदहरूकै व्यवहार मूलरूपमा जिम्मेवार रहने गर्छ । संसद्मा सार्वजनिक हितका लागि आवाज उठाउनुपर्ने हो तर त्यसो गरिँदैन बरू त्यहाँ आ-आफ्नो पार्टीको स्वार्थमा बोल्ने गरिन्छ, आफ्नो व्यक्तिगत हितका विषयमा आवाज उठाइन्छ । आफ्ना पार्टीका शीर्षदेखि कनिष्ठसम्मका नेताहरूको कमजोरी लुकाउने-छिपाउने प्रयत्न गरिन्छ । यस्ता क्रियाकलाप सबै पार्टीका नेताहरूबाट हुने गरेका छन् ।
आफू र आफ्नो पार्टीका नेता जति नै आलोच्य र उसबाट भएका क्रियाकलाप जति नै गलत भए पनि वाचाल वाकशक्ति भएका सांसदहरूले कुर्लीकुर्ली उसको बचाउन गरिरहेका हुन्छन् । संसदीय प्रणालीमा विश्वास नगर्ने राजनीतिक विचारका केही अन्तर्राष्ट्रिय नेताहरूले त पहिले नै संसद्लाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो भनेका थिए तर वर्तमान युग संसरभरि नै प्रजातन्त्रको लहर फैलाएर अगाडि बढिरहेको छ । जसयले गर्दा संसद्को आवश्यकता र महत्व बढिरहेको हो तर हाम्रो देशमा भने गरिमा नबुझेर सांसदहरूले दुरुपयोग गरिरहेका छन् । संसद्भित्र हुने गरेका क्रियकलापले नेपालमा संसद्, सांसद र संसदीय प्रणालीको अवमूल्यन भइरहेको छ ।
संसद् देशका समस्याहरूको बारेमा छलफल गर्ने थलो हो । यसका लागि देशभरिका नागरिकहरूले आ-आफ्ना प्रतिनिधिको छनोट गरेर त्यहाँ पठाउने गर्छन् । तिनले त्यहाँ रहेर राष्ट्रका लागि आवश्यक पर्ने ऐन कानुनको तर्जुमा गर्ने र बजेट अधिवेशनमा आफ्नो निर्वाचन क्षेत्रमा यस्ता यस्ता योजनाहरूको आवश्यकता परेको छ भनेर सरकारलाई जानकारी गराउनुपर्ने हो । ती योजनाहरूका लागि बजेट माग गर्ने, सरकारले ती योजनाहरूलाई प्राथमिकतामा नराखेको भए त्यसको विरोध गर्दै जोडदार रूपमा आवाज उठाउने, सरकारले गरेको बजेट विनियोजन अपुग भए त्यसका लागि आवाज बुलन्द गर्ने हो भने त्यसबेला त्यस्ता सांसदहरूले जनताको सहानुभूति नपाउने कुरै हुँदैन ।
यसको सट्टामा संसद् एकअर्कामा आरोप प्रत्यारोप गर्ने छेड्छाड् र घोचपेचमा केन्द्रित रहने गर्ने हो भने संसद्, सांसद र संसदीय प्रणालीको समेत गरिमा जोगिन सक्दैन । अहिलेको अवस्था पनि यस्तै छ । जनता उहाँहरूका भोट बैंक हुन् केबल चुनावका बेलामा तिनलाई केही दिनसँगै हिँडाउने, मीठा भाषणले मख्ख बनाउने र केही दिनको खानपान गराएर भोट लिनमात्र उपयोग हुने प्राणी हुन् भन्ने शैलीमा निर्वाचन जितेर संसद्भित्र छिरेपछि आफ्ना निर्वाचन क्षेत्रका जनतालाई बिर्सिएर संसद्मा लगाइँ गर्ने कार्यलाई उहाँहरूले आफ्नो दैनिकी बनाउँदै आउनुभएको छ । संसद् गरिमामय र सम्मानित बन्न सकिरहेको छैन ।
हाल बर्खे अधिवेशन चलिरहेको छ । यस अधिवेशनमा पनि यही नियति दोहोरिइरहेको छ । कुनै पार्टीको कुनै सांसदका विरुद्धमा केही अभियोग लागेको छ भने पक्ष-विपक्षमा विभाजित भएर त्यस्ता व्यक्तिको गलत कार्यलाई एकपक्षले जोडदार रूपमा विरोध गर्ने कारबाही गर्नुपर्ने भन्दै निलम्बनको माग गर्ने गर्छन् । अर्को पक्षले त्यस्ता व्यक्तिबाट जति ठूलो कानुनविपरीतको काम गरेको छ भने पनि बचाउका लागि जोडदार आवाज बुलन्द बनाइरहेको हुन्छन् । यस्ता कार्यले गर्दा जनताका लागि नगरी नहुने काम ओझेल परिरहेका हुन्छन् । वर्तमान समय यसको अपवाद छैन, यसैगरी माननीय सांसदहरू यस्तै आरोप-प्रत्यारोपका क्रियाकलापमा संलग्न हुँदै आइरहनुभएको छ ।
यसो भन्दैमा सबै सांसदहरूलाई ‘खसी बाख्री एकै धोक्री’ गरेर मूल्यांकन गर्नु पनि उचित हुँदैन । कतिपय सांसदहरूले राष्ट्रिय, क्षेत्रीय तथा स्थानीय हितका लागि आवाज उठाउँदै आइरहनु भएको छ । उहाँहरूका आवाजमा निजी स्वार्थको भावना प्रतिबिम्बित हुँदैन । स्वार्थ छ भने पार्टीको व्यक्तिको र आफ्नो निजी स्वार्थको सट्टा केबल सर्वजन हितायका लागि बोल्ने गर्नुभएको छ । तर, त्यस्ता थोरै सांसदहरूको आवाजले महत्व पाइरहेको हुँदैन । कसैले राष्ट्र र राष्ट्रियताको विरुद्धमै बोलेको आवस्था छ र त्यस्ता भनाइहरूको विरोध गरिएको पनि छ । त्यो भने औचित्यपूर्ण विचार हो । नत्र सधैं भ्रष्टाचारका फाइल खोल्ने र बन्द गर्ने जस्ता विषयमात्र त्यहाँ चर्चामा आउँछन् ।
यसले गर्दा नेपालमा कति भ्रष्टाचार हुने रहेछ छर्लंग हुन आउँछ । एकले अर्कोलाई दोषी देखाउने, अर्कोले म दोषी भएको प्रमाण देखा भन्ने चुनौतीहरूको पहाड थुपार्ने थलोमात्र संसद्लाई बनाउँदै लाने हो भने यसको गरिमा कहिले उच्च बन्न जाला सोच्नुपर्ने हुन्छ । संसद् कानुन बनाउने स्थान हो । सांसदहरूको मुख्य जिम्मेवारी त्यही हो तर धेरै विधेयक अनेकौं वादविवादले वर्षैंदेखि पारित हुन नसकेर थन्किरहेका छन् । कुनै–कुनैलाई त छलफलमै ल्याइँदैन, छलफलमा ल्याइएकालाई पनि पारित गर्न तदारुकता देखाइँदै देखाइँदैन । सांसदहरू आफ्नो मूल जिम्मेवारीलाई छोडेर अन्य विषय र विवादतर्फ केन्द्रित हुनुलाई औचित्यपूर्ण मान्न सकिँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच