काठमाडौं । सांसदहरूले नागरिकको मृत्युमा समेत राज्यले नै विभेद गरेको भन्दै रोष प्रकट गरेका छन् । हवाई दुर्घटना र सडक दुर्घटनामा भएको मानवीय क्षतिको सन्दर्भमा सांसदहरूले नागरिकको मृत्युपछि पनि वर्गीय विभेद गरेको भन्दै सरकारप्रति प्रश्न उठाएका हुन् । राज्यले सबै नागरिकप्रति समान व्यवहार गर्नुपर्ने सांसदहरूको माग छ । सांसदहरूले हवाई दुर्घटनामा १८ जना यात्रुको मृत्यु हुँदा आधा झण्डा झुकाएर शोक मनाएको तर ६२ जना यात्रुको मृत्यु हुँदा त्यहाँ सरकार नभेटिएको बताए ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद राजकिशोर यादवले नागरिकको मृत्युमा पनि राज्यले विभेद गरेको आरोप लगाउँदै भन्नुभयो, ‘१५ दिनको अन्तरमा दुई वटा दुर्घटना भए । दुवै घटनामा ठूलो जनधनको क्षति भएको छ, यी घटनाले सबैलाई शोकमा पारेको छ । तर, सरकारले जहाज दुर्घटनामा परेर मरेका र बस दुर्घटनामा मरेका नागरिकहरूप्रति विभेदपूर्ण व्यवहार ग¥यो । यस्तो किन भयो ?’ नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद गंगाराम चौधरीले बस दुर्घटनामा बेपत्ता नागरिकको शव खोज्न सरकारले तदारुकता नदेखाएको टिप्पणी गर्दै भन्नुभयो, ‘जहाज दुर्घटना भएको ४५ मिनेटमा सबैको उद्धार भइसकेको थियो ।
एकैछिनमा प्रधानमन्त्री, मन्त्रीहरूको लाइन पुग्यो । तर, बस दुर्घटना भएको २१ हजार ६ सय मिनेट बितिसक्यो । त्यहाँ न प्रधानमन्त्री पुगेको छ, न मन्त्री पुगेको छ । त्यहाँ अझै दर्जनौँ नागरिकको शव भेटिएको छैन । बस र जहाज चढ्ने नागरिकका बीचमा यस्तो विभेद किन गरिएको हो ? नागरिकको मृत्युपछि पनि यस्तो वर्गीय विभेद किन ?’ मरेका मान्छेहरूप्रति पनि राज्यले विभेद गरेको जिकिर गर्नुभएका जनमत पार्टीका सांसद अब्दुल खानले सरकारको विभेदकारी व्यवहारप्रति प्रश्न उठाउँदै भन्नुभयो, ‘लगभग १५ दिनको अन्तरालमा दुईवटा ठूलो हृदयविदारक घटनाहरू भए । २८ असारमा त्रिशूलीमा दुईवटा बस डुबेर ६२ जनाको ज्यान गयो । अर्को साउन ९ गते काठमाडौं विमानस्थलमा जहाज दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ । तर, यी दुईवटा घटनामा मृत्यु भएकाहरू प्रति सरकारको व्यवहार किन विभेदपूर्ण रहृयो । यसरी जहाज चढ्ने र बस चढ्ने नागरिकका बीचमा राज्यले किन भेदभाव गर्यो ?’
सत्तारूढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले दुर्घटनामा धेरै नागरिकले ज्यान गुमाउनुपरेको अवस्था दर्शाउँदै यस्तो अवस्था आउन नदिनका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनुभयो । सरकारले हवाई दुर्घटना हुँदा शोक व्यक्त गर्दै आधा राष्ट्रिय झण्डा झुकाएको तर त्रिशूलीमा बस दुर्घटना हुँदा त्यस्तो नगरेर किन विभेद गरेको भन्ने प्रश्न गर्दै बजागाईँले भन्नुभयो, ‘हामीले आधा झण्डा झुकायौँ हवाई सेवा दुर्घटनाको सन्दर्भमा । तर, ६२ जनाको ज्यान गएको बस दुर्घटनाको बारेमा विभेद भयो ? सम्माननीय सभामुखज्यूलाई म यो अनुरोध गर्न चाहन्छु कि यो विषयमा रुलिङ गरिदिनु पर्यो ।’ सत्तारूढ दल नेकपा एमाले संसदीय दलकी सचेतक सुनिता बरालले हवाई र सडक सवारी दुर्घटना हुन नदिनका लागि सरकारले विशेष ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै भन्नुभयो, ‘हवाई दुर्घटना र सडक दुर्घटनाबारे विशेष ध्यानाकर्षण हुन जरुरी छ । आज यात्रालाई मृत्युको गन्तव्य हो कि भन्ने परिकल्पना गरेर हिँड्नुपर्ने जुन अवस्था छ । यो असाध्यै दुःखद पक्ष छ ।’
प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न : ‘दुर्घटनाको नैतिक जिम्मेवारी किन लिइँदैन ?’
आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले हालै भएको जहाज दुर्घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसदसमेत रहनुभएका अध्यक्ष साहले भन्नुभयो, ‘निरन्तर जहाज दुर्घटना भइराख्ने तर यसको जिम्मा कसैले नलिने ? छानविन समिति बनाउने र साना कर्मचारीलाई दोषी देखाउने ? ती प्राधिकरण र युनिटकाहरू मात्रै जिम्मेवार हो कि त्यो युनिट र प्राधिकरणलाई अस्तव्यस्त बनाउने सरकार पनि जिम्मेवार हो । यसमा सरकार जवाफदेही हुन्छ कि हुँदैन ? म प्रधानमन्त्रीलाई सोध्न चाहन्छु, यसको नैतिक जिम्मेवारी सरकारले लिँदैन भने कल्ले लिने ?’
जहाज दुर्घटनाको छानविन समितिमाथि राप्रपाको प्रश्न
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको छानविन गर्न गठित समितिका सदस्यमाथि प्रश्न उठाउनुभएको छ । छानविन गर्नुपर्ने व्यक्तिकै भिनाजु नाता पर्ने व्यक्तिलाई छानविन समितिमा राखेको टिप्पणी गर्दै अध्यक्ष लिङ्देनले भन्नुभयो, ‘छानविन समितिको गठनमा नै प्रश्न उठेको छ । विमान पोखराका लागि उड्न उपयुक्त थियो कि थिएन भन्ने कुरा जाँच गर्ने र अनुमति दिने सुरक्षा प्रमुख जो अनुसन्धानको सबैभन्दा पहिलो दायरामा आउँछन् । उनका भिनाजुलाई अहिले यो छानविन आयोगको प्रमुख बनाइएको छ । भनेपछि कुन प्रकारको छानविन हुन्छ होला ? र एउटै मान्छेलाई यस प्रकारको छानविनको जिम्मेवारी पटक-पटक किन दिइँदै छ भन्ने कुरातर्फ पनि मन्त्रालयको ध्यान जान जरुरी छ ।’ विमान दुर्घटनाबारे छानविन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्व-महानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा पाँच सदस्यीय समिति बनेको छ । तर, पूर्वमहानिर्देशक सुमनको आफन्त पनि सो दुर्घटनामा जिम्मेवार रहेको कुरा बाहिर आएकोले सो आयोगले निष्पक्ष छानविन गर्छ भनेर विश्वास गर्न नसकिने लिङ्देनको भनाइ छ ।
छानविन समिति तटस्थ र स्वतन्त्र छ : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सौर्य एयरलाइन्स दुर्घटनाबारे छानविन गर्न बनेको समिति तटस्थ र स्वतन्त्र रहेकोमा ढुक्क हुन आग्रह गर्नुभएको छ । उहाँले छानविन समितिको तटस्थतामा सरकार विश्वस्त रहेको र समितिलाई काम गर्न कसैले पनि दबाब र प्रभावमा नराख्ने दाबी गर्नुभयो । आइतबार प्रतिनिधि सभामा सांसदहरूले दुर्घटनाबारे उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले भन्नुभयो, ‘हामी यतिखेर विभिन्न निकायसँग छलफलकै क्रममा छौँ । समिति बनेको छ । समितिले गर्ने काम, उसको आफ्नो काम छ । समितिले गर्ने काममा उसको स्वतन्त्रता, निष्पक्षता र उसको तटस्थतामा हामी कुनै पनि किसिमको हस्तक्षेप हुन दिने छैनौँ । आगामी दिनमा यो सम्पूर्ण विषयहरू जुन सदनमा उठेका छन् । तीमध्ये कतिपय विषयमा हामी अझै छलफलमै छौँ ।’

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा