काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा झण्डै १७ अर्ब अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षको साउनदेखि असारसम्म एक अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारततर्फ निर्यात गरी १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ आम्दानी गरेको हो । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत् व्यापार निगम लि–एनभिएनलाई बिक्री गरिरहेको छ । एनभिएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । निर्यात गरिएको विद्युत््को औसतदर प्रतियुनिट आठ रुपैयाँ ७२ पैसा छ ।
त्यसो त प्राधिकरणले गत आर्थिक वर्ष निर्यातकै हाराहारी अर्थात् १६ अर्ब ८१ करोड तीन लाखको विद्युत् आयात गरेको छ । सुक्खायाममा खोला तथा नदीहरूमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गत वर्ष भारतबाट एक अर्ब ८३ करोड ३५ लाख युनिट विद्युत् आयात गरिएको हो । हिउँदयाममा आयात गरिएको विद्युत््को औसतदर प्रतियुनिट नौ रुपैयाँ १७ पैसा छ । गत आर्थिक वर्ष आयातभन्दा १२ करोड २३ लाख रुपैयाँको बढी विद्युत् भारततर्फ निर्यात भएको छ । ऊर्जाका आधारमा आयातभन्दा १० करोड ९१ लाख लाख युनिट बढी विद्युत् निर्यात भएको हो । निर्यात गरिएको परिमाण आयातभन्दा बढी भएकाले भारतीय प्रतिस्पर्धी बजारमा प्रवेश पाएको तीन वर्षमा नै नेपाल विद्युत््को खुद निर्यातकर्ता बनेको छ ।
आर्थिक वर्ष २०७९/८० मा भारतबाट १९ अर्ब ४४ करोड ४० लाख रुपैयाँको विद्युत् आयात भएको थियो भने १० अर्ब ४५ करोड ५० लाख रुपैयाँको निर्यात भएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी केही वर्ष अझै हिउँदका केही महिना आन्तरिक माग व्यवस्थापन गर्न विद्युत् आयात गर्नुपरे तापनि अब निर्यात परिमाण बढ्दै जाने दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘छ/सात वर्षअघिसम्म विद्युत् आयातकर्ताको मात्र अवस्था थियो, तीन वर्षअघिबाट भारतीय प्रतिस्पर्धी बजारमा विद्युत् निर्यात सुरु गरे तापनि निर्यातभन्दा आयात बढी भई खुद आयातकर्ता बन्ने अवस्था थियो, अब गत आवबाट खुद आयातकर्ताबाट निर्यातकर्ता बन्ने अवस्था बनेको छ, थोरै परिमाणमा खुद निर्यातकर्ता भए तापनि यो महत्वपूर्ण उपलब्धि हो, ऊर्जा क्षेत्रका लागि एउटा कोशेढुंगा हो ।’
विद्युत् पर्याप्त उपलब्ध हुँदा देशभित्र विद्युतीय सवारी साधन र इन्डक्सन चुलोको प्रयोगले पेट्रोलियम आयातमा गिरावट आउँदा र विद्युत् निर्यात परिमाण बढ्दा दुई देशबीचको व्यापार घाटा कम गर्न योगदान पुगेको र विदेशी मुद्रा सञ्चितिमा पनि सकारात्मक प्रभाव परेको उहाँको भनाइ छ ।
नेपालले भारतको इनर्जी एक्सचेन्जको डेअहेड मार्केटमा सन् २०२१ मे १ मा प्रवेश पाएको थियो । सुरुमा विद्युत् आयात अनुमति पाएको नेपालले सन् २०२१ नोभेम्बर ३ मा निर्यातकर्ताका रूपमा पनि प्रवेश पाएको थियो । हाल नेपालले मिडियम टर्म, डेअहेड र रियल टाइम मार्केटमा दैनिक करिब सात सय मेगावाट विद्युत् भारतमा बिक्री गरिरहेको छ । प्राधिकरणले १६ वटा आयोजनाबाट उत्पादित छ सय ९० मेगावाट विद्युत् निर्यात अनुमति पाएको हो । कार्यकारी निर्देशक घिसिङले मध्यकालीन सम्झौताअनुसार थप चार सय मेगावाट विद्युत् निर्यात अनुमति पाउने चरणमा रहेको उल्लेख गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘हरियाणा र बिहार राज्यलाई बिक्री गर्ने गरी थप चार सय मेगावाट विद्युत् निर्यात गर्न भारतको सम्बन्धित निकायबाट अनुमति आउने चरणमा छ, बंगलादेशसँग पनि छिट्टै सम्झौता गरी यसै वर्षबाट ४० मेगावाट निर्यात गर्दैछौँ ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts