काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १६औँ वार्षिकोत्सव सम्पन्न गरेको छ । सहज पहुँच भएको बृहत् वित्तीय सेवा तथा सूचना प्रवाहमार्फत् समस्त नागरिकको जीवनमा सार्थक र शाश्वत समृद्धि ल्याउने उद्देश्यका साथ २०६५ साल साउन ९ गते स्थापना भएको बैंक साउन ९ गते १६औँ वर्ष पूरा गरी १७औँ वर्षमा प्रवेश गरेको हो । प्रधान कार्यालयको प्रांगणमा आयोजित वार्षिकोत्सव समारोहको सभापतित्व बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गर्नुभएको थियो । बैंकले वार्षिकोत्सवको अवसर पारेर परिमार्जित, परिष्कृत तथा प्रयोगकर्तामैत्री नयाँ आधिकारिक वेबसाइटको पनि औपचारिक शुभारम्भ गरेको छ । अध्यक्ष खड्काले डिजिटल प्रविधिमार्फत् वेबसाइट उद्घाटन गर्नुभएको हो ।
उक्त वेबसाइटसँगै बैंकले प्रदान गरिरहेका सेवा-सुविधाको जानकारीमा सहज पहुँच, अनलाइनबाटै कर्जा आवेदन दिने व्यवस्था, भिडियो बैंकिङमार्फत् अनलाइनबाटै खाता खोल्ने, क्युआर कोडलगायत विभिन्न बैंकिङ सेवाका लागि अनलाइन निवेदन दिन सकिने बैंकले जनाएको छ । वार्षिकोत्सवका अवसरमा बैंकले केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ, जसमा कर्मचारी, ग्राहक र अन्य सर्वसाधारण गरी ५० जनाले रक्तदान गरेका छन् ।
सो अवसरमा विगत १० वर्ष तथा १५ वर्षदेखि अनवरत रूपमा कार्यरत रही योगदान दिएका २७ जना कर्मचारीलाई सम्मानित गरिएको छ । अध्यक्ष खड्का तथा प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले संयुक्त रूपमा कर्मचारीलाई पदक तथा कदरपत्र प्रदान गर्नुभएको बैंकले जनाएको छ ।
खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको ज्योति विकास बैंकले नागरिकको सर्वोत्तम हितलाई उच्च प्राथमिकता राखिएको जनाएको छ ।







Breaking news with related posts