म्याग्दी । आज साउन १५ अर्थात् राष्ट्रिय खिर दिवस । शारीरिक तथा मानसिक वृद्धिका लागि अत्यन्त आवश्यक पर्ने फस्फोरस, क्लोरिन, क्याल्सियम, पोटासियम, सेडियम, म्याग्नेसियमलगाएतका खनिज पदार्थले युक्त दूधबाट बनाइएको खिर खाएर यो दिवस मनाइदै छ ।
गाउँघरमा गाई भैंसी पाल्ने चलन कमहुँदै गएपछि पोषिलो खिरको अर्ग्यानिक स्वाद पनि हराउँदै गएको छ । पहिला पहिला प्रत्येक घरमा गाई भैंसी पालेर दूध, दही, मही, नौनी खाने चलन अहिले हराउँदै गएपछि वर्षको एक दिन परम्परा धान्ने र अरुलाई देखाउनकै लागि भए पनि खिर खाने चलन विकसित हुँदै गएको गाउँका बूढापाकाहरु बताउँछन् ।
हिजोआज गाउँघरमा पनि कंक्रिटका घर ठडिँदै छन् । गाई भैंसीका लागि बनाइने गोठहरु देखिन छोडेका छन् । भएका गोठहरु पनि गाई भैंसी होइन मोटर साइकल र अन्य सवारी साधनहरुका विश्रामस्थल बनेका छन् ।
गाउँका भान्छामा समेत बजारका डेरीबाट ल्याइएको दूधले खिर पाक्न थालेपछि खिरको मौलिक स्वाद विस्थापित हुँदै गएको बेनी नगरपालिका २ का पदमपाणी शर्माले बताउनुभयो ।“गाउँमा गाई भैंसी पाल्न छोडिसके,बजारबाट दूध ल्याएर प्रेसर कुकरमा सिठी लगाइ बनाइएको खिरमा पहिलाको जस्तो स्वाद कहाँ पाउँनू” ६८ वर्षिय शर्माले भन्नुभयो “दूध,दही र मोहीको ठाउँ कोक, डिउ र फ्यान्टाले लिए हिजो आजका केटाकेटीहरुलाई खिर कस्तो हुन्छ र के बाट बन्छ भन्ने कुरा पनि थाहा नै छैन ।”
गाई भैंसीको दूधमा रोग प्रतिरोधात्मक क्षमता प्रशस्त हुनेहुँदा दूधका परिकार (खिर) बनाइ सेवन गरेमा शरीरलाई अमृततत्व प्राप्त हुने आर्युवेदमा उल्लेख छ । त्यस्तै वर्षा ऋतु,झरी बादलको समय र साउनको मध्यमा खिर खानाले शरीर स्वास्थ हुने भएकाले यस वर्षदेखि साउन १५ लाई खिर दिवसको रुपमा मनाउन थालिएको बताइन्छ ।
साउन १५ का दिन बेनी बजारका डेरी पसलहरुमा साविकको भन्दा पाँच गुणा बढी दूध खपत हुने गरेको छ । बेनीको कडेंल डेरीकी संचालिका राधिका कडेंलका अनुसार साउन १५ मा खिर खानका लागि अघिल्लो दिन नै साविकको भन्दा ६४ लिटर बढी दूधको माग भएको छ । तर,सबैको माग पूरा गर्न नसकिने अवस्था रहेको उहाँले बताउनुभयो ।
चौधौं शताब्दीदेखि छिमेकी मुलुक चीनबाट शुरु भएको खिर खाने प्रचलन हाल विश्वका प्रायजसो मुलुकहरुमा फैलिइसकेको छ । विशेषगरी सार्क क्षेत्र, पश्चिम एसिया, उत्तरी अफ्रिका र मध्यपूर्वका देशहरुमा खिर खाने चलन बढीरहेको पाइएको छ ।
सरकारी तथ्याङ्क अनुसार देश दूधको आत्मनिर्भरतातिर उन्मुख भएको देखिएको छ । प्रतिव्यक्ति वार्षिक ९१ लिटर दूधको आवश्यक पर्ने र अहिले ७८ लिटर दुध प्राप्त गर्न सकिने अवस्था रहेकोले प्रतिव्यक्ति जम्मा वार्षिक १३ लिटर दूध मात्र अभाव भएको राष्ट्रिय दुग्ध विकास बोर्डको तथ्याङ्कमा उल्लेख छ ।
देशमा दुग्ध उत्पादनमा मात्रै ३० अर्ब बढीको लगानी भएको कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्क छ । कृषि क्षेत्रमा दूधको लगानी दोस्रो स्थानमा छ भने जीडीपीमा कृषिको योगदान झण्डै एक चौथाइ मात्र रहेको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच