
काठमाडौं । लीलादेवी गड्तौला नेपाल सरकारको मुख्यसचिव नियुक्त हुनुभएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हाल कायममुकायम मुख्यसचिव रहनुभएकी गड्तौलालाई मुख्यसचिवमा नियुक्त गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा गड्तौलालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय भएको हो । उहाँ नेपालको पहिलो महिला मुख्यसचिव बन्नुभएको छ ।
५८ वर्षे उमेर हदका कारण गड्तौला आगामी १५ भदौमा अवकाश हुँदै हुनुहुन्छ । तर, त्यसभन्दा अघि करिब एक महिनाभन्दा बढी उहाँले मुख्यसचिवका रूपमा कार्यभार सम्हाल्नु हुनेछ । ३१ असारमा बसेको केपी ओली नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले हाल निमित्त मुख्यसचिव रहेकी गड्तौलालाई कायममुकायम मुख्यसचिव बनाउने निर्णय गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि निलम्बित मुख्यसचिव डा. वैकुण्ठ अर्याललाई गत १० असारमा राष्ट्रिय योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उक्त पदमा सरुवा गर्ने निर्णय भएको थियो । त्यसपछि प्रधानमन्त्री कार्यालयमा कानुन मामिला हेर्ने सचिव गड्तौलाले वरिष्ठताका आधारमा स्वतः निमित्त मुख्यसचिवको जिम्मेवारी पाउनुभएको थियो ।
सरकारले लामो अवधिका लागि आफू अनुकूलका मुख्यसचिव ल्याउने वातावरण नबन्दासम्म गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको हो । २०२३ साल भदौ १५ मा तेह्रथुममा जन्मिनुभएकी गड्तौलाको हालको ठेगाना सोलुखुम्बुको सल्यान हो । २०५२ सालमा न्याय सेवाअन्तर्गत कानुन समूहबाट शाखा अधिकृत बन्नुभएको थियो । शाखा अधिकृतमा पहिलो नम्बरमा उत्तीर्ण गड्तौला २०६३ मा उपसचिव, २०७० मा सहसचिव, २०७७ मा सचिव र २०८१ असार ३१ मा कामु मुख्यसचिव बन्नुभएको हो ।
योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षसहित सातैजना सदस्य नियुक्त गर्ने निर्णय गरेको छ । उपाध्यक्षमा त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख शिवराज अधिकारीलाई नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिनुभयो । अधिकारी यसअघि पनि योजना आयोग सदस्यमा मनोनीत हुनुभएको थियो । बैठकले आयोगका सदस्यहरू पनि नियुक्त गर्ने निर्णय गरेको छ । आरपी विच्छा, रमेश सिंह, प्रकाश श्रेष्ठ, गीताकुमारी पौडेल, जयबहादुर टण्डन र गंगादत्त अवस्थीलाई योजना आयोग सदस्यमा नियुक्त गर्ने निर्णय भएको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच