काठमाडौं । सेयर बजार मंगलबार तीव्र उतारचढावबीच ३५.५५ अंकले बढेर बजार २६९६.६५ अंकमा बन्द भएको छ । होटल तथा पर्यटनमूलक र फाइनान्स समूहगत सूचकमा अधिक आकर्षण देखिएकोमा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार पाँच सय ४३ रुपैयाँ बराबरको कारोबार भएको छ । तीन सय २९ कम्पनीका चार करोड तीन लाख ७१ हजार सात सय ७८ कित्ता सेयर दुई लाख छ हजार छ सय ४३ पटक कारोबार भएको हो । कारोबार रकम अघिल्लो दिनको तुलनामा दुई अर्ब ३४ करोड २८ लाख रुपैयाँले घटेको छ । कारोबारमा आएका १३ समूहगत सूचकमध्ये होटल तथा पर्यटनमूलक सर्वाधिक ५.९९ प्रतिशत बढेको छ भने फाइनान्स ५.९८ प्रतिशत बढेको छ । त्यस्तै अन्य ३.५२, जलविद्युत् ३.१२, लगानी ३.१५ र विकास बैंकको इण्डेक्स २.४० प्रतिशतले बढेको छ ।
तर, बैंकिङ ०.७६, म्युचुअल फण्ड ०.१४, निर्जीवन बिमा ०.३६ र व्यापार ०.५७ प्रतिशतले घटेको छ । हिमालयन रि इन्स्योरेन्सको ६० करोड १० लाख आठ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने शिवम् सिमेन्ट ३७ करोड ६७ लाख, सोल्टी होटल ३६ करोड ४३ लाख, नेपाल फाइनान्स ३५ करोड ३८ लाख रुपैयाँ र चिलिमे हाइड्रोपावर २७ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै सिइडिबी हाइड्रोपावर २७ करोड ६४ लाख, शाइन रेसुंगा डेभलपमेन्ट बैंक २५ करोड ९७ लाख, कुमारी बैंक २५ करोड ३९ लाख, नेपाल रि इन्स्योरेन्स कम्पनी २४ करोड ३३ लाख रुपैयाँ र ङादी ग्रुप पावरको २४ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यस दिन आठ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । प्रोग्रेसिभ फाइनान्स, वरुण हाइड्रोपावर, साञ्जेन जलविद्युत् कम्पनी, नेपाल वेयर हाउजिङ कम्पनी, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल फाइनान्स, मध्य भोटेकोशी जलविद्युत् कम्पनी, हाथवे इन्भेष्टमेन्ट कम्पनी नेपाल र मुक्तिनाथ कृषि कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सगरमाथा जलविद्युत् कम्पनीको ९.४५ प्रतिशत, १०.७५ प्रतिशत एनएमबी डिबेञ्चर २०८९/९० को ९.३६ प्रतिशत र समृद्धि फाइनान्सको ९.२५ प्रतिशतले मूल्य बढेको छ । ग्रिन लाइफ हाइड्रोपावर, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, रसुवागढी हाइड्रोपावर, ओरियन्टल होटल र सिनर्जी पावर डेभलपमेन्टको आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।
एसियन हाइड्रोपावरको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ । कम्पनीको मूल्य १० प्रतिशतले घटेर सात सय ९२ रुपैयाँमा झरेपछि नकारात्मक सर्किट लागेको हो । गणपति लघुवित्तको ६.११, ग्लोबल आइएमई ब्यालेस्ड फण्ड-१ को ४.७२ प्रतिशत, ८.५० प्रतिशत प्रभु बैंक डिबेञ्चर २०८७ को ३.९० प्रतिशत र युनिलिभर नेपालको ३.६५ प्रतिशतले घटेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता